मलाई प्रलोभन दिएर फकाउन खोजेका छन्, तर निर्णय फिर्ता गर्दिनः अर्थमन्त्री – Nepal Press

मलाई प्रलोभन दिएर फकाउन खोजेका छन्, तर निर्णय फिर्ता गर्दिनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन र रोजगारीसँग जोडेर आफूले गरेका निर्णय फिर्ता गर्न प्रलोभन देखाइएको बताएका छन् । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै मन्त्री शर्माले व्यक्तिगत स्वार्थमा लागेर देशलाई घाटा हुने काम नगर्ने जिकिर गरे ।

अर्थमन्त्री शर्माले भने, ‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु । स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन ।’

आयातमा आधारित राजश्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजश्व बढाउनुपर्नेमा उनको जोड छ । करका दरसम्बन्धी थप सुधारका कामहरू कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने जानकारी दिए ।

यसअघि आफूले आन्तरिक राजश्व दोब्बर बनाउने गरी योजना माग गरेको विषयलाई कतिपयले खिसिट्यूरी गरेकोमा चित्त दुखाउँदै मन्त्री शर्माले भने ‘यो मैले जानी जानी भनेको हो, भाषण गर्नलाई भनेको हैन । मैले योजना माग गरेको हुँ, त्यो योजना अहिलेसम्म पनि आएन ।’

विभागमा योग्य कर्मचारीहरुको टिम रहेको उल्लेख गर्दै उनले राजनैतिक नेतृत्व परिवर्तनको क्रम कर्मचारीहरुको इच्छाभन्दा बाहिर रहेकोले जो नेतृत्वमा आएपनि आफ्नो जिम्मेवारी अनुसारको भूमिका निर्वाह गर्न निर्देशन दिए ।

कर प्रशासनलाई अझै सरल बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले तीन महिनाभित्र करदाताले अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले करदाताले भ्याट बिल जारी गर्नासाथ सिधै आन्तरिक राजश्व विभागको प्रणालीमा विवरण दाखिला हुनेगरी प्रविधिमा सुधार गर्न निर्देशन दिएका छन् ।

राजश्वसचिव कृष्णहरि पुस्करले परम्परागत कर प्रशासनलाई सुधार गरी ‘ट्याक्सोलोजिष्ट’ को आधुनिक सिद्धान्तमा आधारित कर प्रशासन बनाउनुपर्ने धारणा व्यक्त गरे ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सरकारको मार्गदर्शन, मन्त्री र सचिवको निर्देशनहरुको अक्षरसः पालना गर्नुका साथै निजी क्षेत्रका सुझावहरुलाई मध्यनजर गर्दै विभागलाई ‘सेन्टर अफ एक्सलेन्स’ को रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे

राजश्व संकलन लक्ष्यको ९५.३५ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब , ७ लाख ६९ हजार नयाँ प्यान जारी भइ करको दायरा विस्तार गरिएको, कर विवरण बुझाउनेको संख्या आयकरतर्फ ५७.८ प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ ७७.१८ प्रतिशत रहेको छ । आन्तरिक राजश्वमा १०० जना करदाताको ५० प्रतिशत योगदान रहेको र अघिल्लो आ.व.को तुलनामा राजश्व संकलन १२ प्रतिशतले बढेको आन्तरिक राजस्व विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर