संसदको छलफलमा सत्ता पक्ष नै निष्क्रिय, प्रतिपक्षको विरोधलाई सभामुखको बेवास्ता – Nepal Press

संसदको छलफलमा सत्ता पक्ष नै निष्क्रिय, प्रतिपक्षको विरोधलाई सभामुखको बेवास्ता

काठमाडौं । प्रमुख प्रतिपक्षीको विरोधका बाबजुद पनि चलिरहेको प्रतिनिधिसभाको बैठकको छलफलमा सत्तारुढ दलकै सांसद समेत निष्क्रिय देखिएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसदमा अवरोध गरिरहेकाले बैठकमा आएका प्रस्तावमाथिको छलफलमा भाग नलिनु स्वाभाविक भए पनि सत्ता पक्षकै सांसद निष्क्रिय रहँदा संसद प्रभावहीन बन्न पुगेको छ ।

मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलका लागि भाग लिन सभामुखले नाम टिपाउन तीन मिनेटको समय दिए । अर्थमन्त्रीले राखेको प्रस्तावमाथि छलफल गर्नेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमात्रै देखा परे ।

तीन मिनेट बोल्ने समय पाएका सुवालले पनि विषय केन्द्रित धारणा भने राखेनन् । उनले अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध आफ्ना धारणा राखे । बोल्ने मौका पाउने बित्तिकै सुवालले एमसीसीविरुद्ध आफ्ना धारणा राखिहाल्ने गरेका छन् । उनीबाहेक सत्तारुढ दलका कुनै पनि सांसदले सैद्धान्तिक छलफलको समय उपयोग गरेनन् ।

विषय केन्द्रित धारणा कसैको नआएकाले जवाफ दिन आएका अर्थमन्त्रीले पनि सुवाललाई धन्यावाद टक्रयाएमात्रै । बोल्ने कोही पनि नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि अघि बढाए ।

विपक्षीले आफ्नो नाराबाजी कायमै राखे, सत्ता पक्षले समर्थनमा हात उठाएपछि अर्थमन्त्रीको प्रस्ताव बहुमतले स्वीकृत भयो । त्यसपछि सभामुखले शोक प्रस्ताव अघि सारे । २०४८ सालमा राष्ट्रियसभामा मनोनीत सदस्य रुक्मशमशेर जबरा र २०६४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सदस्य भएका मानबहादुर महतोको निधनप्रति पेस गरेको शोकप्रस्ताव विपक्षी एमालेसमेतको सहयोगमा सर्वसम्मतले पारित भयो । त्यसपछि सभामुखले बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरे ।

मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलका लागि भाग लिन सभामुखले नाम टिपाउन तीन मिनेटको समय दिए । अर्थमन्त्रीले राखेको प्रस्तावमाथि छलफल गर्नेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमात्रै देखा परे ।

करिब १३ मिनेट चलेको बैठक अवधिभर पनि प्रमुख प्रतिपक्षी एमालेले विरोधमा नारावाजी गरिहेको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले त्यसको कुनै वास्तै नगरी बैठक चलाइरहे । सदन सुचारु हुँदा एकजना सदस्य पनि उठेर विरोध जनाए सभामुखले विरोधका कारणबारे बोल्ने मौका दिने वा सदन शुचारु हुन आग्रह गर्ने संसदीय प्रचलन हो । तर, आजको बैठकमा एमाले विरोधको सभामुखले बेवास्ता गरिरहे ।

यसअघि सदन सुचारु हुन दिन पटक-पटक आग्रह गर्ने गरेका र केही समय बैठक स्थगन गर्ने गरेका सापकोटाले आजको बैठक त्यस्तो केही गरेनन् । सदनमा जारी अवरोध हटाउन सभामुखले हिजो आयोजना गरेको सर्वदलीय बैठक एमालले बहिष्कार गरेको थियो । सभामुख त्यसबाट रुष्ट भएको सभा संचालनका क्रममा देख्न सकिन्थ्यो ।

एमाले र सभामुखबीचको इगोले सदन प्रभावकारीरूपमा संचालन हुन सकिरहेको छैन । एमालेले अमुक दलका सांसद गैरसांसद भन्दै नारावाजी गरेर बैठक अवरुद्ध पारिरहेको छ भने सभामुखले पनि संवादलाई खासै महत्व दिएका छैनन् । सभा संचालनमा समस्या आए कार्यव्यस्था परामर्श समितिको बैठक राखेर त्यहाँ छलफल गर्ने प्रचलन छ, जसलाई सभामुखले पछ्याएका छैनन् ।

सदनको सबैभन्दा ठूलो दल एमाले त्यसै अनुसार जिम्मेवार रुपमा प्रस्तुत हुँदै आफूले अगाडि सारिरहेका मागलाई अन्य विधिबाट अघि बढाउन अग्रसर हुनुपर्नेमा त्यसो भएको देखिएन । आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक-पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट छन् ।

सभामुख-एमाले सम्बन्ध पहिलेदेखि नै राम्रो छैन । लामो समयदेखिको उनीहरूको हट र इगोको शिकार जनताको सार्वभौम जनप्रतिनिधि संस्था निष्प्रभावी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर