ओली हाम्रो सहारा भन्दै १०२ वर्षकी आमा जब मञ्चमा चढिन्.. (भिडिओ) – Nepal Press

ओली हाम्रो सहारा भन्दै १०२ वर्षकी आमा जब मञ्चमा चढिन्.. (भिडिओ)

विर्तामोड । गायिका प्रिया भण्डारीले ‘सैं पनि एमाले,मै पनि एमाले’ गीत गाउँदै गर्दा दर्शकदिर्घाबाट नाचिरहेका दुईजना बयोवृद्धा एकाएक मञ्चतिर उक्लिए । उनीहरू सीधै एमाले अध्यक्ष केपी ओलीतिर लागे ।

सुरक्षाकर्मी र आयोजकले रोक्न खोज्दा ओलीले उठेर उनीहरुलाई आफूतिर बोलाए । तीमध्येकी एक थिइन् १०२ वर्षीया कौशिला सिलवाल । उनी सिधै गएर ओलीलाई अँगालो मार्न खोजिन् ।

यसक्रममा केहीबेर एमालेका नेता मनकुमार गौतमले ओलीलाई ती बा आमाको बारेमा खासखुस सुनाए । आमाको लौरो भुइँमा खसेछ, ओलीले टिपेर दिए । तर आमा रोकिइनन् ।

गौतमका अनुसार ‘हामी बुढापाकाको सहारा’ भन्दै ती आमाले ओलीलाई आशिर्वाद दिइन् । वृद्धभत्ता दिने र बढाउने एमाले नै हो भन्दै उनले ओलीलाई धन्यवाद दिएपछि सुरक्षाकर्मीले हटाउन खोजे ।

तर, ओलीले आफू बसेको सोफाबाट सरेर आमालाई बस्न ठाउँ दिए । आमालाई मास्क लगाइदिँदै थिए तर उनले ओलीको अनुहार हेर्छु भन्दै मास्क खोल्न लगाइन् । ओलीले मास्क खोलेर कुरा गरे ।

त्यसपछि उनले ओलीलाई आफूले ल्याएको खादा लगाएर फूलको गुच्छा दिइन् र भनिन्, ‘हाम्रो सहारा हौ, तिमी धेरै वर्ष बाँच । एमाले नै हामी बुढाबुढीको सहारा हो । आज केपी ओलीलाई भेट्न पाएँ, मेरो इच्छा पूरा भयो ।’

ओलीले सायद आमालाई विगतमा भएको भेटको पनि स्मरण गराए । १०२ वर्षकी आमालाई आफ्नो छेउमा राखे अनि कार्यक्रम अघि बढ्यो ।

एमाले नेता ईन्द्र भण्डारीका अनुसार झापा बनियानीकी १०२ वर्षीया सिलवाल पहिलेदेखि नै एमालेलाई माया गर्ने आमा हुन् । उनी केपी ओली आउने थाहा पाएपछि परिवारका सदस्यलाई आग्रह गरेर विर्तामोड पुगेकी थिइन् ।

तस्बिरहरू : राजन काफ्ले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर