ओडीआईमा कुशलको पहिलो अर्धशतक! – Nepal Press

ओडीआईमा कुशलको पहिलो अर्धशतक!

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट पहिलो प्रतिस्पर्धात्मक एकदिवशीय अन्तर्राष्ट्रिय खेलिरहेका कुशल भुर्तेलले ओडीआईमा पहिलो अर्धशतक बनाएका छन् ।

ओमानको मस्कटमा जारी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रियको पहिलो खेलमा अमेरिकाविरुद्ध कुशलले उत्कृष्ट ब्याटिङ गर्दै ५० रन पूरा गरेका हुन् ।

नेपालका लागि ओपनिङमा आएका कुशलले आशिफ शेखसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । १३.६ ओभरमा आशिफ आउट भएपछि कुशलले कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै ओडीआईमा करियरको पहिलो अर्धशतकतर्फ अघि बढेका थिए ।

नेपालका लागि ६७ बलको सामना गरेका कुशलले २ चौका र १ छक्का प्रहार गरेका छन् । यसअघि नेपालमा भएको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ब्याक-टू-ब्याक अर्धशतक बनाएर चर्चामा आएका कुशलले गत साता ओमान पुगेर ओडीआईमा डेब्यू गरेका थिए ।

पपुवा न्युगिनीविरुद्ध नेपालले खेलेका दुई अभ्यास खेलमा कुशलसहित तीन खेलाडी- विक्रम शोब र आशिफले डेब्यू गरेका थिए ।

अल अमेरत क्रिकेट मंदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले २१.३ ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ९४ रन बनाएको छ ।

नेपालका लागि आशिफले २३ तथा कप्तान ज्ञानेन्द्रले १७ रन जोडेर पेभेलियन फर्किएका छन् । अहिले क्रिजमा रोहित कुमार पौडेल र कुशल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *