पहिचान बदलेर भारतमा बसिरहेका कुख्यात अपराधि पक्राउ – Nepal Press

पहिचान बदलेर भारतमा बसिरहेका कुख्यात अपराधि पक्राउ

जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाको बिर्ताबजार र घण्टाघर नजिक दुई वर्षअगाडि भएको बम विष्फोटका प्रमुख योजनाकार फुलहसन अन्सारी उर्फ विवेक सिंह प्रमुख योजनाकार पक्राउ परेका छन् । कुख्यात अपराधिका रुपमा चिनिएका अन्सारीमाथि अरु व्यक्ति हत्यादेखि फिरौति असुलीसम्मका अरु पनि थुप्रै अभियोग छन् ।

वीरगञ्ज महानगरपालिका वडा २४ का ३३ वर्षीय अन्सारी आफ्नो वास्तविक पहिचान लुकाएर भारतको मुजफ्फरपुरमा अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएका थिए । वीरगञ्जको रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा उनलाई आज पक्राउ गरी कारबाही अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुई वर्षअघि अन्सारीकै योजनामा दुई स्थानमा बम विष्फोट गराइएका थियो । उनीसहितको एक समूहले बम पड्काएर त्रास फैलाई उद्योगी-व्यापारीसँग असुल्दै आएका थिए ।

प्रहरीका अनुसार उनी बेलाबखतमा भारतीय बजार रक्सौल आई बीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गर्थे । उनले केही दिनभित्रै वीरगञ्जमा घटना घटाउने योजना बनाएको प्रहरीको भनाई छ ।
वीरगञ्ज बमकाण्डमा संलग्नहरु वीरगञ्ज महानगरपालिका २४ का इनुस अन्सारी, सोही ठाउँका जौवाद अन्सारी र सद्दाम अन्सारी २०७६ भदौ ४ गते ४ थान गोली र बिष्फोटक पदार्थ (सुतली बम) सहित पक्राउ परेका थिए । प्रहरीले उनीहरूमाथि विष्फोटक पदार्थ, खरखजाना तथा संगठित अपराध अन्तर्गत मुद्दा चलाएको थियो ।

पर्सा जिल्ला अदालतबाट फैसला हुँदा पक्राउ परेका उनीहरु तीनैजनालाई जनही २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना फैसला सुनाइएको छ । उनीहरु हाल कारागार कार्यालय पर्सामा कैद सजाय भोगिरहेका छन् ।
सोही घटनाका मुख्य योजनाकार फुलहसन अन्सारी भने घटनापश्चात् फरार भएका थिए । उनको मुद्दा मुल्तबीमा रहेको थियो ।

अन्सारी अरु पनि थुप्रै अपराधिक घटनामा जोडिएका छन् । उनले २०६५ साल पुस ७ गते वीरगंजकै राजेश क्याललाई गोली हानी हत्या गरेका थिए । हत्यामा प्रयोग भएको हतियारसहित पुस १६ गते उनी पक्राउ परेका थिए । कर्तव्य गरी ज्यान मारेको कसूरमा अदालतबाट उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

कैद भुक्तान गरिरहेका बेला २०७४ साल भदौ ८ गते दशैंको अवसरमा ५६% बाँकी कैद मिनाहा भई उनी कारागार कार्यालय पर्साबाट रिहा गरिएका थिए । तर फेरी उनी अपराधमा फर्किए । पछिल्लो समय पहिचान बदली भारतको मुजफ्फरपुरमा बसेर केही व्यक्तिहरू मार्फत फिरौति लिने लगायतका कृयाकलाप गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर