गोकुल बास्कोटाको आरोप- बैंक लुटेको कालो धन सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचार (भिडिओ) – Nepal Press

गोकुल बास्कोटाको आरोप- बैंक लुटेको कालो धन सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचार (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा सत्तारुढ गठबन्धनमाथि खनिएका छन् । काभ्रेको पार्टी कार्यालयमा वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मानपछि आयोजित भेलालाई सम्बोधन गर्दै बास्कोटाले गठबन्धनको घोषित नीति नै विकासको भण्डाफोर गर्ने रहेको बताए ।

काभ्रेमा नेकपा एसका प्रदेशसभा सदस्य लक्ष्मण लम्साललगायतले विकासको भण्डाफोर गर्ने घोषणा नै गरेको भन्दै हालै प्रतिस्थापन विधेयकमार्फत भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौति र १४ सय सडक आयोजना खारेजीले त्यसको पुष्टि हुने बताए ।

केन्द्रमा केपी ओली र काभ्रेमा गोकुल बास्कोटाको विरोध गर्न विकास निर्माणका आयोजनाहरू खारेजी गरिएको उनको आरोप थियो । गठबन्धन सरकार विदेशीका लागि कम्फरटेबल भएकाले केही समय स्वदेशीले दुःख पाउनुपर्ने बास्कोटाले बताए ।

उनले एमसीसी हिजो प्रचण्ड, शेरबहादुर देउवा र कृष्णबहादुर महराहरुले हस्ताक्षर गरेको भन्दै आज ११ बुँदे प्रश्न एमसीसीलाई पठाएर दुनियाँ हसाइएको आरोप लगाए । बास्कोटाले प्रश्न गरे, ‘हिजो एमसीसीमा हस्ताक्षर गर्दा देउवा, प्रचण्ड र महराहरूले भाङ खाएका थिए ?’

अर्को प्रसंगमा बास्कोटाले भने’, ‘श्रीमान् ५ को निगाह बक्समा परमादेश सरकार बनेको आज ठीक २ महिना पुगेछ । नेपालमा संविधानविरुद्धको खलनायकी सरकारले चारबाट ५ मन्त्री त बनाउन सकेन । हनिमुन अवधि त यत्तिकै खेर जाने भयो ।’

पूर्वममन्त्री बास्कोटाले कालोधनलाई सेतो बनाउन बजेटमै नीतिगत भ्रष्टाचारको व्यवस्था गरेको आरोप लगाए । उनले हिजो माओवादीले बैंक लुटेका पैसा लिएर आउन स्रोत नखुलेको सम्पत्ति जलविद्युतलगायतका ठूला आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरेको बताए ।

उनले भने, ‘बजेटमै २०८० को चैतसम्म कसैले लुटेर लिएर आए रहेछ भने पनि लगानी गरेमा स्रोत खोजिने छैन भनिएको छ । यो भनेका भयंकर नीतिगत भ्रष्टाचार हो । हिजोको बैंक लुटेको पैसा तह लगाउन यसो गरिएको हो । विदेश लगिएका अवैध धन लगानी गर्न खोजिएको हो ।’

बास्कोटाले माधव नेपालको पार्टी स्थानीय तहमा पुग्दा ९ दशमलब ४, कार्यकर्ता तहमा ५ प्रतिशत र जनताको तहमा पुग्दा १ प्रतिशतमा सीमित हुने दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर