बलात्कार आरोपी जोगाउन वडाध्यक्षले गराए जबरजस्त मिलापत्र, पीडितलाई पाँच लाख दिने तमसुक – Nepal Press

बलात्कार आरोपी जोगाउन वडाध्यक्षले गराए जबरजस्त मिलापत्र, पीडितलाई पाँच लाख दिने तमसुक

पीडित परिवार असन्तुष्ट, प्रहरीमा जाहेरी

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका– २ चोराकोइलपुरमा बलात्कार प्रयासको घटनामा पीडितलाई पाँच लाख रुपैयाँ दिने मिलापत्र गरी थामथुम पार्न खोजिएको खुलासा भएको छ ।

वडाध्यक्ष जैसीलाल भिनवार यादवले गाउँमै पञ्चायत गरी मिलापत्र गराएका हुन् । तर पीडितहरु मिलापत्रप्रति सन्तुष्ट छैनन् । उनीहरुले आरोपीमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

चोराकोइलपुरका तीन परिवारले मिथिला बिहारी नगरपालिका– ४ का प्रदीप यादवमाथि बलात्कार प्रयासको आरोप लगाएका हुन् । आरोपी यादव केही राँगा पालेर चोराकोइलपुरमा बस्दै आएका छन् ।

मदिरा सेवन गरी यादवले भदौ २३ गते राति पालैपालो तीन दलित महिलाको घरमा प्रवेश गरी बलात्कारको प्रयास गरेको आरोप छ । आरोपपछि स्थानीयले यादवलाई नियन्त्रणमा लिए । र, घटना मिलाउन वडाध्यक्ष यादवले पहल गरेका थिए ।

भदौ २४ गते बसेको पञ्चायतमा सहभागीले आरोपीसँग १०–२० लाख जरिवाना हुनुपर्ने बताएका थिए । तर वडाध्यक्ष यादवले पाँच लाख रुपैयाँ दिएर घटना थामथुम पार्ने जबरजस्त मिलापत्र गराएको बताइएको छ ।

पञ्चायतमा सहभागी एक युवकले भने, ‘हामीले आरोपीलाई प्रहरीमा बुझाएर कानूनी कारबाहीतर्फ जानुपर्छ भनेका थियौं । तर वडाध्यक्षले गाउँको बदनाम हुन्छ भनेर घटना मिलाउनुभयो । तमसुक पनि आफ्नै नाममा बनाउनुभयो ।’

बलात्कार प्रयासको घटना भएपछि गाउँमा छलफल गरेको वडाध्यक्ष यादवले नेपाल प्रेससँग स्वीकारे । तर उनले आरोपीसँग ५ लाखको तमसुक गराएर घटना सत्य नभएको दावी गरे ।

उनले भने, ‘कोहीले ५ लाख त कोहीले १० लाख जरिवाना गर्नुपर्छ भनेको कुरा सत्य हो, तर तमसुक बनाएको छैन ।’

घटना बाहिरिएपछि आइतबार ईलाका प्रहरी कार्यालय यदुकोहाले पीडितलाई बोलाएर घटनाबारे जानकारी लिएको छ । तर प्रहरीले पनि घटना मिलापत्र गराउने वडाध्यक्ष यादवलाई बचाउने प्रयास गरेका छन् ।

इन्सपेक्टर सम्पीत भण्डारीले घटना गाउँमा मिलापत्र गराएको औपचारिक जानकारी प्राप्त नभएको बताए । उनले भने, ‘पीडितले त्यस विषयमा केही भनेका छैनन् । बाहिरका मान्छेबाट घटना गाउँमै मिलापत्र गराएको कुरा अनौपचारिक रुपमा थाहा पाएको छु ।’

‘पीडितको स्वास्थ्य परीक्षण गराउनुपर्छ’, इन्सपेक्टर भण्डारीले भने । पीडितबाट जाहेरी प्राप्त भइसकेको र दर्ता प्रक्रियामा रहेको उनको भनाइ छ ।

स्रोतका अनुसार पीडितहरुलाई दबाब दिएर वडाध्यक्षले स्वास्थ्य परीक्षण गराउन जान दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर