विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो, माइतीघरमै पुग्यो प्रहरी – Nepal Press

विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो, माइतीघरमै पुग्यो प्रहरी

काठमाडौं । चर्चित लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । उनको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा-परिचर्चा हुँदै आएका छन् ।

आयोगका अधिकारीहरुले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक सोधपुछ गरेका थिए । आयोगका प्रवक्ता टीकाराम पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै सञ्चारमाध्यममा माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई भनिएको बताए ।

आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको स्थानीय प्रहरीले रिपोर्टिङ गरेका छन् ।

एसपी बोगटीले भने, ‘हामीले अनौपचारिकरुपमा माइतीमा बुझ्न खोजेका थियौ । तर, घरमा कोही पनि रहेनछ । बुवाआमा बितिसक्नुभएको रहेछ । अरु कुराहरु थाहा हुन सकेन । उहाँका बुबाआमा बितिसक्नुभएको रैछ । त्यसैले धेरै कुरा थाहा हुन सकेन’ एसपी बोगटीले भने ।

यो पनि पढ्नूस : #चरी जेलैमा : परिवन्द होइन राजीखुशीले !

आइतबार नै आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि बुझ्न आग्रह गरेको थियो । क्षेत्रीय कार्यालयले पनि स्याङ्जा प्रहरीलाई यसबारे बुझ्न भनेको थियो । आयोगका प्रवक्ता पोखरेलले स्वयम् पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्वाहीको प्रक्रिया भने अघि बढाउन नमिल्ने बताए ।

‘स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं’ प्रवक्ता पोखरेलले भने । यसअघि २०७५ सालमा पनि विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासनले चासो दिएको थियो । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलार्य कार्यालयमा नै डाकेर सोधपुछ गरेका थिए ।

प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् । थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ । यद्यपि, उनीहरुलाई नजिकबाट चिन्ने कलाकारहरु भने श्रीमान सुन्दरमणि अधिकारीसँग विष्णु माझीको राम्रो समझदारी रहेको बताउने गर्छन् ।

अहिले विष्णु माझीले गाएको चरी जेलैमा गीत निकै चर्चामा छ, जसलाई उनकै श्रीमान सुन्दरमणिले लेखेका र संगीत दिएका हुन् ।


प्रतिक्रिया

One thought on “विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो, माइतीघरमै पुग्यो प्रहरी

  1. अरु कुरा त ठिकै हो उनीहरुको निजि जिन्दगि हो त्यो जसरि सुकै बाचून तर बिष्णु माझि को आमा बुवा दुबैको निधन हुँदा जनताले थाहै पाएनन् ! कलाकारहरुलाई सोक पर्दा कलाकारहरु भेला हुने दुखमा सामेल हुने चलन छ त्यो हुन सकेन !

    सुन्दरमणि ले चाहेको भए बिष्णु माझि जस्ती छोरी जन्माउने ति बा आमाको अन्त्यष्टिमा अन्य कलाकार हरु पनि भेला हुन्थे कि ? राष्ट्रकी महान कलाकार जन्माउने, यो देशलाई यति ठुलो कलाकार दिएका बाबुआमा दुवै यो संसार मा रहेनछन भन्ने कुरा ‘हल्ला’ सुनेर मात्र थाहा हुने अवस्था चाहिं न ल्याएको भए हुन्थ्यो !

    लुक्नु, सार्वजानिक नहुनु, यी नितान्त निजि कुरा हुन् त्यसमा कसैको हस्तक्षेप् स्वीकार्य हुदैन पनि तर ‘बा आमा’को देहान्त मा खुलेर रुना पनि नसक्ने त्यो कस्तो लुकाई हो-कस्तो निजि जीवन हो? मलाइ त असामाजिक जस्तो पो लाग्न थाल्यो !!

Leave a Reply to दुर्गा पंगेनी Cancel reply

Your email address will not be published. Required fields are marked *