बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल – Nepal Press

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल र बंगलादेशबीच आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । एएफसी वुमेन्स एसियनन कप छनोटको तयारी स्वरुप बिहीबार भएको पहिलो खेलमा २-१ गोलको नजितामा नेपाल विजयी भएको थियो ।

तर, रक्षापंत्तिमा राम्रो तालमेल देखाएको बंगलादेशविरुद्ध आज दशरथ रंगशाला सिर्जना गरेका अवसरको सदुपयोग गर्न सकेन । खेलको सुरुआतदेखि नै दुवै टोलीले गोलका पर्याप्त अवसर सिर्जना गरेका थिए । तर, फिनिसिङ चुक्दा दुवै टोलीले डेडलक तोड्न सकेनन् ।

छैठौं मिनेटमा नेपाली गोलकिपर अञ्जना राना मगरले गरेको गल्तीको फाइदा उठाउन नसक्दा बंगलादेशकी फरवार्ड श्रिमोथी सरकार गोलको नजिक पुगेर पनि असफल भएकी थिइन् ।

त्यसको तीन मिनेट नबित्दै नेपालकी डिफेन्डर अम्रिता जैसीले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले बचाएकी थिइन् । पुनः १०औं मिनेटमा मिडफिल्डर सरु लिम्बुले गरेको प्रहारमा पनि विपक्षी टोलीकी गोलकिपर चक्मा बाधक बनिन् ।

सुरुआतमा घरेलु टोलीको दबाब सहनु परेको बंगालदेशका लागि ३०औं मिनेटमा पुनः सरकारदले पेनाल्टी एरिया बाहरिबाट गरेको प्रहार क्रसबारमाथि लागेर बाहिरिएको थियो ।

दोस्रो हाफमा खेल प्रतिस्पर्धात्मक भए पनि गोलका लागि क्लियर मौका बनाउन दुवै टोली असफल रहे ।

आजको खेलमा नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो खेलको सुरुआती-११ बाट दुई परिवर्तन गरेका थिए । पहिलो रोजाईकी गोलपिकर एन्जिलता तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगरलाई मैदानमा उतारेका थिए । यस्तै, मिडफिल्डर अञ्जली योञ्जनको स्थानमा रश्मी घिसिङ र सबिता रानाको स्थानमा अनिता बस्नेतलाई मैदानमा उतारेका थिए ।

सन् २०२२ मा भारतमा एएफसी वुमेन्स एसियन कपको छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशले तयारी स्वरुप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । बिहीबार भएको पहिलो खेलमा नेपालका लागि सबिता राना र प्रीती राईले गोल गर्दै २-१ को जित दिलाएका थिए । बंगलादेशका लागि तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

नेपाली टोली छनोट खेलका लागि उज्वेकिस्तान प्रवेश गर्नेछ । छनोट चरणको समूह ‘एफ’मा रहेको नेपालले सेप्टेम्र १८ मा फिलिपिन्स र २१ मा हङकङसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *