सहकारी चोरीको २ महिना-सिसिटिभी फुटेज हेरेर पनि प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप – Nepal Press

सहकारी चोरीको २ महिना-सिसिटिभी फुटेज हेरेर पनि प्रहरीले गम्भीरतापूर्वक नलिएको आरोप

काठमाडौं । गोरखास्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको दुई महिना वितिसक्दा समेत प्रहरीले चोर पत्ता लगाउन नसकेको भन्दै स्थानीयले प्रहरीको नियतमाथि नै शंका गर्न थालेका छन् ।

सहकारीको सीसीटीभी फुटेजमा दुई जना व्यक्तिहरु चोरीमा संलग्न रहेको प्रस्ट देखिएको भएपनि उनीहरुलाई संरक्षण दिने काम भइरहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

‘फुटेजमा दुई जना व्यक्तिहरु चोरी गरिरहेको देखिन्छ, मुखमा मास्क लगाए पनि जिउडालबाट उनीहरुलाई प्रस्ट चिन्न सकिन्छ । तर, प्रहरीले उनीहरुलाई संरक्षण गरिरहेको जस्तो लाग्छ’, सहकारीका एक संचालकले भने ।

नेपाल प्रहरी, सीआईवी तथा सीडीयो प्रमुखलाई पटक पटक भटेर सहकारी चोरीमा संलग्न व्यक्तिलाई चाडो पक्राउ गर्न आग्रह गरेपनि छानविन भइरहेको जवाफ दिने गरेको उनले नेपाल प्रेसलाई बताए ।

गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वोरल्याङस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थामा असार २६ गते चोरी भएको थियो । राति १२ बजे देखि ३ बजेको बीचमा मास्कधारी दुई व्यक्तिहरुले सहकारीको पैसा चोरी गरिरहेको सीसीडी टीभी फुटेजमा देखिएको सहकारी सञ्चालकले बताए ।

सहकारीबाट २६ लाख ३९ हजार १९१ रुपैयाँ चोरी भएको ती सञ्चालकले बताए । २०५२ सालमा ३० जना बचतकर्ताले ५०÷५० रुपैयाँ बचत गरि यस सहकारीको स्थापना भएको थियो । हाल यस सहकारी संस्थाको चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुगेको छ भने ३५ सय यसका सदश्य रहेका छन् ।

प्रहरीले भने खोजी भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र गुरुङले चोरलाई प्रहरीले संरक्षण दिएको आरोप गलत रहेको बताए ।

उनले भने–अहिले अनुसन्धान भइरहेको छ । सिसिटिभीमा हेरेर मान्छे चिनिन्छ भन्ने कुरा वाइयात हो । मास्क र चस्मा लगाएको छ । हामीले केहीलाई शंकाको घेरामा राखेका छौं,पहिचान भइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर