नेपालले बंगलादेशसँग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै – Nepal Press

नेपालले बंगलादेशसँग आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । आसन्न एएफसी महिला एसियन कपको तयारीका क्रममा रहेको नेपालले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज खेल्दैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले विहीबार पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलअन्तरको जित निकालेको थियो । राष्ट्रिय टोलीबाट डेब्यू गरेका सविता राना र प्रिती राईले गोल गरेका थिए । मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त भएपछि नेपालको अग्रपंक्तिमा यी दुई खेलाडीको जिम्मेबारी बढेको छ ।

दोस्रो खेलमा पनि नेपालले जितलाई निरन्तरता दिने लक्ष्य राखेको छ । विहीबारको खेलमा दोस्रो हाफमा अग्रपंक्तिमा परिवर्तन गरेका प्रशिक्षक ग्यारी फिलिप्सले आजको सुरुआती ११ मा केहि परिवर्तन गर्न सक्छन् ।

उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटमा नेपाल समूह एफमा छ । नेपालले असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग खेल्दैछ । यो प्रतियोगिता नेपालमै हुने तय भएको थियो । तर कोरोना महामारीका कारण उज्वेकिस्तान सारिएको हो । यो समूहको शीर्ष स्थानमा रहन सके नेपालले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्न पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *