शिक्षण छाडेर दम्पती नै ‘कफी हब’मा – Nepal Press

शिक्षण छाडेर दम्पती नै ‘कफी हब’मा

रुपन्देही । रुपन्देहीमा एक जोडी शिक्षकले कलेजको शिक्षण छाडेर ‘कफी हब’ सञ्चालन गरेका छन् ।

६ वर्षदेखि विभिन्न कलेजमा अध्यापन गराउँदै आएका तिरास लामटाङ्गे र अक्सफोर्ड कलेजमा अध्यापन गर्ने शर्मिला गलामीले रुपन्देहीको तिलोत्तमा–३ योगीकुटी शान्तिचोकमा ‘द कफी हब’ संचालन गरेका हुन् ।

होटल म्यानेजमेण्टमा स्नातक गरी एकदशक विभिन्न ५ वटा तारे होटलमा अनुभव संगालेका तिरास लामटाङ्गेले ६ वर्षदेखि शिक्षण गर्दै आएका थिए । तर अध्ययनको सदुपयोग, आफ्नै व्यवसायको दीर्घकालीन व्यवस्थापन र परिवारको सामुहिक योजनामा अगाडि बढ्न तिरासले ‘द कफी हब’लाई ब्राण्ड बनाउने लक्ष्यसहित यो योजना सुरु गरेका हुन् । उनको योजनामा उनको जीवनसाथी शर्मिलाले पनि साथ दिएकी छन् ।

पाल्पामा जन्मेका तिरास स्थानीय कालिका माध्यमिक विद्यालयमा अध्ययन गरी पाल्पाकै न्यू होराइजन कलेजमा होटल व्यवस्थापन अध्ययन पूरा गरेर किशोरावस्थादेखि नै हस्पिटालिटी क्षेत्रमा थप अध्ययन गर्न काठामण्डौंतर्फ लागेका थिए ।

काठमाडौंमा उनी ‘इन्टरनेशनल स्कूल अफ टूरिजम अफ होटेल म्यानेजमेन्ट’मा भर्ना भए । अध्ययनकै क्रममा उनी इन्टर्नसिपको लागि चीन गए ।

चीनमा उनले ‘शान्या एभिएशन एण्ड टूरिजम कलेज’मा एक वर्ष इन्टर्नसिप गरे । त्यसपछि उनले इन्टरनेशनल शान्या रिसोर्टमा १ वर्ष काम गरे । उनले विदेशमा सिकेको सीपलाई नेपालमा उपभोग गर्ने उद्देश्य थियो । त्यहीअनुरुप सन् २०१३ डिसेम्बर १४ मा उनी नेपाल फर्के ।

नेपाल फर्किएपछि उनले शेर्पा रेष्टुरेण्टमा सुपरभाइजरको रुपमा एक वर्ष काम गरे । त्यसैगरी उनले सोल्टी क्राउन प्लाजा र रेडिशन होटेलजस्ता पाँचतारे होटलमा अनुभव संगाले ।

सानैदेखि पढाइमा अब्बल उनी आइएलटिएसमा पनि नाम निकालेको बताउँछन् । आइएलटिएसको परीक्षामा ६.५ अंक ल्याएर प्रक्रिया अगाडि बढाउँदा ४० लाखको सम्पत्ति विवरण देखाउन नसक्दा अष्ट्रेलिया जानबाट बञ्चित भएको उनी बताउँछन् । उनले भने ‘तराई–सहरमा हाम्रो घरजग्गा थिएन, पहाडको खेतबारीको मूल्यांकन नआउने गर्दा ४० लाख देखाउन सकिएन र अष्ट्रेलिया जान पाइनँ ।’

होटल म्यानेजमेण्ट अध्ययन गरेर चीन गइ इन्टर्नसीप गरेर आएका लामटाङ्गेसँग देशकै उत्कृष्ट मानिने, चलेका पाँचतारे होटलमा काम गरेको अनुभव छ ।

उनी सन् २०१५ मा काठमाडौंबाट बुटवल आए । बुटवलको सुख्खानगरमा एशियन भिलेज होटल खोले । होटेल सञ्चालन गरे पनि बुटवलको हस्पिटालिटीको अवस्था नबुझ्दा ६–७ महिनामै उनले उक्त होटेल बन्द गरे । तर आफ्नो होटलमा नियमित आइरहने गेष्ट चक्रबहादुर श्रेष्ठसँग तिरासको राम्रो चिनजान थियो ।

तिरासको काम र क्षमतालाई नजिकबाट देखेका श्रेष्ठले उनलाई विद्यालयमा पढाउन प्रस्ताव राखे । उनले बुटवलस्थित क्यान माविका सहप्राध्यापक गंगालाल प्रधानसँग कुराकानी गराइदिए । अन्ततः तिरासले कलेजमा होटेल म्यानेजमेण्ट पढाउन थाले ।

६ वर्षदेखि उनले सोही कलेजमा होटल म्यानेजमेण्ट अध्यापन गर्दै आएका छन् । अध्यापनकै सिलसिलामा उनी अक्सफोर्ड कलेजमा अध्यापन गर्ने शर्मिला गलामीसँग जोडिए । गलामीसँग केही समयको प्रेमपछि उनले विवाह गरे । गुल्मीमा जन्मिएकी गलामीले अक्सफोर्ड कलेजमा ‘ह्यूमन रिसर्च एण्ड मार्केटिङ’ अध्यापन गर्थिन् ।

कस्तो छ कफीको बजार ?

सफा, आकर्षक सजावट र विभिन्न फ्लेवरमा उपलब्ध हुने कफी पिउन र फोटो खिच्नका लागि कफी सपमा जाने चलन मुख्यबजारहरुमा फेशनजस्तै बनेको छ ।

सहरका विभिन्न स्थानमा स्थापना भएका कफी सपमा यसका पारखीहरुको भीड लाग्न थालेको छ । कफी पेय पदार्थ मात्रै नभइ संस्कारजस्तै बनेको छ । परम्परागत चियाभन्दा माथि आधुनिक जीवनशैलीको संकेतका रुपमा पनि लिइएको पाइन्छ । आजकल ‘भेटौं, कफी पिउँ’ प्रचलनमा रहेको छ ।

कफीको यस्तै माग, आवश्यकता र महत्वलाई मध्यनजर गरी यसका पारखीलाई आनन्द दिलाउने बताउँछन् ‘द कफी हब’ का संचालक तिरासले ।

होटल तथा रेष्टूरेण्टमा रुचि राखेर अध्ययन, काम र अध्यापन गरेका उनलाई कफी निकै मन पर्छ । उनी स्वयम् कफीका पारखी हुन् । ‘म नियमित दैनिक २/३ पटक कफी पिउँछु, मलाई कफी निकै मन पर्छ ।’ उनले भने । पछिल्लो समयमा फकी पिउने ट्रेण्ड बढेको र त्यसलाई आफूले अझै विस्तार गर्ने बताए । उनले भने ‘नेपालमा अहिले कफी पिउने चलन बसेको छ । यसैलाई मध्यनजर गर्दै थप विस्तार गरेर कफीलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ । हामीकहाँ कफीका विभिन्न परिकारहरु पाइनुका साथै गुणस्तरीय एवम् कफीको स्वादनै फरक हुन्छ ।’ आर्थिक जुटाउन नसक्दा १० वर्ष अघि अष्ट्रेलिया जानबाट बञ्चित र आफै लगानी गरेर सञ्चालन गरेको होटल बन्द हुँदा उनी कहिल्यै निरास नभएको बताउँछन् ।

२ वर्षअघि नै आफैले कफी सप सञ्चालन गर्ने योजना भएपनि कोरोना महामारी अवरोध बनेको थियो । अहिले भने महामारीकै त्रासबीच उनले आँट गरेर शुरु गरेका छन् । केही ऋण गरेर सुरु गरेको यो पेशालाई निरन्तरता दिने बताउँदै उनी भन्छन्, ‘कफी र हस्पिटालिटी मेरो सौंख र पेशा हो । स्थापना गर्दै सुरु गरेको छु । यसलाई जसरी पनि चलाउनु छ, चल्छ । यतिमै रोकिने होइन । पाल्पा, भैरहवा लगाएतका स्थानमा ब्रान्च पनि खोल्ने लक्ष्य छ । द कफी हबलाई ब्राण्ड बनाउने अभियानमा छु ।’

लामटाङ्गेले महामारीले धरासायी भएपनि ऋण खोजेर सञ्चालन गर्ने बताउँछन् । उनले विजनेसमा रिस्क हुने बताउँदै हार नमान्ने बताए । उनी ‘कि जितिन्छ, कि सिकिन्छ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढ्ने योजना बनाएका छन् । आफ्नो कफी हबमा कफी पिउनेहरु नियमित गहक बन्ने उनको विश्वास छ । खानपिनका लागि घरबाहिर निस्कने संस्कृतिको विकास भएको हुँदा हस्पिटलिटी क्षेत्रमा धेरै सम्भावना रहेको उनको तर्क छ ।

उनी भन्छन्, ‘घुम्ने र खानपिन गर्ने चलन बढेको छ । महामारीका कारण अहिले समस्या छ तर, धैर्य गरेर अघि बढियो भने अवश्य सफल भइन्छ ।’ आकर्षक सजावट र व्यवस्थापनसहित उनले सुरु गरेको कफीमा धेरै सेल्फी जोन छन् । कफी, बेकरी र कन्फेक्सनरीका लागि पारिवार नै सहभागी हुन मिल्ने उनी बताउँछन् । करिब ३५ लाख लगानी रहेको शान्तिचोकस्थित तिरासको ‘द कफी हब’ मा कफी, बेकरी र कन्फेक्सनरीका विभिन्न परिकारहरु पाइन्छन् । पर्यटन र हस्पिटालिटी क्षेत्रमा निकै समभावना देखेका तिरासले कफी हबमा कफी सम्बन्धी कक्षा तथा प्रशिक्षणहरु पनि सञ्चालन गर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “शिक्षण छाडेर दम्पती नै ‘कफी हब’मा

Leave a Reply to bir Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर