राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने देउवाको आश्वासन


काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले आज बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेको हो ।
भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने सरकारको योजना रहेको बताएको भेटमा सहभागि कानूनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल प्रेसलाई जानकारी दिए ।
भेटपछि ट्वीट गर्दै प्रधानमन्त्री देउवाले सुमारसँगको भेटमा एमसीसी सम्झौता लगायत नेपाल र अमेरिकाबीचको द्धिपक्षीय साझेदारीबारे छलफल भएको जनाएका छन् ।
एमसीसी सम्झौताको कार्यान्वयनबाट नेपालको सम्भावित आर्थिक सम्भाव्यताबारे समेत छलफल भएको देउवाले जनाएका छन् । एमसीसी उपाध्यक्षलाई भेट्न पाउँदा देउवाले खुशि व्यक्त गरेका छन् ।
सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल, बाबुराम भटट्राई, उपेन्द्र यादवले पनि राष्ट्रिय सहमति कायम गरेर एमसीसीलाई अघि बढाउने जानकारी टोलीलाई दिएका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा आलीले भने एमसीसीबारे सरकारको पोजिसन स्पष्ट हुनुपर्ने धारणा राखेका छन् ।
सुमार नेतृत्वको टोलीले आजै ऊर्जामन्त्री पम्फा भुषाललाई पनि भेटेको थियो । एमसीसी टोली अझै दुई दिन नेपालमा रहने जनाइएको छ ।