कन्सुलर सेवा आजदेखि स्थानीय तहबाटै दिन सुरु, काठमाडौं जिल्लाबाट सेवा वितरण – Nepal Press

कन्सुलर सेवा आजदेखि स्थानीय तहबाटै दिन सुरु, काठमाडौं जिल्लाबाट सेवा वितरण

माघदेखि क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र बाँडिने

काठमाडौं । सरकारले आजदेखि स्थानिय निकायबाटै कन्सुलर सेवा दिन सुरु गरेको छ । स्थानीय निकायसँगको सहकार्यमा कन्सुलर सेवा विभागले काठमाडौं जिल्लाबाट सेवा थालनी गरेको हो ।

अब जन्म, मृत्यु, विवाह, बसाइसराइजस्ता व्यक्तिगत घटना विवरण नागरिकले नगर र गाउँपालिकाबाटै प्राप्त गर्न सक्नेछन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र परराष्ट्र सचिव भरतराज पौड्यालले सेवा थालनीबारे जानकारी गराए ।

विभागले यसबारे जानकारी दिन कन्सुलर सेवा प्रवाहमा स्थानीय निकायसँगको सहकार्य सम्बन्धी अन्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । सबै प्रकारका कन्सुलर कार्यको प्रमाणीकरण विधिबारे स्थानीय तहमै जानकारी उपलब्ध हुने विभागका महानिर्देशक धनबहादुर ओलीले जनाए ।

साथै, स्थानीय तहमा प्रमाणीकरण र पञ्जीकरणका सबै कागजात उपलब्ध हुनेछन् । काठमाडौं जिल्लादेखि सुरु हुने कन्सुलर सेवा कोरोना परिस्थिती सामान्य भए ३० जिल्लाका नगर र महानगरमासम्म विस्तार हुने महानिर्देशक वलीले जानकारी दिए ।

नागरिकले अबदेखि विभाग धाउनुपर्ने बाध्यताको अन्त्य भएको जानकारी दिँदै महानिर्देशक वलीले स्थानीय तहमा नै कन्सुलर सेवाको आवश्यक कागजात पठाउन सकिने जनाए । ‘यसले पालिकाहरुको पञ्जीकरण थप व्यवस्थित हुनेछ’ उनले भने ।

साथै, स्थानीय तहबाट कन्सुलर सेवा सुरु हुँदा विदेशमा रहेका ६० लाख नेपालीलाई पनि सजिलो हुने विभागले जनाएको छ । सबै पालिकाहरुको पहुँच हुने गरी विभागले लगइन एड्रेस उपलब्ध गराएको र त्यसमा तथ्यांक अपडेट गर्दा विभागको प्रणालीमा भण्डारण हुने समेत जनाइएको छ ।

काठमाडौं महानगरका मेयर शाक्यले स्थानीय निकायमै नागरिकले कन्सुलर सेवा पाउनु खुशिको कुरा भएको बताए । समस्यामा रहेका नागरिकहरुको समस्या बुझेर कन्सुलर सेवा दिनुपर्ने खाँचो औंल्याउँदै उनले स्थानीय निकायले कन्सुलर सेवा प्रवाहमा सघाउने बताए ।

परराष्ट्र सचिव पौड्यालले जनताले घरदैलोमा कन्सुलर सेवा पाउन थालेपछि जनप्रतिनिधिलाई नै फाइदा पुग्ने बताए । उनले स्थानीय सरकारसँग मिलेर मन्त्रालय अघि बढ्ने जानकारी गराए । कार्यक्रममा विभागका महानिर्देशक वलीले कन्सुलर सेवा प्रवाहका चुनौतिहरु प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले पनि स्थानीय तहबाट कन्सुलर सेवा सुरु हुनु खुशिको कुरा भएको बताए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकासहित जिल्लाका कीर्तिपुर, कागेश्वरी, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, बुढानिलकण्ठ, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाका प्रमुख र उपप्रमुख सहभागि थिए ।

तीनवर्षभित्र शतप्रतिशत जन्म-मृत्युका घटना दर्ता हुने

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले सन् २०२४ भित्र शतप्रतिशतरुपमा जन्म र मृत्युका आँकडा राखिने तयारी भएको बताए । ‘यसका लागि टोल टोलमा पुगेर दर्ता शिविर चलाएका छौं’ उनले भने ।

३५ लाख जनाले राष्ट्रिय परिचयपत्र पाउने जनाउँदै उनले शिशु जन्मने वित्तिकै राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिने बताए । माघदेखि क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने उनले जनाए ।

बैंकमा खाता खोल्दा, मोबाइलको सीम किन्दा, घरजग्गा पास गर्दा, सवारी साधन खरिद गर्दा र ड्राइभिङ लाइसेन्स निकाल्दा तथा इलेक्ट्रोनिक पासपोर्ट निकाल्दा राष्ट्रिय परिचत्रपत्रलाई अनिवार्य गरिने महानिर्देशक बस्नेतले जानकारी दिए ।

विदेशस्थित नियोगबाट पनि घटना दर्ता सुरु हुने जानकारी दिँदै उनले ३८ वटा नियोगलाई स्थानीय पञ्जिधकारी तोकेर अनलाइन प्रविधिबाट तथ्यांक संकलन गर्ने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर