राष्ट्रियसभामा फरक दृश्य– एमाले लचक, सांसदहरुको शालिन विरोध – Nepal Press

राष्ट्रियसभामा फरक दृश्य– एमाले लचक, सांसदहरुको शालिन विरोध

काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर आफ्नो दल फुटाइदिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सदनमा आक्रामक रुपमा प्रस्तुत भइरहेको छ। एमाले विभाजनमा सहयोगी बनेको भन्दै एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि त्यो आक्रोश पोखिरहेका छन् ।

२३ गतेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले चर्को नाराबाजी र अवरोध गरेका थिए । अवरोधबीच झण्डै हातहालहालको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेस गरेका थिए।

एमाले सांसदहरुले प्रतिनिधिसभाको आजको बैठमा पनि अस्तिकै शैली कायम राखेका छन् । तर, राष्ट्रियसभामा फरक दृश्य छ । २३ गतेको बैठकमा एमाले सांसदहरुले शालिन रुपमा अवरोध गरेका थिए । त्यसलाई सुनेर राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सेनाले पनि त्यस्तै लचकता देखाएर पहिलो दिनको बैठकमा कुनै पनि कार्यसूची अघि नबढाई बैठक स्थगित गरेका थिए।

राष्ट्रियसभाको दोस्रो दिनको बैठक पनि शान्त ढंगले चल्यो । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहाले आफूहरुको अवरोध कायमै रहेको भन्दै राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा आफ्ना केही भनाइ राखे ।

दाहालको भनाइपछि अध्यक्ष तिमिल्सेनाले विरोध रेकर्ड भइसकेको भन्दै बैठक संचालन गर्न दिन अनुरोध गरे । एमाले सांसदहरु भने आफ्नो विरोध कायम रहने भन्दै उठीरहे । विरोध जनाउन उनीहरुले प्रतिनिधिसभामा जस्तो न नराबाजी गरे, न त कसैलाई गैरसांसद भन्दै निकाल्नुपर्ने माग नै गरे ।

यसकैबीचमा राष्ट्रियसभा अध्यक्षले राजनीतिक दल सम्बन्धी अध्यादेश पेस गर्न गृहमन्त्री खाणलाई अनुमति दिए। खाण बिनाअवरोध रोष्टममा गएर अध्यादेश पेश गरे । त्यो बेला पनि एमाले सांसदहरु मौन भएर उठिरहे मात्रै ।

खाणले अध्योदश गरेपछि अन्य सबै कार्यसूची अगाडि नबढाउने उल्लेख गरे र बैठक स्थगित गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर