बजेट हेरफेर गर्न अर्थमा रातभर चटारो, आफूलाई हटाउन बजेट महाशाखा प्रमुखको माग – Nepal Press

बजेट हेरफेर गर्न अर्थमा रातभर चटारो, आफूलाई हटाउन बजेट महाशाखा प्रमुखको माग

काठमाडौं । अर्थमन्त्रालयले ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयक तयार पारेको छ ।

बजेट हेरफेर गर्न अर्थका अधिकारी रातभर जाग्राम बसेर प्रतिस्थापन विधेयकलाई अन्तिमरूप दिइएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा अर्थका केही सहसचिवको उपस्थितिमा विधेयकलाई तयार पार्ने काम भएको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ ।

अघिल्लो सरकारको बजेटमा स्रोत सुनिश्चित नभएका कार्यक्रम प्रतिस्थापन विधेयकले हटाएको छ । करिब साढे ४ खर्ब हाराहारीको बजेटका कार्यक्रमहरु स्रोत नै सुनिश्चित नगरी राखिएको भन्दै त्यसका स्थानमा गठबन्धन सरकारको कार्यक्रम राख्ने तयारी गरिएको छ । यसैगरी पर्यटन क्षेत्रलाई तत्काल पुनरुत्थान गर्न असम्भव रहेको निर्क्यौल गर्दै कृषिमा बजेट छुट्याउने तयारी भएको स्रोतले जनाएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि बजेट बढाउने सरकारको तयारी छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप परिवर्तन गरेर अर्को कार्यक्रम ल्याउने तयारी गरिएको छ । प्रधानमन्त्री शेरबहादुरले देउवाले झार उखाल्ने, ढल सफा गर्नेजस्ता काम खर्च गरेर रकमको दुरुपयोग भन्दै यसको मोडालिटी परिवर्तन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रममा करिब १२ अर्ब बजेट विनियोजन गरिएकोथियो । यसैगरी १ खर्बले निर्यात प्रतिस्थापन गर्ने र आयात १५ खर्बको हाराहारीमा सीमित गर्ने गरी केही महत्वकांक्षी कार्यक्रमको तयारीमा अर्थमन्त्रालय लागेको छ ।

महालेखा नियन्त्रक कार्यालयले चालु खर्च, तलव भत्तालगायतका अनिवार्य खर्चबाहेकका सबै बजेट ३ दिनका लागि निकासामा रोक लगाइसकेको छ । मन्त्रालयले तयार पारेको प्रतिस्थापन विधेयकमा अर्थमन्त्रालयका वरिष्ठतम सहसचिवहरू नै बेखबर बनेका छन् । बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव भुपाल बरालले आफूलाई सरुवा गर्न अर्थसचिव मधुकुमार मरासिनीलाई भनेको समेत स्रोतले बतायो । सुमन दाहालको स्थानमा उक्त महाशाखाको प्रमुख भएर बराल अर्थमन्त्रालय आएका थिए ।

बरालले सरुवा मागेपछि उनको स्थानमा सहसचिव नारायण सापकोटालाई बोलाएर प्रतिस्थापन विधेयकको लेखनको काम लगाइएको छ ।

बराललाई जानकारी नदिइ अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले प्रतिस्थापन विधेयक तयार पार्ने काम भएको छ । यसैगरी प्रतिस्थापन विधेयकमा राजस्व व्यवस्थापनका महाशाखा प्रमुख रामेश्वर दंगाललाई जानकारी नदिइ राजस्वको दर हेरफेर समेत गरिएको छ । उनलाई उप्रेतीको कोठामा प्रवेशमा निषेध गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर