कैलाली–कञ्चनपुरका १३८ स्थानमा सीसी क्यामेरा जडान, दुर्घटना र अपराध घट्ने अपेक्षा – Nepal Press

कैलाली–कञ्चनपुरका १३८ स्थानमा सीसी क्यामेरा जडान, दुर्घटना र अपराध घट्ने अपेक्षा

कैलाली । प्रदेश सरकारले कैलाली–कञ्चनपुरको १३८ स्थानमा सीसी क्यामेरा जडान गरेको छ ।

कैलालीको पूर्वी क्षेत्र चिसापानीदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकी नाकासम्म र कैलालीको अत्तरिया बजारदेखि मोहन अत्तरिया छ लेन सडकअन्तर्गत त्रिनगर नाकासम्म १३८ स्थानमा सीसी क्यामेरा जडान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

सुदूरपश्चिममा पहिलोपटक यति ठूलो संख्यामा सीसी क्यामेरा जडान गरिएको हो । प्रदेश सरकारले जडान गरेको सीसी क्यामेराले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरिएको कानून मन्त्री जोशीले बताइन् । उनले सवार दुर्घटना न्यूनीकरण गर्न र सवारी दुर्घटनाको दोषी पक्राउ गर्न सहज हुनेसमेत विश्वास व्यक्त गरिन् ।

‘अहिले यहाँ दुर्घटना गरेर फरार हुने घटना बढिरहेको छ, अब प्रहरीले यस्ता फरार भएकाहरूलाई सजिलै पक्राउ गर्ने छ’ मन्त्री जोशीले भनिन्, सीसी क्यामेरा जडान भएपछि प्रहरीको डरले आपराधिक क्रियाकलाप कम हुनेछ ।’

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक करोड ७३ लाख रुपैयाँमा सीसी क्यामेरा खरिद गरेको हो ।

सीसी क्यामेरा कैलाली कञ्चनपुरको बजार क्षेत्र, दुर्घटनाको जोखिम बढी भएको ठाउँ, राजमार्गमा धेरै व्यक्ति जमघट हुने चौराहा, दोबाटो, सार्वजनिक सम्पत्ति रहेको क्षेत्र, सरकारी कार्यालय रहेका क्षेत्रमा जडान गरिएको छ ।

कैलाली कञ्चनपुरको १२ स्थानमा सीसी क्यामेरा निगरानी स्थलसमेत तयार गरिएको मन्त्रालयका उपसचिव गणेश नायकले बताए । प्रदेश सरकारले खरिद गरेको सीसी क्यामेरा जडानपछि प्रयोगमा समेत आइसकेको उनले बताए ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरेर मन्त्रालयले प्रहरीलाई सीसी टिभी क्यामेरा रेखदेखको जिम्मेवारी सुम्पिने जनाएको छ । सीसी क्यामेरा जडानपछि ‘हिट एन्ड रन’का घटना कम हुने अपेक्षा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

‘कैलालीमा दुर्घटना गरेर भाग्ने र दोषी पक्राउ नपर्ने गरेका घटनाहरू पनि थुप्रै थिए अब त्यस्ता घटना कम हुने अपेक्षा गरेका छौँ ’ डिएसपी विष्टले भने, ‘यसले अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि टेवा पुग्ने छ । ’

यसअघि पनि कैलालीका केही स्थानमा सीसी क्यामेरा जडान गरिएको थियो । तर, तीमध्ये अधिकांश सीसी क्यामेरा अहिले प्रयोगविहीन अवस्थामा छन् । क्यामेराको रेखदेख प्रभावकारी नहुँदा यसअघिका ती उपकरण प्रयोगविहीन भएका हुन् । प्रदेश सरकारले भने प्रदेश प्रहरी कार्यालयलाई यसको सुरक्षाको जिम्मा दिने बताएको छ ।

‘प्रदेश प्रहरी कार्यालयलाई हामी जिम्मेवारी दिन्छौँ ’ कानूनमन्त्री जोशीले भनिन् ‘नियमित रेखदेख भएको अवस्थामा अपराधी नियन्त्रण र अनुसन्धानमा यी उपकरणहरू निकै महत्त्वपूर्ण ठहरिने छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *