आज हरितालिका तीज, जनस्वास्थ्य मापदण्ड पालना गरेर मनाउन राष्ट्रपतिकाे आग्रह – Nepal Press

आज हरितालिका तीज, जनस्वास्थ्य मापदण्ड पालना गरेर मनाउन राष्ट्रपतिकाे आग्रह

काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने चाहि छैन । नराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । चिकित्सकले समेत आफ्नो स्वास्थ्यको ख्याल गरेरमात्र व्रत बस्न आग्रह गर्दै आएका छन् ।

यस वर्ष पर्वका अवसरमा मन्दिर खुल्ने छैन । पशुपतिनाथ लगायत मुख्य मन्दिर बैशाख १५ यता बन्द छन् ।

राष्ट्रपति भण्डारीद्वारा शुभकामना

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान चाड हरितालिका तीजको शुभकामना दिँदै कोभिड १९ संक्रमण जोखिमबाट बच्नका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्न अपील गरेकी छन् ।

सांस्कृतिक र धार्मिक पर्वका रुपमा हरितालिका तीजको नेपाली समाजमा धेरै महत्व रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘विवाहपश्चात महिलाहरु ऋाफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टभित्र र समाजलाई छाडेर कर्मघरमा जीवन विताउँदा आउनेद माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रुपमा यो तीज पर्वलाई महिलाहरुले लिएको पाइन्छ ।’

राष्ट्रपति भण्डारीले यो पर्वले पारिवारिक सम्बन्धलाई अझै प्रगाड बनाउनुका साथै राष्ट्रलाई पनि एकसुत्रमा बाँध्ने विश्वास लिएकी छन् । उनले तीजका अवसरमा गरिने भड्किलो व्यवहार र खर्चिलोपनमा भने नियन्त्रण लिनुपर्ने समय आइसकेको औल्याएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *