खेतमा जाने निकास नपाएपछि सडकमै अवरोध, प्रहरी मौन – Nepal Press

खेतमा जाने निकास नपाएपछि सडकमै अवरोध, प्रहरी मौन

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका– २ चोराकोइलपुरका भुला यादवले खेतमा जाने निकास नपाएपछि सार्वजनिक सडक नै छेकेका छन् । उनले सडकमै बार लगाएपछि छिमेकी प्रदिप यादवको परिवार झन् समस्यामा परेको छ ।

खेतमा जाने बाटो नदिएको भन्दै प्रदीपलाई घर बाहिर निस्किनै नदिन सार्वजनिक बाटोमै भुलाले बार लगाएका हुन् ।

सोमबार बिहानै भुलाले सडकमा बार लगाएका हुन् । त्यसपछि घर बाहिर निस्किन नपाएका प्रदीपले प्रहरी चौकी चोराकोइलपुरमा खबर गरे । तर प्रहरीले कुनै चासो नदिएको उनको गुनासो छ ।

प्रदीपले भने, ‘घरको पछाडि रहेको खेतमा आवत–जावत गर्न बाटोका लागि उनले मेरो निजी जग्गा मागे । मैले अस्वीकार गरेपछि सार्वजनिक बाटो नै घेरेर मलाई समस्यामा पारेका छन् ।’

प्रदीपको घर पछाडि भुलाको साढे ३ कट्ठा जग्गा छ । त्यो जग्गामा जाने बाटो छैन । भुलाले जबर्जस्ती प्रदीपसँग बाटो मागेको र नदिएपछि बलजफ्ती सार्वजनिक बाटो घेरेका छन् ।

कानून बमोजिम कसैले कुनै बहानामा कसैको बाटो छेक्न पाइदैन । कानूनको पालना गराउने प्रहरी भने मुकदर्शक बनेको छ । प्रहरी चौकी चोरा कोइलपुरका असई जयनरेश चौधरी भन्छन्, ‘प्रदिपले खेतमा जान पहिले बाटो दिएको थियो । तर पछिल्लो समय बाटो बन्द गरेपछि भुलाले पनि बाटो छेकेका छन् ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दिनेश अधिकारीले उक्त घटना विषमा अनभिज्ञता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर