काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट पराजुलीको बिदाई, रिजालको स्वागत


काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको बिदाई तथा गोविन्दप्रसाद रिजालको स्वागत गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक औपचारिक कार्यक्रमका विच पराजुलीको बिदाई तथा रिजालको स्वागत गरेको हो । पराजुलीले रिजाललाई जिल्ला प्रशासन कार्यालयमा स्वागत गरेका छन् भने रिजालले पराजुलीलाई कार्यालयबाट बिदाई गरेका छन् ।
रिजालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेसँगै नेपाल प्रेससँग कुराकानी गर्दै आफुले प्राप्त गरेकाे र दिइएको जिम्मेवारी बफादार भएर पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘भर्खरै मात्रै मैले जिम्मेवारी सम्हाले । केहि दिन मलाई बुझ्न समय लाग्छ । सबै बुझिसकेपछि केहि दिन पछि कार्ययोजना बनाएर अघि बढ्छु । जसरी मलाई यो जिम्मेवारी दिएको छ । त्यो राम्रोसँग पुरा गर्नेछु ।’
गृहमन्त्रीस्तरीय निर्णयबाट मंगलबार रिजालको मन्त्रालयको प्रशासन महाशाखाबाट सरुवा सरुवा भएको थियो भने पराजुली मन्त्रालय तानिएका थिए । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको महाशाखा तोकिनेछ ।
प्रायजसो सहसचिव एवम विभागिय प्रमुखको एक वर्षमा सरुवा हुने भए पनि पराजुलीको १० महिनामा सरुवा भएको छ । पराजुली यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।
रिजाल विगत ४ महिनादेखि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए । काठमाडौंको प्रमुख जिल्ला अधिकारीका लागि रिजाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बिनोदप्रकाश सिंहले कसरत गरे पनि रिजालले बाजी मारेका छन् ।