एमसीसीबारे सांसदलाई ओलीको जवाफ- हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, प्रस्ताव आए विचार गरौंला – Nepal Press

एमसीसीबारे सांसदलाई ओलीको जवाफ- हरेक कुरामा अग्रसर भैहाल्ने पक्षमा छैनौं, प्रस्ताव आए विचार गरौंला

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संसदमा प्रस्ताव भएको खण्डमा विचार गरिने बताएका छन् ।

‘हामी हरेक कुरामा एकदम अग्रसर भैहाल्ने पक्षमा छैनौं,’ एमाले संसदीय दलको बैठकमा ओलीले भने, ‘एमसीसी अहिले छलफलका रूपमा आएको छ । दलहरूलाई विचार गर्न दिउँ, एमसीसीबारे सबै डकुमेन्ट पढौं- कति फाइदाजनक रहेछ, कति घाटा हुने खालको रहेछ ।’

एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उनले बताए । ओलीले भने, ‘यो सम्झौता हामीले गरेका पनि हैनौं, कार्यान्वयन गरेका पनि हैनौं, अहिले हाम्रो काँधमा हाल्न जरुरी छैन ।’

ओलीले एमसीसीको प्रस्ताव सदनमा आए गम्भीरतापूर्वक विचार गरिने तर अहिले हतारिनु आवश्यक नरहेको बताए । ‘प्रस्ताव आयो भने गम्भीरतापूर्वक निर्णय गर्छौं र अगाडि बढ्छौं । यो बहसको विषयमा हतारिनु जरुरी छैन । हरेक कुरामा हतारिनु जरुरी हुँदैन ।’

ओलीले देशको हितको विरुद्ध, जनताको हितको विरुद्धमा भए त्यसलाई आफूहरूको साथ नहुने बताए ।

एमाले संसदीय दलको बैठकमा सांसदहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट हुनुपर्ने सुझाव दिएका थिए । केही सांसदले यसको विरुद्धमा लाग्नुपर्ने बताएका छन् ।

बैठकमा २५ जना सांसदहरूले सुझाव राखेका थिए । त्यसमध्ये धेरैको धारणा एमसीसीबारे पार्टी प्रष्ट हुनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर