एनआरएन उपाध्यक्षमा डीबी क्षेत्रको उम्मेदवारी, बद्री केसीको प्यानलमा रहने जानकारी – Nepal Press

एनआरएन उपाध्यक्षमा डीबी क्षेत्रको उम्मेदवारी, बद्री केसीको प्यानलमा रहने जानकारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रवक्ता समेत रहेका डीबी क्षेत्रीले दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले आफूले उम्मेदवारी दिने घोषणा गरे ।

वर्तमान उपाध्यक्ष तथा आगामी अध्यक्षका प्रत्यासी डा. केसीसँग मिलेर काम गर्दा आफूहरुको माग पुरा हुने उनको भनाई थियो । आठवर्षदेखि काम गर्दै जाँदा प्रभावित भएरै डा. केसीसँग निकटता भएको उनको भनाई छ ।

उनले भने, ‘कोरोनाको बेला सर्वसम्मत हुनुपर्छ भनेर कतै लागेको छैन। तर, काम गर्दै जाँदा सशक्त ढंगले सबै साथीहरुको साथ माग्दै जाँदा बद्री केसीसँग मेरो निकटता छ, भोलि को–को आउनुहुन्छ, त्यो हेर्न बाँकी छ।’

डा. केसीसँग वैदेशिक रोजगारका मुद्दा, हजारे अभियानलगायत विभिन्न उद्धार, राहतका कार्यदेखि परराष्ट्र, श्रममा सँगै काम गरेको हुनाले आफ्ना मुद्दाहरुको सुनुवाइ हुनेमा आफू विश्वस्त रहेको उनले बताए । सोही सन्दर्भमा उनले आफू उपाध्यक्षको प्रत्यासी भएको समेत बताए ।

यस्तै, बहसमा तपाई बद्री केसीको उम्मेदवार हो भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म आधिकारिक रुपमा कसैको चर्चा छैन तर म गैरआवासीय संघको एउटा सशक्त टिममा रहने छु ।’

आफ्नो राजनीतिक धार जुनसुकै भएपनि गैरआवासीय नेपाली संघमा राजनीतिलाई हाबी हुन नदिने दाबी उनले गरे । उनले भने, ‘गैर आवासीय नेपाली संघमा मैले राजनीतिलाई आफ्नो तर्फबाट हस्तक्षेप हुन दिन्न ।’ अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *