प्रचण्डको दावी – एमसीसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको छ – Nepal Press

प्रचण्डको दावी – एमसीसी प्रयोग गरेर गठबन्धन तोड्ने प्रयास भइरहेको छ

'गुट बनाउने, पैसा कमाउने भए एमालेमा गए हुन्छ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेजस्तै हुने भए पार्टी विघटन गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान माओवादी नेता सुरेश वाग्लेको २३ औं स्मृति दिवसमा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामी पनि त्यस्तै हुने हो भने त यो पार्टी किन चाहियो भन्ने बहस उठेको छ,’ प्रचण्डले भने, ‘हिजो त्यत्रो क्रान्तिको झण्डा बोकर आएको पार्टी आज एमालेजस्तै हुने हो भने त अर्थ के रह्यो र ? बरु त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनुहुन्छ ।’

गुट बनाउने र पैसा कमाउने भए एमालेमा गए हुने प्रचण्डको सुझाव छ । ‘जनताद्वारा हामी क्रान्ति गर्छौं भन्ने गर्ने चाहिँ प्रतिक्रान्ति,’ उनले भने, ‘यो जनतालाई धोका हो ।’

उनले थपे, ‘गुट बनाउने, पैसा कमाउने छ भने एमालेमै गएर गरे भयो नि त । पद प्राप्तीको लागि तँछाड र मछाड गर्ने । जानु भयो नि त हाम्रा केही साथीहरू । त्यसै गर्न मन लागे त हामी सबै गए भो ।’

एमालेमा गुट बनाउने र पैसा कमाउने काम मात्रै हुने उनको भनाइ छ । प्रचण्डले भने, ‘एमालेमा जाने, एमाले जस्तै हुने, गुट बनाउने, पैसा कमाउने । पद प्राप्त गर्ने, दलालहरूसँग साँठगाँठ गर्ने र उनीहरूको स्वार्थ पूरा गर्ने ।’

प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको दावी गरे । ‘यो गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देशबाहिरबाट पनि,’ उनले भने, ‘एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

गठबन्धन पनि बचाउने र एमसीसीमा उठेका आशंका पनि मेटाएर अघि बढ्ने आफ्नो प्रयास रहेको उनको भनाइ छ । ‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं,’ प्रचण्डले भने, ‘हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर