नेपाल-तालिवान कनेक्सन : २२ वर्षअघिकाे त्यो जहाज अपहरण काण्ड – Nepal Press

नेपाल-तालिवान कनेक्सन : २२ वर्षअघिकाे त्यो जहाज अपहरण काण्ड

इटहरी । हाल तालिवानले नियन्त्रण कायम गरेको दक्षिण एसियाली राष्ट्र अफगानिस्तानसँग नेपालको सम्बन्धको आयाम धेरै फराकिलो छैन । नेपाल-अफगानिस्तान कनेक्सन मुलतः ‘युद्ध’ को सेरोफेरोमा नै अघि बढेको पाइन्छ ।

दुई सय वर्ष अगाडिको बेलायत-अफगान युद्धदेखि अफगानिस्तानमा अमेरिकी कब्जाको लडाइँमा नेपालका गोर्खा सैनिकहरू जोडिन्छन् । यस्तै सुगौली सन्धिपछि रणजीत सिंहको पन्जाबी सेनाको तर्फबाट लडेका बलभद्रको सम्बन्ध पनि अफगानिस्तानसँग छ । अमेरिकी कब्जा भएपछि यूरोप र अमेरिकी कम्पनी तथा दूतावासमा सुरक्षा क्षेत्रमा काम गर्ने नेपालीको पनि अफगानिस्तान कनेक्सन छ ।

तर, यी सबैभन्दा फरक अर्को सन्दर्भ यहाँ उप्काउन गइरहेका छौं । सन् १९९९ को डिसेम्बरमा तालिवान मुछिएको एउटा घटनाले नेपाल र भारतको सम्वन्धमा नै चिसोपन आएको थियो । त्यो घटना हो- नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको एयर बस ३०० जहाज अपहरण । सन् १९९९ डिसेम्बर २४ अर्थात २०५६ पुष ९ गते भएको जहाज अपहरणले विश्वव्यापी चर्चा पाएको थियो ।

विमान अपहरणको कथा

इन्डियन एयरलाइन्सको फ्लाइट नम्बर आईसी ८१४ को जहाज त्रिभुवन विमानस्थलबाट चालक दलका ११ सदस्यसहित १८९ जना यात्रु बोकेर उड्यो । उडान नेपाली समयअनुसार अपरान्ह ४ बजे भएको थियो । नेपाली आकाश हुँदै दिल्ली उडेको जहाज ३० मिनेटपछि भारतीय आकाशमा पुग्नासाथ अपहरणमा परेको त्यसबेला न्यूयोर्क टाइम्सले लेखेको छ ।

अपहरणकारीले यात्रुदेखि चालक दलका सदस्यहरुलाई आतंकित गरेर जहाज आफ्नो पकडमा लिन थाले । दी प्रिन्ट डट आइएनमा उल्लेख भएअनुसार पाँच हतियारधारी आतंकवादी चढेर जहाज अपहरण गरेका थिए । प्रिन्टका अनुसार पाँचजनामा तीनजना भारतीय जेलबाट हालसालै रिहाइ भएकाहरू थिए ।

एभिएसन सेफ्टी डट नेटका अनुसार जहाजको इन्धन घट्दै गएपछि अपहरणकारीले जहाज भारतको अम्रितसार विमानस्थलमा जबर्जस्ती अवतरण गर्न लगाए । अपहरणकारीलाई अटेर गर्ने एक यात्रुको हत्या गरियो । हत्या गरिएका यात्रु थिए रुपिन कटियाल ।

भारतीय अधिकारीहरूले इन्धन नहाल्ने भनेपछि जहाज उनीहरूले पाकिस्तानको लाहोर विमानस्थलमा अवतरण गर्न खोजे । पाकिस्तानी अधिकारीहरूले त्यो चाल पाएर विमानस्थल बन्द गरिदिए । तर, पाइलटले कन्ट्रोल टावरलाई इन्धन नभरेमा जहाज दुर्घटना हुने भन्दै कल गरे । त्यसपछि आपतकालीन अवतरण भयो ।

अवतरणपछि अपहरणकारीले खाना, पानी र इन्धनको माग गरे । सबै माग पूरा भयो । त्यसपछि जहाज अफगानिस्तानको राजधानी काबुलको विमानस्थलमा पुग्यो । रात्रिकालीन अवतरण सुविधा नभएकोले त्यहाँ अवतरण हुन पाएन । एभिएसन सेफ्टी नेटका अनुसार त्यसपछि ओमानको मस्कट हुँदै युएइको दुवईमा अवतरण प्रयास भएको जहाजलाई अवतरण गर्न दिइएन ।

अन्ततः जहाज डिसेम्बर २५ मा दुबईको मिनार एयर बेस नामक अलि दुर्गम क्षेत्रमा अवतरण भयो । त्यहाँ खाना र इन्धन प्राप्त भएपछि २७ यात्रुलाई बाहिर निस्कन अनुमति दिइयो । त्यसको भोलिपल्ट डिसेम्बर २६ मा अफगानिस्तानको कन्दहर विमानस्थलमा जहाज अवतरण भयो । अनि त्यहीँबाट शुरू भयो अपहरणकारीको बार्गेनिङ ।

कास्मिरको पृथकतावादी आन्दोलन गरिरहेको पाकिस्तानी नेता मोउलाना मसुद अझरसहित अरु ३५ गुरिल्लाको रिहाइ, २० करोड अमेरिकी डलरलगायतका माग अपहरणकारीले भारतसमक्ष राखेका थिए ।

त्यसबेला तालिवानको नियन्त्रणमा थियो अफगानिस्तान । कन्दहर तालिवानको आधार क्षेत्र । तालिवानकै आग्रहमा डिसेम्बर २६ मा संयुक्त राष्ट्रसंघ र भारतीय प्रतिनिधि बोलाइयो । उनीहरूले अपहरणकारीसँग समन्वय प्रयास गरे । समन्वयकै चरणमा २७ डिसेम्बरमा अपहरणकारीहरूले आफ्ना माग पूरा नभए सबै यात्रुलाई मार्ने धम्की दिए । तत्कालीन भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीले केही माग पूरा गरे । बाजपेयीले आतंककारीको नाममा पक्राउ परेका तीनजनालाई रिहाइ गरे ।

डिसेम्बर २९ सम्ममा चौतर्फी आग्रहपछि अपहरणकारीले फिरौती र कैदी छुटाउनुपर्ने माग फिर्ता लिए । डिसेम्बर ३१ मा सबै यात्रु र चालक दललाई सकुशल भारत लगियो । अपहरणबाट फिर्ता भएका यात्रु र चालक दलका सदस्य लिन भारतीय विदेशमन्त्री जसवन्त सिंह पुगेका थिए । तालिवानले अपहरणकारीलाई देश छोड्न १० घण्टाको समय दिए ।

यो घटनामा भारतीयहरूले पाकिस्तान र तालिवानको मिलेमतो भएको दावी गर्दै आएका छन् । पाकिस्तान र तालिवानले भने सार्वजनिकरुपमा यसको खण्डन गरेका छन् । सन् २००० को जनवरी ५ मा न्यूयोर्क टाइम्समा प्रकाशित अन्तर्वार्तामा क्याप्टेन देभी सरनले कन्दहर पुगेपछि तालिवानबाट अपहरणकारीले थप बन्दुक र ग्रिनेडहरू पाएको बताएका थिए । उनको भनाइबाट घटनामा तालिवान कनेक्सन देखिन्छ । अपहरणकारीलाई कुनै सजाय नदिई देश छोड्ने अल्टिमेटम दिएबाट पनि पनि शंका उत्पन्न हुन्छ ।

निर्दोष एक नेपाली १४ वर्ष जेलमा

सन् २००० को जनवरीमा अपहरणमा संलग्न रहेको आरोपमा १० जनालाई हत्या, षडयन्त्र र अपहरणको मुद्दा चलाइयो । डेकन हेराल्डका अनुसार मुद्दा चलाइएकामा सातजना पाकिस्तानी, दुईजना भारतीय र एक नेपाली थिए ।

झूटो मुद्दा खेप्ने नेपाली थिए युसुफ नेपाली भनिएका भूपालमान दमाई । दमाईलाई पन्जाब र हरियाणा अदालतले सन २०१४ को फेब्रअरीमा निर्दोष भन्दै सफाइ दिएको थियो । १४ वर्ष जेलमा बिताएर ५४ वर्षका दमाई गोरखपुरसम्म रेल हुँदै नेपाल आएका थिए ।

नेपाल-भारत सम्बन्धमा दरार

सन् १९९९ को इन्डियन एयरलाइन्सको जहाज अपहरण भएपछि नेपाल-भारत सम्बन्धमा दरार आयो । अपहरणको समयमा भारतका लागि नेपाली राजदूत भेषबहादुर थापा थिए भने उपप्रमुख मदनकुमार भट्टराई थिए ।

राजदूत नभएकोले भट्टराईले आफैं त्यो तनावपूर्ण परिस्थितिको सामना गरेको बीबीसी नेपालीसँग दुई वर्ष अगाडि बताएका छन् । जहाज अपहरण काण्डले राजा वीरेन्द्रको डिसेम्बर २९ को कार्यक्रम नै रद्द गर्नुपरेको उनी बताउँछन् ।

जहाज अपहरणपछि नेपाली आकाश असुरक्षित रहेको भन्दै भारतले नेपाललाई एयर मार्सल राख्न दबाब दिन थाल्यो । एयर मार्सल भनेको जहाजमा हतियारसँगै आउने सुरक्षाकर्मी हुन् ।

नेपालले भारतीय एयर मार्सललाई नेपालमा मान्यता दिएको त सार्वजनिक भएको छैन । तर, भारतीय जहाजहरूमा एयरमार्सल आउने, आफैं यात्रुहरूको थप सुरक्षा जाँच गर्ने र विमानबाटै फर्किएर भारत जाने कुरा सार्वजनिक चर्चामा पटकपटक आएका छन् । नेपाल सरकारले भने यस बारेमा केही बोलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर