नेकपा एसमा लागेका ६ जना फर्किए, धादिङ ७९ जनप्रतिनिधिले एमाले छाडे – Nepal Press

नेकपा एसमा लागेका ६ जना फर्किए, धादिङ ७९ जनप्रतिनिधिले एमाले छाडे

धादिङ । नेकपा एमाले विभाजन भएपछि धादिङका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले नेकपा एमाले नै रोजेका छन् । एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका धादिङका ६ जना जनप्रतिनिधि मंगलबार पुरानै पार्टीमा फर्किएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका कार्यपालिका सदस्य बिन्दा पोखरेल भट्ट र बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का कार्यपालिका सदस्य बिन्दा मगराती समेत ६ जनाले एकिकृत समाजबादी छाडेर एमालेमै बस्ने भन्दै सनाखत पत्र फिर्ता लिएका हुन् ।

यसैगरी गजुरी गाउँपालिका वडा नम्बर ३ वडा सदस्य कौशिला विक, २ नम्बर वडा सदस्य सुजन चेपाङ, बेनिघाटरोराङ वडा नम्बर ६ का वडा सदस्य कृष्णमायाँ प्रजा र सीताराम प्रजा पनि एमालेमै बस्ने भएका छन् ।

आफूहरुले एमालेबाट चुनावमा उठेर जनताको मत पाएकाले एमालेमै बस्ने निर्णय गरेको ज्वालामुखी गाउँ कार्यपालिका सदस्य बिन्दा पोखरेलले वताईन् । जिल्ला निर्वाचन कार्यालयमा गएर सोमबार एकिकृत समाजबादीमा लाग्न गरिएको सनाखत फिर्ता लिनका लागि मंगलबार उनिहरुले निवेदन दिएका हुन् ।

एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले निवेदन दिएकोमा अब ७९ जनामात्र बाँकी रहेका छन् । एमाले छाड्नेमा धुनिबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख निरु खरेल, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठ, गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगाना रहेका छन् ।

त्यसै गरी वडाअध्यक्ष थाक्रे ७ का रामकुमार बस्नेत, गल्छी ६ का राजन श्रेष्ठ, गजुरी २ का चुडामणी कँडेल, ७ का केशव अधिकारी, ज्वालामुखी १ का रामप्रसाद सिलवाल, ५ का कृष्ण काप्री र ६ का अर्जुन अर्याल, धुनिबेसी नगरपालिका वडा नम्बर १ वडाअध्यक्ष चन्द्र तामाङ, ४ का हरी सुरवेदी र ९ का साईला राई रहेका छन् ।

एमाले छाडेर एकीकृत समाजवादीमा लाग्ने अन्य वडाअध्यक्षमा वेनिघाटरोराङ २ का टंक थापा, ९ का शुरेश मल्ल रहेका छन् ।

धादिङ जिल्लामा ३ सय १६ जना जनप्रतिनिधि नेकपा एमालेको सूर्यचिन्ह लिएर निर्वाचित भएका थिए । १३ स्थानीय तह र एक सय चार वटा वडा रहेको धादिङमा नेकपा एमालेले धुनिबेसी नगरपालिका, थांक्रे, गल्छी, गजुरी, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा जितेको थियो । त्यसैगरी त्रिपुरासुन्दरी र नेत्रावती डवजोङमा अध्यक्ष र ज्वालामुखीमा उपाध्यक्ष मात्र जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *