काभ्रेमा गोकुलको पकड कायमै, ३५० मध्ये ५६ जनप्रतिनिधिमात्रै नेकपा एसमा – Nepal Press

काभ्रेमा गोकुलको पकड कायमै, ३५० मध्ये ५६ जनप्रतिनिधिमात्रै नेकपा एसमा

काठमाडौं । एमाले विभाजनले काभ्रेमा गोकुल बास्कोटा कमजोर बनेको चर्चा भइरहेका बेला मंगलबार अन्तिम दिनसम्म एमालेबाट निर्वाचित ३५० जनप्रतिनिधिमध्ये ५६ जनालेमात्र नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

यो भनेको करीव १६ प्रतिशत हो । काभ्रेबाट एमालेका प्रतिनिधिसभामा गोकुल बास्कोटा र नविना लामा दुई सांसद छन् । त्यस्तै प्रदेशसभामा लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, चन्द्र लामा र गोमा भुर्तेल छन् ।

प्रतिनिधिसभाका दुवै सांसद एमालेमा छन् भने प्रदेशसभाका लम्साल र हुमागाईले नेकपा एस रोजेका छन् । त्यस्तै स्थानीय तहमा एमालेले १३ मध्ये सातवटा जितेको थियो । तीमध्ये नेकपा एसको पक्षमा मण्डन देउपुरका मेयर टोकबहादुर वाइबा र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ तथा नमोबुद्ध नगरपालिका उपमेयर रामदेवी तामाङले सनाखत गरेका छन् ।

अन्य सबै स्थानीय तहका प्रमुख-उपप्रमुख एमालेमै रहेका छन् । एमालेले ५६ वटा वडा जितेकोमा माओवादी र स्वतन्त्रबाट जितेका समेत थपिदा ५८ जना वडाध्यक्ष छन् । तीमध्ये ११ जना वडाध्यक्ष नेकपा एसको पक्षमा उभिएका छन् भने बाँकी ४७ वडाध्यक्ष एमालेमै रहेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख दुवैजना एमालेमै रहने भएका छन् । बिगतमा माधव नेपाल समूहका रहेकाहरु समेत एमालेमै बस्ने भएपछि बास्कोटालाई कमजोर बनाउने प्रयासमा धक्का लागेको छ ।

काभ्रेमा सबैभन्दा चर्चा मण्डन देउपुर नगरपालिकाको छ । मण्डन गोकुल बास्कोटाको गृहनगरमात्र होइन यहि नगरपालिकाबाट काभ्रे एमालेका मुख्य नेताहरु विभिन्न पदमा पुगेका छन् ।

हाल प्रदेशसभा सदस्य रहेका लक्ष्मण लम्साल पनि यहि नगरपालिका हुन् भने संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, बिदुर सापकोटा पनि यहिँका हुन् । मेयर वाइबासहित गोकुल बाहेक अरु सबै नेता नेकपा एसमा लाग्दा पनि नगरपालिकाका बहुमत जनप्रतिनिधि भने बास्कोटाकै पक्षमा उभिएका छन् ।

मण्डन देउपुरको वडा नम्बर ४ गोकुलको वडा हो । उनको वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधि नेकपा एसमा लागेको भनिए पनि सनाखत गर्ने बेलासम्म एकजना सदस्यले मात्र नेकपा एस रोजेका छन् ।

वडाध्यक्षसहित अन्य तीनजना एमालेमै रहेका छन् । त्यस्तै मेयर टोकबहादुर वाइबाको वडा नम्बर ३ बाट वडाध्यक्षमात्र नेकपा एसमा लागेका छन् भने प्रदेशसभा सदस्य लक्ष्मण लम्सालको वडा नम्बर ७ बाट वडाध्यक्षसहित २ सदस्यले नेकपा एसमा सनाखत गरेका छन् ।

मण्डन देउपुरमा नेकपा एमालेले मेयर र उपमेयरसहित ४३ जनप्रतिनिधि जितेकोमा अब उपमेयर निर्मला शाहीसहित २९ जनप्रतिनिधि एमालेमा रहेका छन् भने १४ जनाले नेकपा एसमा सनाखत गरेका छन् ।

समग्रमा गोकुलको गृहनगरमा २९ सिटसहित एमाले पहिलो दलमै कायम रहेको छ भने कांग्रेस १७ सिटसहित दोस्रो र १४ सिटसहित नेकपा एस तेस्रो दल बनेको छ ।

एमालेबाट निर्वाचितमध्ये खानीखोला गाउँपालिकामा अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुक्मिणी गुरुङसहित एकजना सदस्यले पनि एमाले छाडेनन् । धुलिखेल, पनौति, बनेपा नगरपालिकामा पनि मेयर र उपमेयर एमालेमै रहेका छन् भने भुम्लु गाउँपालिकाका अध्यक्ष पनि एमालेमै बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर