धागो उद्योगीले भने- डेडिकेटेड र ट्रंकलाइनको महसुल तिर्दैनौं – Nepal Press

धागो उद्योगीले भने- डेडिकेटेड र ट्रंकलाइनको महसुल तिर्दैनौं

काठमाडौं । धागो उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने बताएका छन् । मंगलबार नेपाल धागो उत्पादक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरूले प्रयोग नै नगरेको बिजुलीको शुल्क तिर्न नसकिने बताएका हुन् । नेपाल विद्युत प्राधिकरणले भने सबै उद्योगीहरुसँग डेडिकेटेड र ट्रंक लाइनको शुल्क बुझाउन ताकेता गरिरहेको छ ।

धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले प्रयोग नै नगरेको बिजुलीको बिल प्राधिकरणले पठाएकाले तोकिएबमोजिमको महसुल तिर्न नसक्ने बताएका छन् ।

गोल्यानले भने, ‘उद्योगी र व्यवसायीहरूका लागि भन्दै तोकिएको डेडिकेटेड र ट्रंकलाईनको बिजुली कुनै पनि उद्योगीहरुले प्रयोग नगरेको र गरिएको भएपनि महसुल तिरिसकिएका छन् । प्राधिकरणले प्रयोग नै नगरेको बिजुलीको शुल्क तिर्न भन्दै बिल पठाएको छ । प्रयोग नै नगरेको बिजुलीको बिल हामी दिँदैनौं । हामीले प्रयोग नै नगरेको बिजुलीको शुल्क किन तिर्ने ? सरकारले हामीलाई बिनाकाम टर्चर दिइरहेको छ । बिजुली प्रयोग गरेको कुनै प्रमाण विद्युत प्राधिकरणले दिएको खण्डमा भने उद्योगीले बिल तिर्ने छन् । टिओडी मिटरमा उल्लेख भएबमोजिम पैसा तिर्न तयार छौं । तर, भनेबमोजिमको प्रमाण त चाहियो । सरकारले हामीलाई नखाएको विष लगाइरहेको छ ।’

संघका उपाध्यक्ष विष्णु न्यौपानेले पनि उद्योगीले विद्युत प्राधिकरणलाई पैसा दिन बाँकी नरहेको बताए । विद्युत प्राधिकरणले अख्तियारलाई समेत झुट बोलेर उद्योगीहरुसँग पैसा लुट्न खोजेको आरोप लगाए ।

संघका अध्यक्ष पवन गोल्यानको धागो उद्योग रिलायन्स स्पिनिङ मिललाई मात्रै ७३ करोड रुपैयाँ बक्यौताको बिल प्राधिकरणले पठाएको थियो । २०७६ मा दिएको उक्त बिलको हालसम्म ब्याजलगायत अन्य हर्जनासहित २ अर्ब पुगेको संघका अध्यक्ष गोल्यानले बताए ।

बिजुली अभावको बेलामा प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत २४ घन्टा बिजुली लिने उद्योग र व्यवसायलाई थप ६० प्रतिशत थपेर शुल्क लिने व्यवस्था गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर