जापानी राजनीति : वर्तमान उपप्रधानमन्त्री कोउनोलाइ समर्थन गर्न इशिबालाइ आफ्नै गुटको दवाव – Nepal Press

जापानी राजनीति : वर्तमान उपप्रधानमन्त्री कोउनोलाइ समर्थन गर्न इशिबालाइ आफ्नै गुटको दवाव

घोषणा फिर्ता लिने नलिने बारे बैठक बस्दै

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका पूर्वमहासचिव इशिबा शिगेरुलाइ आफ्नो घोषणा फिर्ता लिएर सुगा क्याबिनेटका मंत्री कोउनो तारोउलाइ समर्थन गर्न आफ्नै गुटले दवाब दिएको छ ।

पार्टीको निर्वाचन नजिकिदै गर्दा इशिबाले उम्मेदबारी दिने योजनालाई स्थगित गरी कोउनोलाइ समर्थन गर्नुपर्ने आवाज उठ्न थालेपछि बैठक बसेर निर्णय गर्न लागिएको जापानी संचारमाध्यमले उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री सिन्जो आबेले पूर्वसंचारमन्त्री ताखाइचि सानाएलाइ समर्थन गर्ने घोषणा यस अघिनै गरिसकेका छन् ।

पूर्वमहासचिव इशिबा बलिया दाबेदार मानिन्थे तर इशिबाले कोउनोलाइ समर्थन गरेको खण्डमा आगामी निर्वाचनमा सबैभन्दा बलिया उम्मेदबार कोउनो बन्ने निश्चित प्रायः छ । पूर्वप्रधानमन्त्री आबेले समर्थन गरे पनि ताखाइची नेतृत्वमा आउने सम्भावना अत्यन्तै कमजोर रहेको जापानी संचारमाध्यमले उल्लेख गरेका छन् ।

नयाँ नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका लिबरल पार्टीका महासचिव किशिदा फुमिओले भने आफ्नो घोषणालाइ यथावत राख्दै सबै गुटसँग छलफल गरिरहेका छन् । त्यसैगरी नोदा सेइकोले पनि नेतृत्वमा आफ्नो दावी प्रस्तुत गर्दै उमेद्वारी दर्ताका लागि आबश्यक पर्ने २० जना सांसदहरु जुटाउन छलफल गरिरहेकी छिन ।

जापानमा उम्मेदबारी दर्ता गर्न मात्रै पनि २० जना सांसदहरुको समर्थन आबश्यक पर्दछ । लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठूल ो दल भएकाले पार्टी अध्यक्ष नै प्रधानमन्त्री बन्ने प्रावधान छ । अहिले पार्टी नेतृत्वमा निर्वाचित हुने व्यक्तिनै भावी प्रधानमन्त्री भएकाले लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचनलार्इ विश्वभर चासोका हेरिएको छ ।

वर्तमान प्रधानमन्त्री योशिहिदे सुगाले पार्टीको नेतृत्वका लागि दावी नगर्ने घोषणा गरेपछि जापानको राजनीति एकाएक तातेको छ । लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचन यहि महिनाको २९ तारिख सम्पन्न हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर