चुरे संरक्षणमा हेलचेक्रयाइँ गर्न पाइँदैन : विष्णु पौडेल (भिडिओ) – Nepal Press

चुरे संरक्षणमा हेलचेक्रयाइँ गर्न पाइँदैन : विष्णु पौडेल (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । बुटवलको ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा गएको चुरे पहिरो अवलोकन गर्दै उनले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

‘यसको नियन्त्रण र बस्ती सुरक्षा कसरी गर्न सकिन्छ । आवश्यक बजेट र प्रविधि तथा जनशक्ति परिचालनका लागि सरकारले हेलचक्राई गर्न पाउँदैन । म त्यसको पहल गर्छु । सदनमा यो महत्वपूर्ण विषयको रूपमा उठाउँनेछु ।’ उनले भने ।

पहिरोबाट नागरिकमा ठूलो पीडा भएको बताउँदै उनले सामूहिक प्रयासबाट यसको मुक्ति पाउने र त्यसका लागि स्थानिय, प्रदेश र संघ सरकारले महत्वपुर्ण कदम चाल्नुपर्ने बताए । उनले स्थानीय तहलाई पहिरोबाट पीडितहरुलाई आवश्यक राहतको प्रबन्ध गर्न समेत आग्रह गरे ।

नेता पौडेलसँगै पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि आएका छन् ।

सो क्षेत्रमा भदौ १३ र १४ गते आएको बर्षाका कारण पहिरो गएको थियो । चुरे क्षेत्रबाट आएको पहिरोले १० घरमा क्षति पुर्‍याउनका साथै ६० भन्दा बढी घरमा लेदोसहितको पहिरो पसेको थियो ।

२०५५ सालमा पहिरोपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रमा बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकाल्दै तत्कालीन बुटवल नगरपालिकालाई सुझाव दिएपनि कार्यान्वयन नगर्दा २३ बर्ष पछि बुटवलमा चुरे पहिरो झरेको हो ।

चुरे तिनाउ बहुउद्देश्य विकास मञ्चका संयोजक कमल गौतमले पहिरो कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको बताए । ‘वाल उठाएर रोक्न सकिन्छ या बस्तीलाई अन्यत्र सार्ने, यसबारे छलफल भइरहेको छ ’, उनले भने ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले अहिले पहिरो गएको क्षेत्रमा हिलो निकाल्ने काम भइरहेको र पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे कार्यक्रममार्फत समन्वय भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर