संखुवासभा हत्याकाण्डः परिवारका ६ जना मारिएको थाहै पाएनन् ९० वर्षीय वृद्धले – Nepal Press

संखुवासभा हत्याकाण्डः परिवारका ६ जना मारिएको थाहै पाएनन् ९० वर्षीय वृद्धले

काठमाडौं । ९० वर्षीय बौद्धमान कार्की न राम्ररी कान सुन्छन्, न आँखा देख्छन् । बिरामी र वृद्धावस्थाले ओछ्यानमा थला परेका यी वयोवृद्धले अब आफ्नो बाँकी जीवन एक्लै काट्नुपर्ने छ ।

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या गरिँदा बौद्धमान मात्रै जिवित रहे । उनी भाग्यले बाँचेका हुन् वा हत्याराले उनलाई छोडिदिएका हुन् भन्ने प्रहरी अनुसन्धानबाट खुल्नेछ । प्रारम्भिक बयानमा उनले आफूले केही थाहा नपाएको बताएका छन् । हत्याकाण्ड हुँदा उनी घरमै थिए ।

हत्याराहरूले ७ वर्षकी बालिकादेखि ८४ वर्षकी वृद्धासम्मलाई छोडेनन् । बौद्धमानकी पत्नी ८४ वर्षिया पार्वती कार्की र उनीहरुकी ७ वर्षिया नातिनी गोमा कार्कीको हत्या भएको छ । अन्य मृतकहरूमा ५२ बर्षीय तेजबहादुर कार्की र श्रीमती ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की र ११ बर्षिय दिपेन कार्की रहेका छन् ।

तेजको दुई छोरा विदेशमा छन् । जेठो छोरा रमेश मलेसियामा छन् भने कान्छो नरेश दुबईमा छन् । रमेशको श्रीमती रञ्जना र छोराछोरी  गाेमा र  दिपेनकै हत्या भएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार यो हत्याकाण्ड निकै रहस्यमय देखिएको छ । घटना कहिले र कतिबेला भएको हो भन्ने पनि एकिन हुन सकेको छैन । छिमेकीहरुले आज बिहान ९ बजेमात्रै थाहा पाएका थिए । ६ जनाको शव यततत्र छरिएको अवस्थामा भेटिएको छ ।

घटनास्थलको प्रकृति हेर्दा राति गराइएको जस्तो नदेखिएको मादी नगरपालिका १ का वडाअध्यक्ष खेमनाथ कटुवालले नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘शवको प्रकृति तथा लुगा–जुत्ताहरूको अवस्था हेर्दा राति भएको देखिदैन । लखेटेर हत्या गरिएकोजस्तो देखिन्छ ।’

घटनाको विषयमा छिमेकीले वडाध्यक्षलाई र वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

६ जनामध्ये ४ जनाको शव छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो । ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव घर छेउको खोल्सामा भेटिएको छ भने छोरा तेजकुमार कार्कीको शव सडकमा भेटिएको छ । २ जना नातिनातिनी दिपेन र गोमाको शव घरमाथि खरबारीमा भेटिएको छ । ८४ वर्षीया पार्वतीको शव घरभित्रै थियो ।

दुई सय मिटर घर भएका छिमेकीहरुले पनि घटनाबारे केही थाहा नपाएको बताएका छन् । वृद्धले कसैसँग आफूहरूको कुनै रिसइबी नभएको बताएका छन् । वडाध्यक्ष कटुवालले पनि सो परिवारको कसैसँग झगडा भएको आफूले थाहा नपाएको बताए । कटुवालका अनुसार उनीहरु खेतिकिसानी गर्ने सामान्य परिवार हुन् ।

घटनाको छानविनका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी उच्च अधिकारीको टोली पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


प्रतिक्रिया

One thought on “संखुवासभा हत्याकाण्डः परिवारका ६ जना मारिएको थाहै पाएनन् ९० वर्षीय वृद्धले

  1. हत्यारालाई पत्ता लगाई कडा कारबाही गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर