जंगी अड्डाले गर्यो प्रधानसेनापति थापाको बिदाइ (तस्बिरहरू) – Nepal Press

जंगी अड्डाले गर्यो प्रधानसेनापति थापाको बिदाइ (तस्बिरहरू)

काठमाडौं । यही भदौ २४ देखि अनिवार्य अवकाशमा जान लागेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको जंगी अड्डाले औपचारिक रूपमा बिदाइ गरेको छ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मालगायत सेनाको उच्च अधिकारीको उपस्थितिमा आइतबार नेपाली सेनाले प्रधानसेनापति थापाको बिदाइ गरेको हो ।

प्रधानसेनापति थापाले ४२ वर्ष लामो सैनिक जीवनको दौरान सेनाको सर्वोच्च पदमा पुगेर संस्थाको श्रीवृद्धि गर्न अतुलनीय योगदान पुर्याएको रक्षा सचिव पौड्यालले बताए । आगामी दिनमा रक्षा मन्त्रालय र नेपाली सेनाबिच साझा लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सहकार्य हुने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रधानसेनापति थापाको तीन वर्षे कार्यकालमा नेपाली सेनामा साङ्गठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा परिवर्तन आएको कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्माले बताए । २४ भदौदेखि नेपाली सेनाको नेतृत्व सम्हाल्ने शर्माले थापाले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको पनि उल्लेख गरे ।

पद्धति र प्रणालीलाई आत्मसात् गर्ने आधारभूत चरित्र निर्माणले नेपाली सेना आधुनिक र व्यावसायिक सेनाको रूपमा कायम हुने प्रधानसेनापति थापाले विश्वास व्यक्त गरे । प्रधानसेनापति थापाले कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *