पश्चिम नवलपरासी कांग्रेसमा किचलोः उम्मेदवारले माइन्युट च्याते, विजयी उम्मेदवारविरुद्ध उजुरी – Nepal Press

पश्चिम नवलपरासी कांग्रेसमा किचलोः उम्मेदवारले माइन्युट च्याते, विजयी उम्मेदवारविरुद्ध उजुरी

रुपन्देही । गुट विवादका कारण भदौ १८ गते सम्पन्न नेपाली कांग्रेस पश्चिमनवलपरासीका सबै वडा अधिवेशनको परिणाम सार्वजनिक हुन सकेको छैन ।

जिल्लामा प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालको दुई समूह बनेको छ । कँडेल देउवा समूहमा छन् भने खनाल पौडेल समूहमा छन् ।

सदस्यता तथा केही सामान्य विवाद दुवै समूहमा इगोका रुपमा बढेपछि कतै माइन्युट च्यातिका छन् भने कतै सार्वजनिक भएका परिणामप्रति असहमति जनाउँदै उजुरी परेका छन् ।

१८ गते हुन नसकेका केही वडामा आइतबार चुनाव भएको छ । जिल्लामा यसैबीच रामग्राम नगरपालिका–११ मा भएको अधिवेशनमा पराजित भएपछि निर्वाचनको माइन्युट च्यातिएको छ । सो वडामा सबै सभापतिबाहेक पदमा सहमति भएको थियो ।

वडा सभापतिका लागि मात्र भएको निर्वाचनमा पराजित उमेदवार श्रीकान्त कलवारले माइन्युट च्यातेका हुन् । मतगणना सकिएर घोषणा गर्न जाने क्रममा पराजित उम्मेदवारका व्यक्तिहरु एक्कासी आवेगमा आएर हातमा बोकेको माइन्युट च्यातेको मतदान अधिकृत धु्रव आचार्यले बताए ।

सभापतिका उम्मेदवार भवानी शंकर चौधरीले १८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी श्रीकान्त कलवारको १६ मत आएको छ ।

चौधरी खनाल गुटका हुन् भने कलवार कँडेल गुटका हुन् । मत परीणामबारे जिल्लाको निर्वाचन समितिमा जानकारी दिएको आचार्यले बताए ।

सुस्ता गाउँपालिका– ५ को अधिवेशनमा मनोनयन पत्र दर्ता नगरी निर्वाचन परिमाण घोषणा गरेको भन्दै पार्टी जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनमा विजयी भएका उमेदवारलाई निर्वाचन समितिले प्रमाणपत्र समेत दिइ सकेपछि उजुरी परेको हो ।

दुवै गुटले निर्वाचनमा जाने सहमति गरेपछि चुनाव भएको थियो । विजयी हुने सबै खनालक गुटका हुन् । तर कँडेल गुटका कार्यकर्ताले प्रकृया पूरा नगरी निर्वाचन गराएको भन्दै उजुरी दिएपछि चुनावबारे अन्योल उत्पन्न भएको छ ।

२५ जना क्षेत्रीय प्रतिनिधिमध्ये आरक्षण र केही समानुमातिकका गरी १० क्षेत्रीय प्रतिनिधिमा दुई गुटले सहमति गरेपछि निर्विरोध भएको थियो । वडा सभापति र अन्य १५ जना क्षेत्रीय प्रतिनिधिबीच सहमति नजुटेपछि चुनाव भएको हो ।

दुई गुटको विवादका कारण सुरुको दिन निर्वाचन हुन सकेको थिएन । भोलिपल्ट भएको चुनावमा दुवै पक्षका उम्मेदवारले ढिला भएका कारण मनोनयनपत्र पछि बुझाउने सहमतिमा चुनाव गराएको मतदान अधिकृत अर्जुन पाण्डेले बताए ।

निर्वाचनमा २ सय ७१ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर