नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओ बैठक बस्दै, महामारी र खोप आपूर्तिबारे छलफल हुने – Nepal Press

नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओ बैठक बस्दै, महामारी र खोप आपूर्तिबारे छलफल हुने

काठमाडौं । नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए ।

११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए ।

यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोभिडसहित नसर्ने र मानसिक रोगबारे समेत छलफल हुने बताए ।

दक्षिणपूर्वी एसियाका ११ देशमा कोभिडको खोपको आपूर्तिको अवस्थाबारे पनि छलफल हुने जानकारी उनले गराए ।

विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश पाण्डवले वार्षिक बेठकमा महामारीको अवस्थामा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक योजनाबारे छलफल हुने जनाए ।

भदौ २१ देखि २५ सम्म हुने छलफललाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस लगायतका पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । सत्र चल्ने चारैदिनमा दक्षिणपूर्वी एसियाका स्वास्थ्यमन्त्री समेत सहभागि हुने सो अवसरमा जानकारी दिइयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर