राजनीतिक हस्तक्षेपको विरोध गर्दै सिम्खडाले भने- एनआरएनएलाई साझा बनाऔं – Nepal Press

राजनीतिक हस्तक्षेपको विरोध गर्दै सिम्खडाले भने- एनआरएनएलाई साझा बनाऔं

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् ।

एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार साँझ गरेको बहस कार्यक्रममा सिम्खडाले पार्टीगत राजनीति गर्नेहरूका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्नेमा उनको जोड थियो ।

एनआरएनएमा पार्टीनिकट उम्मेदवारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु दुखःद भएको बताए । ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने ।

पछिल्लो समय एनआरएनएमा चुनाव जित्नकै लागि जस्तोसुकै कदम चाल्ने प्रवृत्ति बढेको भन्दै सिम्खडाले भने,‘केन्द्रीय नेतृत्वमा धनी र सम्भ्रान्तहरूको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हुँ । ’ सिम्खडा अध्यक्षका उम्मेदवार बद्री केसीसँगनिकट हुन् ।

‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारसँग सहकार्य गर्न तयार भएको हु्,’ उनले भने ।

पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरे पनि अझै धेरै गर्न बाँकी रहेको भन्दै उनले आफ्नो उम्मेदवारीको औचित्य प्रष्ट्याए । सिम्खडा हाल एनआरएनएका केन्द्रीय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर