कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डल ! (नालीबेली) – Nepal Press

कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डल ! (नालीबेली)

मन्त्रीमाथि नैतिक पतनको आरोप लाग्दा कर्णाली सरकार मौन

सुर्खेत । कर्णाली प्रदेश सरकारका कृषिमन्त्री मन्त्री कुर्मराज शाही नैतिक पतनसम्बन्धी गम्भीर विवादमा मुछिएका छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको निकै दिन भयो ।

मन्त्री शाहीले नेपाल प्रेससँगको कुराकानीमा यो घटना दुई वर्ष पुरानो भन्दै पन्छाउने प्रयास गरेका छन् । उनीसँगको कुराकानी अडियोसहित तल प्रस्तुत गरिनेछ । साथै, उनकै सचिवालयका एक व्यक्तिले मन्त्री र ती महिला पहिले एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् । उनीसँगको कुराकानी पनि अडियोसहित तल समावेश गरिएको छ ।

त्योभन्दा पहिला भिडियोको चर्चा गरौं, जसलाई दुई दिनअघि पत्रकार सम्मेलनमा मन्त्री शाहीले ‘अर्धसत्य’ भनेका छन् । भिडियोमा सुरुमा देखिएको व्यक्ति आफू भए पनि त्यसपछिको दृष्य भने ‘फेक’ भएको मन्त्री शाहीको दावी छ ।

बलत्कार कि राजीखुशी ?

करिब सात मिनेट लामो भिडियो पिडित भनिएकी युवतीले नै आफ्नो मोबाइलबाट रेकर्ड गरेको स्पष्ट देखिन्छ । पछाडिबाट खिचिएकाले युवतीको अनुहार स्पष्ट देखिएको छैन ।

हेर्दा भलादमी देखिने एक प्रौढ पुरुष वत्ती बालिएको कोठाभित्र प्रवेश गर्छन् र सरासर आएर वत्तीको स्वीच बन्द गर्छन् । त्यसपछि भने उनको भलादमीपन गायब हुन्छ ।

वत्ती निभाएपछि दुवैको कालो छायाँ मात्रै देखिएको छ । युवतीसामु बस्छन् र केही फुस्फुसाउँछन् । युवतीले ‘उहुँ… उहुँ…’ गर्दै केही भनेको सुनिन्छ, तर बुझिँदैन ।

अनि तत्क्षण पुरुषले युवतीलाई वलपूर्वक ओछ्याएनमा सुताउँछन् र क्रिडा सुरु गरिहाल्छन् । युवतीले ‘नाई..’ ‘नाई…’ भनेको सुनिन्छ । यद्यपि यो प्राविधिक असहमतिजस्तो मात्रै प्रतित हुन्छ । उनले पुरुषको पञ्जाबाट फुत्किन खासै प्रयास गरेकी छैनन् । उनको आवाजलाई चिच्याहटभन्दा पनि ‘गुन्गुनाहट’ मान्न सकिन्छ ।

क्षणिक संसर्गपछि पुरुष उठेर फ्रेमबाट बाहिर निस्किन्छन् । तुरुन्तै फेरि भित्र आउँछन् र दोस्रो चरणको संसर्गमा लिप्त हुन्छन् । युवतीले दोस्रोपटक पनि पहिलेझैं प्राविधिक असहमति मात्रै जनाएकी छन् । दोस्रो संसर्गपछि पुरुष फेरि फ्रेमबाट निस्किन्छन् । युवती एकछिन सुस्ताएपछि आफ्नो कपडा सर्‍याउँछिन् र क्यामरा बन्द गर्छिन् ।

भिडियो हेर्दा यो क्रियाकलापलाई ‘बलत्कार’ ठहर्याउन सकिँदैन । युवतीले पहिल्यै भिडियो रेकर्डका लागि मोबाइललाई तयारी अवस्थामा राख्नु तथा गम्भीर प्रतिकार गर्न नखोज्नुले यो एउटा योजनावद्ध प्रकरण जस्तो देखिन्छ । झ्यालबाट प्रकाश छिरिरहेको हुँदा यो हर्कत दिँउसै भएको हुन सक्छ ।

मन्त्री शाहीसँग पत्रकारकाे सवालजवाफ

राजीनामाको दवाव बढेपछि मन्त्री शाहीले बुधबार पत्रकार सम्मेलन गरी यस सम्वन्धमा स्पष्टीकरण दिएका थिए । उनले सार्वजनिक भिडियोमा पहिले देखिएको व्यक्ति आफू भएको स्वीकारे, तर त्यसपछिको दृष्य ‘फेक’ भएको दावी गरे । यो भिडियो बनाउनमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको हात रहेको उनले आरोप लगाए ।

‘यदि मैले अपराध गरेको थिएँ भने अपराधकै विषयलाई अगाडि बढाउनुपर्थ्याे । राजनीतिकरण गर्नुपर्ने आवश्यकता थिएन । यामलाल कँडेलको नेतृत्वमा जुलुस निस्केको छ । अपराध हेर्ने त अदालतले होला नि ? प्रशासनले होला नि ?’ मन्त्री शाहीले भने ।

उनले थपे, ‘अदालतमा केस गएको र सरकारको प्रभावमा दर्ता गर्न नमानेको हकमा ‘प्रेसर’ दिन सकिन्छ । त्यो प्रेसर पनि नागरिक समाजले दिनुपर्ने हो, राजनीतिक पार्टीले होइन । सिधै मलाई अपदस्थ गर्नुपर्‍याे भनेर आएका छन् । के आधारमा अपदस्थ गर्ने ? पत्रकारले पनि विवेक गुमाए । मसित केको रिसइबी हो ?’

भिडियोका विषयमा जिज्ञासा राख्दा शाहीले यस्तो जवाफ दिएका थिएः

‘मैले त हिजो मात्रै हेर्न पाएँ । त्यो भिडियो कहाँ बनेको हो विश्लेषण गर्नुस । भिडियोको छेउमा के लेखेको छ ? काइनमास्टर लेखेको छ । भारतमा उत्पादन भएको रहेछ यो एप । फरेन्सिक ल्याबमा टेस्ट गरौं न त । फरेन्सीक ल्याबमा टेस्ट नगरी बाहिर निकाल्ने अधिकार कसैलाई छ ? ल्याबबाट प्रुफ भएको हो ? साइबर स्यालहरुको काम यही हुन्छ ।’

‘कोे पिडित हो भन्ने नै थाहा छैन । पिडित भनेर कोही आएको पनि छैन । (सम्वन्धित व्यक्तिले) नै पत्रकार सम्मेलन गरेर हामी पिडित नै होइन भनेको छ । मेरो नाम किन जोडियो भनेर आँखाबाट आँशु झारिरहेको छ । अरुको आँशुमाथि होली खेल्न प्रयास किन हुन्छ ? बलत्कार भयो भन्दैमा हुँदैन । प्रमाण चाहिन्छ । जुन कुरा ल्याबमा टेस्ट हुँदैन, त्यसको परिणाम आउँदैन । त्यो फेक भिडियो हो । त्यसको ल्याबमा टेस्ट गरौं । मेरो त्रुटी छ भने कसैले नालिस हाल्नु पर्दैन, म आफैं अदालतमा उपस्थित हुन्छु ।’

‘यदि तपाईंको चरित्रहत्या भएको हो भने कानूनी कारवाहीमा जानुहुन्छ त ?’ पत्रकारले सोधे ।

शाहीः जान्छु नि । मलाई सबै थाहा छ । कानूनका ढोकाहरु कहाँ हुन्छन् भन्ने जानकार छु ।’

पत्रकारः यस्तो आक्षेप लागेपछि अनुसन्धानमा सहयोग गर्छु भनेर राजीनामा पो दिनुहुन्छ कि ?’

शाहीः स्याल करायो भन्दैमा बाख्रा हराउँदैन । प्रमाणसहित पेश गरे राजीनामा दिने हो । नत्र कसैको अभिष्ट पुरा गर्न किन राजीनामा दिने ?

पत्रकारः तर, यस्तो गम्भीर विषय आइसकेपछि राजीनामा दिनु राम्रो होइन ?

शाहीः गम्भीर कसले भनेको छ ? पत्रकारले भनेको छ । मैले भनेँ नि, ल्याब टेस्ट गर्नुस राजीनामा दिइहाल्छु ।

पत्रकारः भिडियोमा देखिएको व्यक्ति तपाईं होइन त ?

शाहीः फर्स्टमा देखिएको व्यक्ति म हो । मैले भनेँ नि.. त्यसपछिको त काइम मास्टरलाई सोध्नुस । एप्स हेर्नुस्, थाहा भइहाल्छ नि । आरोप लगाएको व्यक्तिले नै म होइन भनेपछि पुगेन ? अवोध महिलालाई जबरजस्त ढंगले पिडित बनाउँदैछन् । (भिडियोमा) सुरुमा त उहाँ देखिनुभएको छ । त्यसपछि दोस्रोमा कसलाई देख्नुहुन्छ ? त्यहाँ त स्वीच अफ गरिएको छ । झ्यालबाट प्रकाश आइरहेको छ । प्रकाश आउँदा पछाडि मान्छेको अनुहार देखिँदैन ? देखिनुपर्छ । ल ठीक छ । शीशा उ भाको छ । तर प्रकाशले मान्छेको फेस उ गर्दैन र ?

फ्लोर क्रस गरेको दिनदेखि मेरा सत्रुहरु बढेका छन् । म कसैको नाम तोक्दिनँ । तर, समाचार आएको आठ मिनेटपछि नै यामलाल कँडेलको विज्ञप्ति कसरी आयो ?

पत्रकारः भनेपछि यामलाल कँडेलले भिडियो बनाउन लगाएको तपाईंको आशंका हो ?

उहाँ जुलुस लिएर आउनुहुन्छ त कसलाई भन्ने ? पिडित भनिएकाेले त होइन भनिसकेपछि प्रमुख पात्र नै उहाँ हो भन्ने प्रुफ भइगो नि । ८ मिनेटपछि तुरुन्त बर्खास्त गर्नुपर्यो भनेर कसरी विज्ञप्ति आउँछ ? यो सुनियोजित हमला होइन ?

युवतीको भनाइः म बलात्कृत होइन

गत ६ भदौमा एक राष्ट्रिय अखबारमा भिडियोसम्वन्धी समाचार प्रकाशित भयो । समाचारमा युवतीको नाम उल्लेख नगरी मन्त्रीका एक पूर्वस्वकीयकी श्रीमती भनिएको थियो ।

समाचार प्रकाशित भएपश्चात कालिकोट शुभकालिका गाउँपालिका ८ कि मिमसरा महताराले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिइन् ।

उनले फेसबुकमा लेखेकी थिइन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ, यो सरासरी गलत हो र मेरो व्यक्तिगत जीवनमा कसैले चरित्रहत्या गर्छ भने म उसैको नामबाट चिठी लेखेर मर्छु र सोही मिडिया जवाफदेही हुनेछ ।’

तर, पनि विवाद नथामिएपछि उनले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरिन् । उक्त पत्रकार सम्मेलनमा उनी आफ्नो ९ महिने बच्चा र श्रीमान अम्मराज सेजुवालसहित उपस्थित भएकी थिइन् । महताराले आफू बलात्कृत नभएको पटक-पटक दोहोर्‍याइन् ।’

बच्चाको टाउकोमा हात राख्दै उनले भनिन्, ‘मेरो छोरीको कसम, म बलात्कृत भएकै छैन । मलाई नखाएको विषय लागेको छ । ममाथि कुनै अन्याय पनि भएको छैन । केको लागि आन्दोलन गरेका हुन् ? म पिडित भएको मलाई नै थाहा छैन । मेरो इज्जतमा राजनीति छिराएका छन् ।’

सामाजिक सञ्जाल र मिडियाले आफ्नो इज्जतमा दाग लगाइदिन खोजेको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

‘मेरो जिन्दगीमा केही तलमाथि भए भने यी मिडिया दोषि हुन्छन् । सामाजिक सञ्जालका कारण मैले ठाडो शिर गरेर हिँड्न सकेको छैन । म एक शिक्षित महिला हुँ । अन्यायमा परेको भए कानूनको ढोका ढक्ढक्याउन जान्थेँ । सामाजिक सञ्जाल र पत्रकारले जबरजस्ती मेरो बलात्कार गराउँदैछन् ।’

उनले यस घटनामा आफ्ना श्रीमानबाट दरिलो साथ पाएको बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनका श्रीमान अम्मराज सेजुवालले मन्त्री र आफ्नी पत्नीबीच बाबुछोरीको जस्तो सम्वन्ध रहेको दावी गरे ।

उनले भने, ‘त्यस्तो भएको भए हामी न्याय माग्न अदालत जान्थ्यौं । तर केही भएकै छैन । ज्यान मार्ने धम्की आएपछि हामी जिप्रका गएको हो, बलात्कारको केसमा मुद्दा हाल्न गएको होइन । मैले न्यायका लागि संघर्ष गरौं भनेर कसैलाई भनेको छैन । यसलाई राजनीतिक इस्यू बनाइएको छ । बाबुछोरीको सम्वन्ध थियो माननीयज्यूसँग । एउटा महिलाको इज्जतलाई लिएर राजनीति नगरिदिनुस । म विन्ती गर्छु ।’

उनले भाइरल भएकाे भिडियो फेक भएको दावी गरे । बाबुछोरीको भन्दा अर्को अनैतिक सम्वन्ध नरहेको उनले बताए ।

भिडियोमा देखिएको महिला तपाईंको श्रीमती हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले केही लट्पटिए ।

सेजुवालले भने, ‘भिडियोमा मेरो श्रीमतीको अनुहार पनि देखिएको छ, मन्त्रीज्यूको अनुहार पनि देखिएको छ, तर यो भिडियो पुरै इडिटिङ हो । किनभने स्वयम् उसैले (श्रीमती) भनेको छ, उसले मलाई झूटो बोल्न सक्दैन । उसले भएको सबै कुरा मलाई भन्छ । त्यस्तो भएको भए मलाई भन्थ्यो ।’

अम्मराज सेजुवाल उर्फ आयुषलाई शाहीले सांसद भएपछि स्वकीय सचिव नियुक्त गरेका थिए । त्यसयता सेजुवालले विभिन्न आयोजनाबाट ठूलो रकम उठाउने गरेको भन्दै आलोचनासमेत भइरहेको थियो । मन्त्री भएपछि शाहीले उनलाई सचिवालयमा राखेनन् ।

मन्त्रीका सहयोगीको यस्तो खुलासा

मन्त्री शाहीको भिडियो लिक भइसकेपछि कर्णालीका एक पत्रकारले उनको प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गरे । फोन उठाए मन्त्रीका सहयोगी नन्दकेश अधिकारीले । उनी हाल मन्त्री शाहीको सूचना प्रविधि सहायक पदमा छन् । मन्त्रीको रुपमा सपथ खाएको डेढ महिनापछि उनले सूचना प्रविधि हेर्ने गरी नन्दकेशलाई नियुक्ति दिएका थिए ।

पत्रकारसँगको कुराकानीमा अधिकारीले विगतमा शाही र युवती एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् । भिडियोका सम्वन्धमा उनले भनेका कुराहरु यस्ता छन्, जुन अडियोमा पनि सुन्न सक्नुहुन्छः

‘म उहाँ मन्त्रीज्यू भइसकेपछि सचिवालयमा गएको हो । चार महिना भयो । यो कुरा बाहिर आएको थिएन । तीन दिनअगाडि मात्रै मैले जानकारी पाएको हुँ ।

यसको बारेमा के हो भनेर बुझ्न मैले मन्त्रीज्यू र अर्को पक्षसँग कुराकानी गरेको थिएँ । कुरा बुझ्दाखेरि करिब दुई वर्ष अगाडीदेखि उहाँहरु (शाही र युवती) एउटै रुममा बस्नुहुने रहेछ । त्यसबेला उहाँ (हाल स्वकीयकी पत्नी) अविवाहित नै हुनुहुन्थ्यो । त्यहाँ अध्ययन गर्न बस्नुभएको रहेछ । अम्मले पछि विवाह गरेको हो ।

बिहेपछि मन्त्रीज्यूले उनीहरुलाई अलग्गै बस्न भन्नुभएको रहेछ । तर, उसले नै तपाईंहरु बाबुछोरीजस्तै हो, मलाई चिन्ता छैन भनेर मन्त्रीज्यूकोमा नै छोडेको रहेछ । पछि मन्त्रीज्यूसँग असन्तुष्ट भएर आफूले नै भिडियो बनाउन लगाएको उसले मसित बताएको छ । पछिसम्म यो मान्छे मन्त्री वा सांसद भइरहन सक्ने भएकाले मन्त्रीलाई बारम्बार त्रसित बनाएर लाभ लिने उद्देश्य राखेको हो ।

अम्मले विगत दुई वर्षदेखि बारम्बार मसँग यो छ उ छ भनेर भनेर ब्ल्याकमेल गरिरहेको रहेछ । अहिलेसम्म सेजुवालले सांसदले बाँड्ने गरेको योजनाबाट दुई आर्थिक वर्षमा धेरै लाभ लिएको देखिन्छ । बार्गेनिङ्ग गरेर दुई वर्षको अवधीमा साढे दुइ करोडको योजना उसले बाँडेको रहेछ ।

संसद विकास कोष भन्ने हुने रहेछ, मलाई जानकारी थिएन । उसले १० जिल्लाका १४७ योजना लिएर आएको थियो । रातो किताब पनि निस्किसकेको थियो । मन्त्रीज्यूलाई डेढ करोड आफूले बाँड्न पाउनुपर्ने माग गरेको रहेछ । नत्र बेइज्जत गरिदिन्छु पनि भनेको रहेछ । मन्त्रीले प्रमाण भए बाहिर ल्या न त भनेर भन्नु भएछ । मन्त्रीज्यू चार-पाँच दिन तनावमा पनि पर्नुभएछ ।

अपराध गरेपछि तत्काल बाहिर आउनुपर्थ्याे भनेर मैले भनेको हो । के कारणले बाहिर आउन नसकेको हो भनेर बुझ्दा बीचमा त्यस्तो डिजाइन गरेर उसले फसाएको रहेछ । उ सचिवालयबाट बाहिर भएको चार महिना मात्रै भयोे । विगतका योजनामा हालीमुहाली गरेको, उपभोक्तालाई त्रसित बनाएको भन्दै मन्त्रीले उसलाई व्याक गराउन खोज्नुभएको रहेछ । यसले मन्त्रीज्यूको राजनीति नै समस्यामा पार्ने भयो ।’

दुई वर्ष पुरानो घटना होः मन्त्री शाही

भिडियो प्रकरण बाहिर आइसकेपछि नेपाल प्रेसले मन्त्री शाहीसँग यस विषयमा जिज्ञासा राखेको थियो । हामीसँगको कुराकानीमा मन्त्री शाहीले भिडियो फेक भनेका छैनन् । बरु यो घटना दुई वर्ष पुरानो भन्दै अहिले आएर विवादमा ल्याइएकोमा असन्तुष्टि जनाएका छन् । साथै, सजुवालले आफूसँग पाँच करोडभन्दा बढी रकमको माग गरेकोमा आफूले नदिएपछि समाचार छपाएको उनको आरोप थियो ।

बलात्कार आरोपबारे मन्त्री शाहीले भनेका छन्, ‘यो झुटा कुरा हो । दुई वर्षअघिको भिडियो हो नि त्यो त । दुई वर्षपछि आएर किन उठाइँदैछ ? मैले पाँच करोडको योजना नदिएका कारण उसले मेरो बेइज्जत गराउन यस्तो हतकण्डा अपनाएको हो ।’

सेजुवालले आफ्नो नाम बेचेर कहाँ–कहाँबाट कति पैसा उठाए भन्ने विवरण पनि शाहीले सुनाए ।

प्रहरीमा पुगेका थिए सेजुवाल दम्पत्ति, अहिले मेलमिलाप

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार सेजुवाल दम्पत्ति गत भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । सेजुवालले प्रहरीलाई भिडियोसमेत देखाएर मन्त्रीविरुद्ध बलात्कारको उजुरी गर्ने प्रयास गरेका थिए ।

‘हामीले पनि भिडियो हेरेका हौं, तर भिडियोको हदम्याद गुज्रिसकेको हुँदा बलात्कार आरापमा मुद्दा चल्न सक्ने देखिएन । उनीहरुलाई वकिलहरुसँग सल्लाह गरेर आउन भनेका थियौं । उनीहरुले जाहेरी लिएर भोलि आउँछौं भनेका थिए, तर अहिलेसम्म आएका छैनन्,’ घर्तीले भने ।

घटनाक्रम हेर्दा यो भिडियो सेजुवालबाटै सामाजिक सञ्जालमा लिक गरिएको हुनसक्ने आधारहरु देखिन्छन् । भिडियोको समाचार मिडियामा आइसकेपछि अचानक दुई पक्षबीच मेलमिलाप भएको छ । मन्त्रीले आर्थिक लेनदेन वा अन्य तरिकाले सजुवाल दम्पत्तिलाई समझदारीमा ल्याएको आशंकासमेत गरिएको छ ।

अहिले उनीहरु एक-अर्काविरुद्ध बोल्न चाहँदैनन् । युवती स्वयम् मन्त्रीको बचाउन अघि सरेकी छन् । मन्त्री शाहीलाई फसाउने नियतका साथ भिडियो बनाएको र त्यसका आधारमा ब्ल्याकमेलिङ गर्दै करोडौं असुल गरिएको हो भने सेजुवाल र उनकी पत्नी पनि कानून कारवाहीका भागीदार बन्न सक्छन् । यो पनि अनुसन्धानको एउटा पाटो नै हो ।

राजनीतिकरण प्रयास

मन्त्री शाहीले यस घटनालाई राजनीतिकरण गर्ने भरमग्दुर प्रयास गरिरहेका छन् । आफूप्रति राजनीतिक पूर्वाग्रह राखेर एमाले संसदीय दलका नेता यामलाल कँडेलले नै यो ग्राण्डडिजाइन रचेको उनको आरोप छ ।

कालिकोट जिल्लाबाट नेकपा एमालेको उम्मेदवार बनेर प्रदेश सभामा निर्वाचित सांसद शाहीले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारका पक्षमा मतदान गरेका थिए । गत वैशाख ३ गते फ्लोर क्रस गरेका उनलाई मुख्यमन्त्री शाहीले ४ गते नै मन्त्री नियुक्त गरेर पुरस्कृत गरे । त्यसयता कर्णालीको राजनीतिमा धेरै पानी बगिसकेको छ ।

अहिले एमालेबाट फुटेर एकीकृत समाजवादी पार्टी निर्माण भएको छ । फ्लोर क्रस गर्ने एमालेका चार जनाको सांसदले आफ्नो पद गुमाएका छन् । उनीहरुमध्ये तीन जनाले नयाँ दल एकीकृत समाजवादी रोजेका छन् । कर्णालीमा एकल सरकार बनाउने हैसियत रहेको एमाले अहिले १३ सदस्यमा सीमित छ ।

यस पृष्ठभूमिमा माओवादीको सरकार जोगाउन भूमिका खेल्ने शाहीको चालचलनमाथि गम्भीर प्रश्न उठ्दा त्यो एमालेका लागि मसला हुने नै भयो । एमालेले उनको राजीनामा माग्दै विज्ञप्ति निकाल्ने तथा सडकबाट दवाव दिने काम गरिरहेको छ ।

विपक्षीबाट तीव्र दवाव आइरहे पनि कर्णाली सरकारले भने अहिलेसम्म कुनै सुनवाइ गरेको छैन । मुख्यमन्त्रीबाट मन्त्री शाहीलाई स्पष्टीकरणसम्म सोधिएको छैन । सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीले आफूपक्षीय केही मिडियालाई आरोप पुष्टि नभएसम्म केहि नगर्ने बताएकी थिइन् । मिडियामा आएका कुराको आधारमा आफुहरुले काम गर्न नसक्ने उनको प्रतिक्रिया थियो ।

यस विषयमा अनुसन्धानका लागि एमालेले मात्र नभएर सामाजिक सञ्जालबाट पनि सरकारलाई दवाव परिरहेको छ । भिडियो हेरेका अधिकांशले मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका छन् । कतिपयले मन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारलाई आग्रह गरेका छन् ।

यसअघि मुख्यमन्त्री शाहीले बैंकिङ कसुरमा आरोपित भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीलाई गत वर्ष साउन ३१ मा पदबाट बर्खास्त गरेका थिए । एमालेबाट निर्वाचित पूर्वमन्त्री खत्रीलाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले तीन दिनभित्र हाजिर हुन आदेश दिएको थियो । खत्रीले नैतिकताका आधारमा राजिनामा नदिएको भन्दै मुख्यमन्त्री शाहीले उनलाई रातको दश बजे पदमुक्त गरेका थिए । अहिले मन्त्री शाहीमाथि यति ठूलो विवाद सिर्जना हुँदा चाहिँ मूख्यमन्त्रीले उच्च स्तरको धैर्यता प्रदर्शन गरिरहेका छन् ।

‘हिजो खत्रीलाई आरोप लाग्नासाथ बर्खास्त गर्नसक्ने, आज अर्का मन्त्री त्योभन्दा गम्भीर विवादमा मुछिँदा जोगाउन खोज्नु गलत हो,’ मुख्यमन्त्री शाहीकै दल नेकपा माओवादीका एक नेताले भने, ‘उहाँले कुर्मराज शाहीलाई राजीनामा दिन लगाउनुपर्छ वा बर्खास्त गर्नुपर्छ । यो जघन्य कुरामा पार्टीले पनि हस्तक्षेप गर्न आवश्यक छ ।’

नाजायज सम्वन्ध र नैतिकताको प्रश्न

एउटा बहालबला मन्त्रीको सेक्स स्क्यान्डल सार्वजनिक हुनु कुनै सामान्य विषय होइन । कुनै पनि विवाहित व्यक्तिले परस्त्रीसँग विवाहइतर शारीरिक सम्वन्ध राख्नुलाई अनैतिक र व्यवभिचार मानिन्छ । कानूनले पनि यसलाई अवैध मानेको छ ।

भिडियोमा मन्त्री र युवतीको अनुहार देखिएको दुवै पक्षले स्वीकारेका छन् । भिडियो बीचमा कतै पनि ‘ब्रेक’ भएको छैन । त्यसैले बाँकी दृष्य ‘फेक’ हो भनेर पत्याउन सकिने अवस्था देखिँदैन । कोठाभित्रको दृष्य निरन्तर एउटै छ भने पुरुष–महिला पनि फरक लाग्दैनन् ।

यदि यो भिडियो सत्य हो भने मन्त्रीको नैतिक पतन पुष्टि हुन्छ । नैतिक पतनमा मुछिएको व्यक्तिलाई मन्त्रीजस्तो पदमा रहनु वाञ्छनीय हुन्न । मन्त्रीले दुई वर्ष पुरानो घटना भनेर पन्छाउने प्रयास गरेका छन् । तर, दुई वर्षअघि पनि उनी विवाहित नै थिए ।

मन्त्री शाहीकी ४६ वर्षकी श्रीमती छिन् । उनी शुभकालिका गाउँपालिकामा नै बस्ने गर्छिन् । उनीहरुका २१ वर्ष, २२ वर्षका दुई छोरा छन् भने २३ वर्षकी एक छोरी छिन् । निकटस्थहरुका अनुसार मन्त्री शाहीले अर्काकी श्रीमतीलाई साविकको मुग्रा गाविसबाट भगाएर विहे गरेका थिए । उनले जारी समेत तिरेका छन् ।

नेपालको कानूनले विवाहइतर सम्वन्धलाई अवैध मानेको छ । श्रीमान वा श्रीमतीमध्ये एकजनाले अर्को पुरुष वा महिलासँग सम्वन्ध राखिएको पाइएमा उनीहरुले एकतर्फीरुपमा सम्वन्धविच्छेद गर्नसक्ने व्यवस्था मुलुकी ऐनमा छ । तर, हदम्याद गुज्रिसकेका हुँदा अहिले यो नैतिकताको प्रश्न मात्र बनेको कानून व्यवसायी बताउँछन् ।

अधिवक्ता दुर्गा सापकोटाले मन्त्री शाहीले घरमा श्रीमती हुँदाहुँदै त्यस्तो सम्वन्ध राख्नु सामाजिक रुपमा अपाच्य भएको बताए ।

‘परस्त्रीसँग त्यसरी सम्पर्क राख्नु अनैतिक एवं असामाजिक कार्य हो,’ उनले भने, ‘हाम्रो समाजले यस्ता कुरालाई ग्रहण गर्न सक्दैन । हदम्याद भन्दा बढि समय भएका कारण यसमा कानून नलाग्ने भए पनि मन्त्री शाहीको नैतिक धरातल कमजोरभएको छ । उनले नैतिकताका आधारमा यो मुद्दालाई लिन सक्नुपर्थ्याे ।’

यति ठूलो विवाद उब्जिसकेपछि यस विषयमा अनुसन्धान गर्ने जिम्मेवारी कर्णाली सरकार र प्रहरीको हो । कर्णाली सरकार यसमा मौनता साँधिरहेको छ ।

पछिल्लो बयानमा मन्त्री शाहीले भिडियोको अनुसन्धान गरेर सत्य ठहर्‍याउन चुनौति दिएका छन् । तर, त्यस निम्ति सबैभन्दा पहिले उनले पदबाट राजीनामा गरेर अनुसन्धानको बाटो सहज तुल्याइदिनुपर्छ । उनी मन्त्री पदमा कायम रहँदा अनुसन्धान प्रभावित बन्ने जोखिम हुन्छ ।


प्रतिक्रिया

One thought on “कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डल ! (नालीबेली)

Leave a Reply to lal b nath Cancel reply

Your email address will not be published. Required fields are marked *