जापानको नेतृत्व अब कसको हातमा ? सुगाले छाडेपछि यी हुन् सम्भावित दाबेदार – Nepal Press

जापानको नेतृत्व अब कसको हातमा ? सुगाले छाडेपछि यी हुन् सम्भावित दाबेदार

टोकियो/जापानका प्रधानमन्त्री योसिहिदे सुगाले लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि राजनीति तरंगित भएको छ । पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनेको १ वर्ष मात्रै भएकाले अझै एक कार्यकाल नेतृत्वका लागि दावी गर्न सक्ने सबैको अपेक्षा बिपरित उनले शुक्रबार मात्रै आफू पार्टी नेतृत्वका लागि चुनावी दौडमा नरहेको घोषणा गरेका थिए ।

अघिल्लो हप्तासम्म नेतृत्वमा दोहोरिने चाहना ब्यक्त गर्दै आएका सुगाले आफू चुनावी दौडमा नरहेको घोषणा गर्नुलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । एकथरीले सुगा जनतामा लोकप्रिय हुन नसकेकाले नेतृत्वबाट बाहिरिन खोजेको भनेका छन् भने अर्काथरीले पार्टीका पूर्वमहासचिव इसिबा सिगेरु र पार्टीभित्र अर्को बलियो गुटको नेतृत्व गरिरहेका किसिदा फुमिओले स्वयं आफै नेतृत्वमा आउने चाहना गरेपछि सुगाले नेतृत्वबाट बाहिरिने निर्णय गरेको तर्क गरेका छन् ।

अघिल्लो पटक सुगा नेतृत्वमा आउँदा पनि उनका प्रतिस्पर्धी उनै इसिबा र किसिदा फुमिओनै थिए । नेतृत्वका लागि उम्मेदवारी दिने समय १७ तारिख भएकाले त्यतिबेला सम्म जापानमा राजनीतिक उतारचढाव त आउला नै तर जति उतारचढाव आएपनि जापान सरकारको भावी नेतृत्व यिनै चारजनामध्ये एकले गर्नसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

कसले गर्नेछन् सम्भावित नेतृत्व ?

तारोउ कोउनो
सुगा सरकारका क्याबिनेटका उप प्राधानमन्त्री कोउनो तारोउले पनि लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । यदि उनले उम्मेदवारी दिएको खण्डमा उनी बलियो सम्भावना भएका व्यक्ति हुन ।

आसो गुटको नेतृत्व गर्ने उनी यस अघि २००९ सालमा नेतृत्वमा आउन उम्मेदवारी दिएका थिए । खानागावा प्रान्तको हिराचुका बासि उनलाई जापानको भावी नेतृत्व रुपमा देख्न सक्ने सम्भावना धेरै देखिन्छ ।

सिगेरु इसिबा
त्यस्तै जापानको सम्भावित प्रधानमन्त्रीको अर्को अनुहार हो इसिबा सिगेरु । २००८, २०१२, २०१८ र २०२० मा गरि नेतृत्वका लागि ४ पटक उमेद्वारी दिएका छन् । अहिले पनि उमेद्वारी दिएको खण्डमा उनि पनि बलिया उमेद्वार रहेको निक्केइ पत्रिकाले लेखेको छ ।

फुमिओ किसिदा
निक्केइ पत्रिकाले अगष्ट महिनाको २७ देखि २९ तारिख सम्म गरेको एक सर्वेक्षणले किसिदा फुमिओ पनि भावी नेतृत्वको सम्भावना बोकेको व्यक्तिको रुपमा देखाएको छ । अघिल्लो वर्ष (२०२० मा) पनि नेतृत्वको दावी गरेका उनलाई अहिले पनि जीतका लागि त्यति सहज भने नभएको विश्लेषण गरिएको छ । उनको जितका लागि कोउनो तारोउ या इसिबा सिगेरुले समर्थन गर्नुपर्ने हुन सक्ने आंकलन गरिएको छ ।

साना ताकाइची
लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वमा आउने चाहना ब्यक्त गर्ने एक मात्रै महिला साना ताकाइची हुन् । पूर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेकी उनी पहिलो पटक नेतृत्वमा आउने चाहना ब्यक्त गरेकी छिन् । पार्टीमा कुनै पनि गुटमा नरहेकी सानाको नेतृत्वमा आउने सम्भावना भने कम रहेको सर्वेक्षणले देखाएको छ ।

उम्मेदवारी दिनका लागि उनीहरुलाई २० जना सांसदको समर्थन चाहिन्छ । कतिपयले अहिले सम्म २० जना सांसदको समर्थन समेत जुटाउन सकेका छैनन् । तर जे जस्तो भएता पनि यिनै ४ अनुहार मध्ये एकलाई जापानको नेतृत्वमा देख्न पाइने सम्भावना प्रबल देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर