के पुरुष बिग्रिए महिला बन्छन् ? – Nepal Press
व्यङ्ग्यमा महिला बिम्ब

के पुरुष बिग्रिए महिला बन्छन् ?

भर्खरै मात्र यस वर्षको गाईजात्रा सकियो । गाईजात्रा हास्य र व्यङ्ग्यको पर्व हो । हुन त यस्ता व्यङ्ग्यमा बिम्बको प्रयोग विसंगत परम्परामाथि हुनुपर्ने हो । तर, महिलालाई हास्यको दुर्बल बिम्बका रुपमा प्रयोग गरिने चलनको विगतदेखि नै निरन्तर छ ।

यो पटक पेट बोकेका महिलाहरुको बिम्ब प्रयोग गरिएको व्यङ्ग्य चित्रलाई लिएर सामाजिक सञ्जालमा भएको बहसबाट कुरा सुरु गरौं । सञ्जालमा व्यापक चर्चा भइरहेको सो चित्रमा दलका शीर्ष नेताको टाउकोमा पेट बोकेका महिलाको शरीर जोडिएको थियो ।

जुँगा भएका नेताका टाउकामा स्तन र योनि छोप्ने भित्री वस्त्र मात्र लगाइएको देखाइएको थियो । साथै हरेकले गर्भधारण गरेको पेटमा हातले सुम्सुम्याइरहेको देखाइएको थियो । यहाँ चित्रले राजनीति निकम्मा भयो, नेता काम नै नलाग्ने भए भन्ने देखाउन खोजिएको छ । त्यसको सिधा सन्देश थियो– तिमीहरु पेट बोकेका महिला जस्तै काम नलाग्ने र खत्तमै भयौं । उक्त कार्टुनले नेतालाई खत्तम र काम नलाग्ने देखाउन पेटमा सन्तान भएर डुम्म पेट फुलेकी आमालाई प्रस्तुत गरेको छ । मानौं आमा हुनु खत्तम हो, नालायकी हो ।

पहिलो कुरा त हास्यव्यङ्ग्यमा बिम्ब नै किन प्रयोग गरिन्छ, पहिले त्यो बुझ्नु जरुरी छ । हास्यव्यङ्ग्य भनेको गलत कुरालाई अनेक बिम्बमार्फत हाँसउठ्दो अनि व्यंग्यात्मक तरिकाले देखाउनु हो । गाईजात्रामा पनि अन्य समय छापिने कार्टुनमा जस्तै चोटिलो व्यङ्ग्यसहित हाँसो लाग्नेगरी बिम्बहरु राखेर कार्टुन बनाउने गरिन्छ । अरुबेला पनि पत्रपत्रिकामा यस्ता कार्टुन राख्ने चलन छ । तर नेपालमा विषेशगरी गाईजात्राको समय यस्ता हास्यव्यङ्ग्य बाक्ला देखिन्छन् ।

गलत भएको देखाउन हास्यव्यङ्ग्य र कार्टुनहरुमा आमाहरुका शरीर, उनीहरुका लुगा, स्तन र योनि मानिसको लागि काम नलाग्ने र घिनलाग्दो बिम्बको रुपमा प्रयोग गरिएका हुन्छन् । आजसम्म बनाइएका धेरैजसो कार्टुन र व्यङ्ग्य यस्ता नहोलान्, जसले बिम्बमा कि जनावर कि महिलालाई प्रयोग नगरेको होस् । या भनौं अधिकांश व्यङ्ग्यमा महिला, महिलाका बोली, चाल, रुचि, पोसाकदेखि उनीहरुका यौनाङ्गलाई मजाक बनाएर देखाइएका भेटिन्छन् । एउटा शासक गलत हुने अनि गलत देखिनु पर्ने महिला ?

कम्तिमा आजको आधुनिक र सभ्य समाजमा यस्ता लैङ्गिक द्वेष भरिएका कार्टुन प्रस्तुत हुनु गैरकानुनी त हुँदै हो, त्यस्तो कार्टुन छाप्नेलाई मिडियाका रुपमा हेर्ने सामाजिक दृष्टि बदल्नु पनि पर्ने हो । हिजो महिला तथ्य बुझ्ने बुझाउने अवस्थामा थिएनन् । प्रतिक्रिया पनि जनाउँदैनथे । अब त त्यस्तो हुँदैन होला भन्यो तर हिजोभन्दा पनि विद्रूप दृश्यहरु आइदिन्छन् ।

केही दिनअघि संजालमा भाइरल भएको अभिनेत्री प्रियंका कार्कीले गर्भवती अवस्थामा स्विमिङ गर्दै गरेको फोटोलाई आधार बनाएर नेताहरुलाई ‘तिमीहरु त्यस्तै हौं’ भन्न खोजिएको छ । के बच्चा पेटमा हुनु या त्यसबेला स्विमिङ गर्नु खत्तम हुनु हो ? अश्लील हुनु हो ? स्तन र योनि नै अश्लील भए, गर्भधारण नै दण्डित विषय हो । गर्भधारण दण्डित भए मान्छेको सृष्टि हुनु नै दण्डित विषय हो ।

यस्तै कार्टुन पोहोरसाल केपी ओलीको सरकारमा सहभागी भएकी रामबहादुर थापाकी पत्नीको शरीरमा बादलको टाउको राखेर छापिएको थियो । जसमा बादलकी पत्नीले साडी, हातमा चुरा लगाएको र उभिएर सपथ खाएको देखाएर त्यसो गर्नु नालायकी हो भन्ने प्रस्तुत गर्न खोजिएको थियो । यस्ता कार्टुनहरु ‘मै हुँ’भन्ने विद्वानहरुले संजालमा रुचिका साथ सेयर गरेको देखिन्छ ।

मिडियाका यस्ता कृत्यले प्रश्न उठाउँछ– के महिला भनेका गलत हुन् ? महिलाले लगाउने वस्त्र गलत हो ? अनि अब गर्भ पनि काम नलाग्ने चिज भनेर भन्न खोजिएको हो ? के पुरुषहरु यस्तै महिला भनेका असक्षम नै हुन् भन्ने ठान्छन् ?

महिलाको शरीर देखाएर उसलाई लज्जित या होचो बनाउन सकिन्छ भन्ने चेत भएकोले महिलाको गर्भमा बसेर उसैको स्तन चुसेर हुर्केको पुरुष कसरी सम्मानित भयो ? उनै महिलाको लालनपालनमा हुर्किएको पुरुष चाहिँ कसरी अब्बल बन्न सक्छ ? यस्तो भिन्नतालाई अपमानित गर्ने चेत कसरी पलाउँछ ? त्यहीं आमाको कोखमा बसेर तिनैको लाम्टो चुसेर हुर्केको पुरुषमा ? प्रश्नले सोच्ने बनाएको छ यो बेला ।

यस्ता कार्टुनहरु सत्ताको बागडोरमा महिला नै भए पनि उनीहरु सहभागी छन् भनेर चित्त बुझाउनु हुन्थ्यो । त्यो पनि होइन । सत्तामा धेरै प्रतिशत पुरुष छन् । लोग्ने मान्छेहरु गाईजात्रा गर्छन् । तर हरसमय गाईजात्राको दिन तिनीहरु खत्तम भए भनेर देखाउने बिम्बमा महिला प्रयोग किन ? यसको जवाफ अब यी कार्टुन बनाउने र छाप्ने मिडियाले दिनुपर्छ ।

कार्टुन छापिसकेपछि सम्पादकको एउटा वक्तव्य आउँछ र उनीहरु ‘असावधानीबश त्यस्तो कार्टुन छापिएको’ बताउँछन् । सत्तासीन नेताहरुलाई पेट बोकेकी महिलाको शरीर जोडेर बनाइएको कार्टुन छापिएपछि रातोपाटी डटकमका सम्पादकले यस्तै सूचना जारी गरे । तर, के प्रश्न उठ्छ भने– उनको त्यो कार्टुन छापिएको असावधानीका कारणले होला, तर उनीहरुको मनमा महिलाहरुलाई हेर्ने दृष्टि त उजागर भयो नि । भएन र ?

यस्ता विषय कारवाहीको दायरामा आउनुपर्ने हो । यससँगै एउटा कुरा खड्किएको छ, यसरी खुलेआम महिलाहरुमाथि हिंसा हुँदा प्रेस काउन्सिलले किन एक्सन लिन सक्दैन ? यस्ता संचार माध्यमलाई हदसम्मको कारवाही होस् । किनकि यो जात धर्म, पेसा नभएर सिंगो मानव सभ्यतामाथिको प्रहार हो ।

व्यङ्ग्यले त विकृतिलाई निसाना बनाउनुपर्ने हो । यहाँ त सृष्टिका सबैभन्दा महान कृत्य निसानामा छन् । मिडियाबाटै यस्तो अपमान खेपेका महिलाहरु सूचना नपुगेका ठाउँमा के भोग्छन् भन्ने सोझो अनुमान लगाउन सकिन्छ । यसरी महिलाका अंगलाई मजाक ठान्ने चेतका मान्छेहरुलाई भन्नै पर्छ, आमाका कोख, उनीहरुको एकजोर स्तन र योनि नै सरमको विषय भए पुरुषहरु त झनै लाजका डल्ला हुन् ।

यी सबै कुरा नराम्रै भए जन्मने प्रकृया नै रोकिदिउँ । हामी सबै जन्मदा त आमाको कोखैबाट आयौं, लाज भएन । अनि हाम्रा बच्चा ? उनीहरु पनि आमाबाटै जन्मन्छन्, कसैलाई लाज छैन । तर, नेताहरु बेकामे भए, गर्भवती महिलाको बिम्व बनाएर चुट्न पाइन्छ ? पत्रकार हुँ, मभन्दा जान्ने कोही छैनझैँ गरेर सिङ्गो महिला जगतको अपमान गर्ने छुट छैन कसैलाई पनि ।

पहिलो त महिला पुरुषमा हुने भिन्नतालाई असमानताका रुपमा देखाउने तपाईंहरुको चेतमा प्रकाश पार्न ढिलो भएको छ । अर्को कुरा गर्भमा राखेर जन्मदिने कुरा मजाक गर्ने या गिज्याउने कुरा हुन् र ? कि महिलाले गर्ने भएपछि सबै गिज्याउने नै हुन् भन्ने लाग्छ ? उसोभए तपाईंको जन्म नै एउटा मजाक हो ।

तपाईंका श्रीमती अनि छोराछारी त कार्टुन नै भएनन् र ? तिनीहरुकै अनुहार राखे कसो होला ? मान्छे अझ हाँस्थे होला नि त । यस किसिमका चित्र प्रस्तुत गर्दा महिलाका भित्री अंगमा तपाईंको खुब रुचि छ भन्ने कुराबाहेक त अरु केही देखाउँदैन ।

खासमा यस्ता कुरालाई बेवास्ता गरिदिएको भए पनि हुन्थ्यो । तर यस खासका कार्टुनको प्रभाव विद्वान भन्नेलाई पनि मजाकको मसला मात्रै देखिएकाले यसबारे लेख्नु परेको हो ।

यथार्थमा आमाहरुको मातृत्व प्रकृति हो । मान्छेको तुच्छ चेतले यसलाई सानो ठूलो या फरक पार्नसक्ने कुरा पनि होइन । यस्तो शास्वत, नित्य कुरालाई मजाकको रुपमा प्रस्तुत गर्दा पत्रकारिता नै मजाक बन्छ । आउने पुस्तामा भने यस्ता दुर्गन्धित विचार संचार हुँदा उनीहरुको चेत पनि उस्तै बन्न जान्छ र समाज कहिल्यै अघि बढ्न सक्दैन ।

यो महिला मात्र होइन, मान्छेको जीउने या प्रकृति धान्ने सुन्दर कृत्यप्रतिको मजाक पनि हो । त्यसैले यस्तो गैरजिम्मेवार, अर्धचेतका कार्टुन तयार गर्नेहरुमाथि छानबिन होस् र कारवाही गर्ने प्रावधान होस् ।

त्यसै त गर्भधारणका बेला महिलाहरुले कत्रो सास्ती भोग्नु पर्छ । पहिले संयुक्त परिवारमा गर्भावस्थाका पीडा भुल्न उनीहरुका लागि अनेक पाठपूजा गर्ने, हौसला दिने पर्वहरु हुन्थे । आज एकल परिवारमा बच्चा जन्माउनु र हुर्काउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा उनीहरु कसरी खुसी हुन्छन्, त्यसैगरी बच्चाको रेखदेख गर्दै बच्चा जन्माउँछन् । यसमा किन दुनियाँको आपत्ति ? बरु के गर्दा राम्रो हुन्छ र के गर्दा नराम्रो हुन्छ सुझाउन सकिन्छ । तर उनीहरुको जीवन जीउने तरिकामा प्रश्न उठाउने, पुरुष र महिलाको लैगिंक भिन्नतालाई असमानता देखाउने झुठ काम गर्ने अधिकार कसैलाई छैन ।

त्यसमाथि आमा बन्ने कृत्यमाथि नै हुने यस्तो मजाकले महिलामा बच्चा पैदा गर्ने कामप्रति घृणा जाग्नेछ । यो सुन्दा अनौठो र सामान्य लागे पनि यसको प्रभाव सोचेभन्दा फरक र अधिक हुनेछ ।

पुरुष बलियो र महिला शक्तिहीन भन्ने देखाउन उद्दत चेतमा रहेकाहरुमा एउटा कुरा जानकारी गराऔं कि, समाज अहिले पुरुषले होइन महिलाले हाँक्छन् । शक्तिको केन्द्रमा महिला छन् । हिजो कुनै युगमा ढुङ्गा लडाउने बेलामा पुरुषको बाहुबल चाहिन्थ्यो, जनावरको पछि दगुर्ने बेलामा पुरुषको खोजी हुन्थ्यो, किनकि महिलाहरु एकपछि अर्को बच्चा जन्माउनु परेर बर्सेनिका बच्चा हुर्काउनु परेर कमजोर थिए । त्यसैले बल प्रयोगका काम गर्न पुरुषको खाँचो थियो । तर आज त्यस्तो काम मेसिनले गर्छ ।

बाहुबलमा आफ्नो शक्ति देखाउन नपाएपछि पुरुषहरुको बाहुबलको काम आएन । अझ महिलामा सहन शक्ति (धीरता) पुरुषको भन्दा अधिक हुन्छ । रोगसँग लड्ने क्षमता पनि पुरुषमा भन्दा धेरै हुन्छ । यो यसै भनेको होइन, अहिलेसम्म वैज्ञानिकहरुले गरेका धेरै अनुसन्धानबाट निस्किएको तथ्य हो । यही महामारीमा पनि पुरुषको तुलनामा महिलाको मृत्युदर कम छ ।

महिलाहरु पुरुषभन्दा धेरै प्रेमिल हुन्छन् । अनुसन्धान भन्छ, महिलामा डोपामिन बढी उत्पादन हुन्छ जसले महिलाहरु पुरुषभन्दा अधिक प्रेमिल हुन्छन् । हामीलाई सधैं पुरुष बलियो हुन्छ भनेर सुनाइयो । एक मान्छेले जीवनभरमा नौ डेसिमल शक्ति खर्च गर्ने रहेछ, तर एक आमाले एउटा बच्चालाई जन्म दिँदा १२ डेसिमल शक्ति खर्च गर्ने रहिछिन् । अनि एकभन्दा धेरै बच्चा पैदा गर्ने आमाले त एक पुरुषभन्दा कति धेरै शक्ति खर्च गर्ने होलिन् ? अनुमान लगाऔं ।

त्यसमा पनि जन्माएर मात्र भएन कम्तिमा तीन वर्षसम्मको सबै शक्ति त्यही बच्चामा लगाउनु पर्यो । म त भन्छु, पुरुषहरुमा महिलासँग दाँजिने शक्तिहरु विस्तारै क्षीण हुँदै गइरहेका छन् । किनकि अरु त अरु, बच्चा जन्माउन चाहिने शुक्रकीट पनि संचय गरेको ठाउँबाट लिन सकिन्छ ।

हो, पुरुषहरु बढी दिमाग चलाउन सक्छन् । त्यसले हिसाव किताब चल्ला । कुनै ल्याबमा त्यो बुद्धि काम आउला । तर यो चलाखीले हिसाब मिलाउने काम गर्छ, जीवनको हिसाब मिलाउन त प्रेमिल र धीरता जरुरी छ । जो महिलामा अधिक मात्रामा छ ।

त्यसैले अब समाजमा पुरुषको काम कम छ जति महिलाको छ । बच्चा जन्माउने काम मेसिनले गर्दैन, प्रेमबिना जीवन नै चल्दैन । धीरताले मान्छेलाई हरेक तनावबाट बाहिर ल्याउँछ । जुन कुरा महिलाहरुमा भरिएका हुन्छ ।

समाजको बनावटले समयअनुसार कहिले महिला त कहिले पुरुषलाई शक्तिशाली बनाएको होला । तर, लैङ्गिक संवेदना जुनसुकै कालखण्डमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यसलाई होच्याउने वा गिज्याउने प्रयास नगरौं, मर्यादामा बसौं ।


प्रतिक्रिया

3 thoughts on “के पुरुष बिग्रिए महिला बन्छन् ?

  1. लेखिकाको मनोबैज्ञानिक समस्या र सुषुप्त यौन चाहनाको उपजको रुपमा यस लेखलाई लिन सकिन्छ।
    गाईजात्रामा महिलाको प्रयोग मुलतः कसैले केहि सृजना गरेको भन्ने देखाउन गरिन्छ। जस्तो कि नेताहरुले भ्रष्टाचार गरेको देखाउन नेताहरु महिलाको भेषमा गर्भवती भएको र डलर जन्माएको आदि।

    सद्बुद्धिले हेर्नेहरुले यसलाई त महिलालाई सम्मान गरेको भनेर बुझ्छन् किनभने यसमा महिलाहरुको सृजना गर्न सक्ने क्षमता देखाईएको छ। अब नेता नै नराम्रा छन् त नराम्रो कार्टुन बनाउने नै भए।

    शायद लेखिकालाई कुनै एन जि ओ को डलरको आवश्यकता पो छ कि?🤔

  2. अचम्म लाग्दो कुरा पुरुषलाई पनि महिलाको बेइज्जतीमा मज्जा आउने अन्तत त्यो आफ्नै बेइज्जती हो भन्ने आभास छैन ! महिला त झन ड्लर पचाउन जे गरेपनी छुट ! हिन्दु धर्म र परम्परा को विरुद्ध जति ठूलो आवाजले चिच्याउन सक्यो तेत्ती धेरै झर्छ कि के हो डलर युरो ?

Leave a Reply to पुरुषबादि Cancel reply

Your email address will not be published. Required fields are marked *