एमसीसीबारे थप स्पष्ट पार्न अमेरिकालाई सरकारकाे पत्र, अमेरिकी दूतावास सकारात्मक – Nepal Press

एमसीसीबारे थप स्पष्ट पार्न अमेरिकालाई सरकारकाे पत्र, अमेरिकी दूतावास सकारात्मक

काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)बारे थप स्पष्ट हुन चाहेको भन्दै अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र लेखेको छ ।

नेपाल प्रेससँग अमेरिकी दूतावासका अधिकारीले सरकारी पत्रको पुष्टि गरेका छन् । सम्झौताका कतिपय बुँदाबारे स्पष्ट पार्न भन्दै अर्थ मन्त्रालयले एमसीसीलाई आज पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अन्य सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो । खासगरि, एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको भन्ने प्रश्न छन् ।

परियोजनाको लेखापरीक्षण हुने स्थान तथा एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हो वा होइन भन्ने प्रश्न सरकारले गरेको छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार आगामी बिहीवार काठमाडौं भ्रमणमा आउनुपूर्व सरकारले कतिपय बुँदामा प्रष्टता चाहेको हो ।

अमेरिकाले यसलाई सकारात्मकरुपमा लिएको छ : दूतावास

काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारले पठाएका जिज्ञासाहरुबारे नेपाल प्रेसलाई प्रतिक्रिया दिएको छ । दूतावासका एक अधिकारीले अर्थ मन्त्रालयमार्फत कम्प्याटबारे केही जिज्ञासा प्राप्त भएको र दूतावास यसको जवाफ दिन उत्सुक रहेको बताएका छन् ।

दूतावासले सरकारी पत्रलाई सकारात्मक रुपमा लिइएको पनि जनाएको छ । ‘अनुमोदन प्रक्रियातर्फको यो एउटा सकारात्मक कदम हो । अमेरिका एमसीसीमार्फत नेपाली नागरिकसँग खुला र पारदर्शी संवाद गर्न चाहन्छ’ ती अधिकारीले भनेका छन् । सरकारले सोधेका प्रश्नहरुको जवाफ उपयुक्त समयमा दिने समेत दूतावासले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर