वामदेव गौतमद्वारा एमाले परित्याग, केन्द्रीय कार्यालयमा गएर दिए राजीनामा – Nepal Press

वामदेव गौतमद्वारा एमाले परित्याग, केन्द्रीय कार्यालयमा गएर दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएर फर्किएको स्वकीय सचिव दिपक टमाटाले नेपाल प्रेसलाई जानकारी दिए ।

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए । उनी नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।

एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि नयाँ पार्टीमा लाग्ने घोषणा गरेका थिए । तर एकीकृत समाजवादीले जनताका बहुदलीय जनवाद छाडेको भन्दै उनले माधव नेपालसँग जवाफ मागेका छन् ।

गौतमले एमालेबाट राजीनामा दिए पनि अब के गर्ने भन्ने बताएका छैनन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका छन् ।

उनी राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् ।


प्रतिक्रिया

2 thoughts on “वामदेव गौतमद्वारा एमाले परित्याग, केन्द्रीय कार्यालयमा गएर दिए राजीनामा

  1. अब सिपि मैनालीको कार्यकर्ता बन्न शुभकामना ।

  2. एउटा सुनिश्चित कदमका लागि उहाँलाई धन्यवाद। उहाँजस्तै उहाँका धेरै समकक्षीले आफ्नो असान्दर्भिकता पहिचान गरिदिनु भए मुलुकले निजात पाउने थियोे। भन्न सम्झाउन पनि जीवनभर आफूलाई सिकाउने आदेश पालन गराउनेलाई कसरी भन्नू। तर, सामान्य कुरा नि उहाँले बुझ्नु भएन। उहाँ पार्टीको होइन राष्ट्रको प्रतिनिधित्व गर्दै सांसद बन्नु भएको मान्छे तर हरघडी आफूलाई प्रधानमन्त्री बनाउने बाहेकको कुनै सरोकार देखाउन सक्नु भएन। खर्ब खर्बको बजेट बनाएर धुमधाम बिकास गर्ने हावादारी योजना बनाउनु हुन्छ। कसले बताइदियोस कि बजेट बिकासको एउटा आंशिक तत्वमात्र हो। निर्णायक कुरा अरु नै छ। मौका पर्दा नियम प्रकृया मिचेर बिधानमा नभएको पद पनि पडकाउनु भयो। उहाँको ओजीलो विगतलाई सलाम। आगत तृष्णा मुक्त आनन्ददायक रहोस।

Leave a Reply to सुबोधराज प्याकुरेल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर