५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन – Nepal Press

५० प्रतिशत अकुपेन्सीमा फिल्म हल खुलाउन काठमाडौं प्रशासनको निर्देशन

देशभरका हल खुलाउन सीसीएमसीसँग छलफल हुँदै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म हल संचालन गर्न निर्देशन दिएको छ । आज दिउँसो कार्यालयमा बोलाएर सीडीओ कालिप्रसाद पराजुलीले चलचित्र विकास बोर्डलाई उक्त निर्देशन दिएका हुन् ।

कोभिड संकट व्यवस्थापन केन्द्रले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधिलाई पालना गर्दै हल संचालन गर्न प्रशासनले निर्देशन दिएको हो । बोर्ड अध्यक्ष दयाराम दाहालसहित चलचित्र संघका पदाधिकारी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनले बुधबार नै फिल्म हल लगायतका मनोरञ्जन स्थल खुलाउने अनुमति दिएको थियो । तर, अकुपेन्सी र कसरी हल खुलाउने भन्ने निर्देशिकाबारे प्रशासनले केही बताएको थिएन ।

सीडीओ पराजुलीको अध्यक्षतामा बसेको बैठकमा कोभिड मापदण्ड पालना गरी हल चलाउनेबारे छलफल भएको थियो । ‘ उपत्यकाको संक्रमण दर अझै स्थिर भएकाले आफूले ठूलो रिस्क लिएर हल खुलाएको सीडीओ साबले जानकारी दिनुभयो’ बोर्ड अध्यक्ष दाहालले नेपाल प्रेससँग भने ।

प्रशासनले सामाजिक दूरी, मास्क र स्यानिटाइजरको अनिवार्य व्यवस्था गर्न र भीडभाड नगर्न समेत भनेको छ । साथै, बिरामी मानिसलाई हलमा नलैजान समेत प्रशासनले भनेको छ । यसैबीच, काठमाडौं उपत्यकाबाहिरका फिल्म हल खुलाउनेबारे चलचित्र विकास बोर्डले सीसीएमसीसँग केही दिनमै छलफल गर्ने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *