शिक्षक सरुवाको सहमतिमा चार महिनासम्मको तलब असुल – Nepal Press

शिक्षक सरुवाको सहमतिमा चार महिनासम्मको तलब असुल

सुर्खेत । डोल्पाको ठूली भेरी नगरपालिकामा शिक्षक सरुवाको सहमति दिँदा रकममा वार्गेनिङ हुने गरेको रहस्य खुलेको छ । नगर शिक्षा तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा अन्तर जिल्ला सरुवा जाने शिक्षकबाट एकदेखि कम्तीमा चार महिनासम्मको तलबवापतको पैसा लिने गरेको पाइएको हो ।

दैलेखको भैरवी गाउँपालिकाका शिक्षक प्रेमप्रसाद आचार्यले सरुवाका लागि आफूसँग रकम मागेको नेपाल प्रेसलाई गुनासो गरे । उनको गुनासो हाल नगरपालिकाका निमित्त कार्यकारी प्रमुखको भूमिकामा रहेका तत्कालीन विद्यालय निरीक्षक दीलप्रसाद रोकायासँग सोध्दा उनी झोकिए । ‘उहाँहरुले विद्यालयलाई पैसा दिने भन्नु भएको थियो रे, त्यही आधारमा विद्यालयले नदिएको होला ।’

ठूलीभेरी- ६ काँडाथली देवी आधारभूत विद्यालय २०७६ साल कात्तिकमा प्रेमप्रसाद आचार्य हाजिर भएका थिए । उनले त्यहाँबाट दैलेखको भैरवी गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय थापावाडामा सरुवा मागेका थिए । गत वैशाख ३१ मा रमाना बुझेर जेठ ५ गते उनी सरुवा भएको विद्यालयमा हाजिर भइसहेका छन् ।

‘मेरो एक महिनाको तलब भत्ता अहिलेसम्म दिएका छैनन् । विद्यालयका अध्यक्षले बारम्बार पैसा दिन भने पनि वैशाखको तलब विद्यालयका प्रधानाध्यापकले दिन मानेका छैनन् । उनीमात्रै होइन, यसमा विद्यालय निरीक्षक रोकाया पनि जोडिएका छन् । उनीसँगको मिलेमतोमा उनले तलब दिइरहेका छैनन् ’,आचार्यले नेपाल प्रेसलाई भने, ‘त्यहाँबाट सरुवा भइ अन्य जिल्लामा फर्कने शिक्षकलाई कसैको चार महिनाको तलब काट्ने गरिएको छ भने कसैको एक महिनाको तलब नै नदिने चलन चलाइएको छ ।’

आफूले बारम्बार तलब पठाइदिन भने पनि खातामा नहालिएको भन्दै पहिलो चरणमा आफू मिडियामा आएको उनले बताए । ‘मेरो लागि त्यो एक महिनाको ४० हजार बढि होइन तर त्यहाँ भइरहेको चरम व्यथिति गलत लागेको छ । त्यसका विरुद्ध म अदालत जान पनि तयार छु । थप खर्च गरेर अगलत कामका विरुद्ध म लड्छु ।’

विद्यालयले रमाना दिइसकेपछि तलब रोक्नुको पछाडि भ्रष्टाचारको मानसिकता रहेको उनको आरोप छ । ‘पैसा नदिनुको पछाडि अरु कारण छैन । भदौ अन्त्य हुन लागेको छ तर वैशाखको तलब पालिकाले विद्यालयको खातामा गइसकेपछि पनि दिएको छैन । यसमा नगरशिक्षा र प्रधानाध्यापकको मिलेमतो छ ।’

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बुढाले उनको उक महिनाको तलब रोक्का गरिएको बताए । ‘हामीले यहाँ स्वयंसेवी शिक्षक भर्ना गरेका छौं । उहाँहरूबाट काटेर सो तलब दिने योजना बनाएका छौं ’उनले भने, ‘उहाँको तलब दिने भनेर विव्यसको निर्णय भइसकेको छ । यहीँबाट सरुवा भएका तेजेन्द्र खत्रीले १५ हजार फिर्ता गरेपछि प्रेम आचार्यलाई पैसा पठाइदिन्छौं ।’

तर सोही विद्यालयका विव्यस अध्यक्ष चन्दु मल्लले भने उहाँको तलब रोक्नुपर्ने अवस्था नरहेको बताए । हामीले उहिल्यै निर्णय गरेर तलब दिन भनिसकेका छौं ।’ उनले भने, ‘हालसम्म किन उहाँलाई तलब नदिइएको हो थाहा भएन । उहाँले सबै तलब पाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर