लुम्बिनीका विवादित मन्त्री शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी, अरु मन्त्री विनाविभागीय नै – Nepal Press

लुम्बिनीका विवादित मन्त्री शाहीलाई उद्योग मन्त्रालयको जिम्मेवारी, अरु मन्त्री विनाविभागीय नै

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विनाविभागीय मन्त्री नियुक्ति गरेको २३ दिनपछि अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा तथा जनमोर्चाको गठबन्धनमा साउन २८ गते मुख्यमन्त्री भएका केसीले सोही दिन ६ जना मन्त्री बनाउँदा अजय शाहीसहित सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाएका थिए ।

२३ दिनपछि शाहीले मन्त्रालय पाएपनि रायमाझी र ढेंगाले अझै मन्त्रालय पाएका छैनन् ।

लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अजय शाही एमालेको सांसद भएकाले सरकार, प्रदेशसभा र प्रदेश प्रमुखले बलजफ्ती मन्त्री बनाएको आरोप लगाउँदै आएको छ ।

उनी चुनावमा सूर्य चिह्न लिएर जितेपछि हालसम्म एमालेको संसदीय दलमै रहेको र साउन २७ गते पार्टीको निर्णयविपरीत विपक्षी गठबन्धनमा गएकाले कारबाही गरेपनि सभामुखले कानुन विपरीत कारवाही नगरी विवाद बढाएको आरोप एमालेको छ ।

मुख्यमन्त्री केसीले गठबन्धन दलभित्रको भागवण्डा मिलाउन नसकेका कारण अन्य मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् । यसअघि ९ मन्त्री रहेको लुम्बिनीमा अहिलेको सरकारले १३ मन्त्री र केही राज्यमन्त्री थप गर्ने कानुनी प्रबन्ध मिलाएको छ ।

प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा सहभागी दलबीच सहमति गरेर छिट्टै मन्त्रीपरिषद् पूर्ण हुने र सबैको जिम्मेवारी विभाजन हुने बताए ।

अहिले मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा संचार, ऊर्जा जलस्रोत तथा सिंचाई, कानून, महिला,बालबालिका तथा जेष्ठ नागरिक, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था, वन तथा भूसंरक्षण, शिक्षा, विज्ञान, युवा तथा खेलकुद, श्रम, रोजगार तथा यातायात व्यवस्था, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी आफैले राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर