आर्थिक पत्रकारको चुनाव भोलि, नयाँ नेतृत्वका लागि यस्ता छन् प्रतिस्पर्धी – Nepal Press

आर्थिक पत्रकारको चुनाव भोलि, नयाँ नेतृत्वका लागि यस्ता छन् प्रतिस्पर्धी

काठमाडौं । आर्थिक पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औं साधारणसभा तथा अधिवेशन भोलि (शुक्रबार) हुँदैछ । अधिवेशनले सेजनमा नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।

अधिवेशनको पूर्वसन्ध्यामा आर्थिक पत्रकारहरूबीच चुनावी माहोल गर्माएको छ । सेजनको अध्यक्षसहित १० पदका लागि २० जनाभन्दा बढी आकांक्षी मैदानमा देखिएका छन् । उनीहरू भोट माग्न मिडियाहाउसहरूमा धाइरहेका छन् ।
अध्यक्षका लागि अहिलेसम्म तीनजना मैदानमा देखिएका छन् ।

नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल, क्लिकमाण्डु डटकमका सम्पादक आशिष ज्ञवाली र नेपाल लाइभ टुडेका सम्पादक शिरोमणी ढुंगाना चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । यसअघि कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल (सरु) ले पनि अध्यक्षमा उठ्ने तयारी गरेकोमा अहिले पछि हटेको बुझिएको छ ।

उपाध्यक्षमा क्यापिटल नेपालका पत्रकार सुजन ओली, नयाँ पत्रिकाका पत्रकार कृष्ण रिजाल र कान्तिपुर रेडियोका अनिल परियार भिड्दैछन् ।

यसैगरी महासचिव पदमा अर्थपथ डटकमका कार्यकारी सम्पादक विनय बञ्जरा र शिलापत्र डटकमका आर्थिक पत्रकार भागवत भट्टराईबीच प्रतिस्पर्धा हुनेछ । सचिव पदका लागि बाह्रखरी डटकमका विजनेश ब्यूरो प्रमुख हिमाल पौडेल, अभियान दैनिककी हिमा विक र नेपाल टेलिभिजनकी संवाददाता एलिजा उप्रेति चुनावी दौडमा छन् ।

कोषाध्यक्षमा फिस्कल नेपाल डटकमका कार्यकारी सम्पादक सुजन ढुंगाना, कारोबार दैनिककी लक्ष्मी सापकोटा र अर्थपथ डटकमकी कमला अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी कार्यसमिति सदस्यमा अनलाइनखवर डटकमका अच्युत पुरी, अर्थतन्त्र डटकमका सोभित थपलिया, राससका सिभी अधिकारी, विजमाण्डु डटकमका अमर बडुवाल, ‘अर्थको अर्थ’ अनलाइनका शंकर पण्डित र ‘नेपाली पैसा’ की इसरा कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूमध्ये पाँचजना नयाँ कार्यसमितिमा छानिनेछन् ।

सेजनमा आर्थिक क्षेत्रमा पत्रकारिता गर्दै आएका २५० भन्दा बढी सदस्यको आबद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *