बर्खा र मुआब्जा विवादले कोटेश्वर-जडीबुटी सडक विस्तार प्रभावित, काम सकिन अझै केही महिना लाग्ने – Nepal Press

बर्खा र मुआब्जा विवादले कोटेश्वर-जडीबुटी सडक विस्तार प्रभावित, काम सकिन अझै केही महिना लाग्ने

काठमाडौं । प्रतिकुल मौसम र जग्गा विवादका कारण कोटेश्वर-जडीबुटी सडकखण्ड विस्तार प्रभावित भएको छ । ६ महिनाभित्र सक्ने गरी गत पुसमा सुरु भएको उक्त सडकखण्ड विस्तारको काम मुआब्जा विवाद र  वर्षातका कारण प्रभावित भएको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार विस्तारिक सडकमा कालोपत्रे गर्नेबाहेकका काम करिब सकिएको छ । पछिल्ला दिनमा दैनिक पानी परिरहेकाले कालोपत्रे गर्न समस्या भएको उनको भनाइ छ । ‘ग्राउण्ड लेभललाई मिलाइसकिएको छ । तर दैनिक पानी पर्नाले पीच गर्न सकिएको छैन । मौसम खुल्नासाथ पीचको काम सुरु हुन्छ’, उनले भने, ‘सुरु भएको एक महिनाभित्र पिच गरिसकिन्छ ।’

मौसमसँगै जडिबुटीको चोकको जग्गा विवादका कारण पनि सडक विस्तारमा ढिलाइ भएको हो ।

चोकको उत्तरतिर रहेको सानो टुक्रा जग्गाका विषयमा जग्गाधनी र सरकारसँगबीच कुरा मिलेको छैन । जग्गा धनीको लालपूर्जामा ०.२५ स्क्वाएर मिटर जग्गा छ भने उनीहरुको माग दावी ६ आना जग्गाको छ ।

जग्गाधनीले ६ आना जग्गाको मुआब्जा दावी समस्या भएको विभागका प्रमुख नेपालीको भनाइ छ । ‘उहाँहरुको जग्गा कागजमा खुट्टा उभिने ठाउँ मात्र छ तर, ६ आना दावी गर्नुभएको छ, कसरी मागे जति मुआब्जा दिन सकिन्छ ?’ उनले भने ।

नेपालीका अनुसार दक्षिणतर्फको भागमा भने कुनै विवाद छैन ।

सरकारले कोटेश्वर-जडिबुटी सडकमा हुने पट्यारलाग्दो जाम घटाउनका लागि सडक विस्तार गरेको हो । यो विस्तारसँगै करिब ४० प्रतिशत जाम घट्ने विभागको भनाइ छ ।

अहिले थपिएको सडकमा तीन लेन छ । विमानस्थलको सुरक्षालाई ध्यान दिइ विस्तार गर्न लागिएको सडक अपाङ्गमैत्रीसँगै पैदल यात्रुमैत्री हुनेछ ।

यो सडक बनेसँगै जडीबुटीबाट आएका सावरीसाधन काटेश्वरहुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटीहुँदै पेप्सीकोलातर्फ जाँदा जाम नहुने आयोजकको अनुमान छ ।

अहिले बन्दै गरेको लेनसहित दुई लेन पेप्सीकोला र दुई लेन ललितपुर जाने सवारी साधनका लागि प्रयोग हुनेछ । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने आयोजकको भनाइ छ ।

दीर्घकालीन रुपमा ट्राफिक जाम समाधानका लागि भने ‘फ्लाई ओभर’ नै बनाउनु पर्नेछ । यसका लागि तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जाइकाले ‘फ्लाई ओभर’ वा ‘अण्डरपास’ बनाउनका लागि अध्ययन गरिरहेको छ ।

त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलको सीमाभन्दा करिब १५ मिटरसम्म माथि जानुपर्ने भएकाले नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा काम गर्ने महाशाखाले जानकारी दिएको छ ।

कोटेश्वर–जडिबुटी सडकखण्ड विस्तार गरेर मात्र जाम नहट्ने भएकाले मनोहरा खोलाको करिडोरलाई विस्तार गरिएको नेपालीको भनाइ छ । काठमाडौं डिभिजन कार्यालयले नै करिडोरको विस्तार गरिरहेको छ ।

डिभिजन कार्यालयले नै कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गर्नका लागि अनुमानित १२ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसमा सात करोड मात्र खर्च हुने आयोजको अनुमान छ । बँचेको पैसाले जडीबुटी पुलमुनि करिडोर निर्माण गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर