अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता! – Nepal Press

अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता!

काठामाडौं । पन्ध्र वर्षअघि इरानी महान् फुटबलर अली दाईले बनाएको १ सय ९ गोलको कीर्तिमान भङ्ग गर्दै पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनेका छन् । विश्व कप छनोटको समूह ‘ए’ अन्तर्गत बुधबार राति पोर्चुगलको स्टाडियो अल्गार्भमा आयरल्यान्डविरुद्ध ८९औं मिनेटमा गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय १० गोलको कीर्तिमान बनाएका हुन् ।

रोनाल्डोले जुलाईमा सम्पन्न यूईएफए युरो २०२० को समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै दाईसँगको कीर्तिमान बराबरी गरेका थिए ।

त्यसपछि ३६ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोलाई विश्व फुटबलको त्यो कीर्तिमान एकलौटी बनाउन मात्रै एक गोल आवश्यक थियो । र, विश्वकप २०२२ छनोट अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा त्यो अवसर उनलाई जुर्यो ।

र, विपक्षी खेलाडीले ब्रुनो फर्नान्डेजमाथि गरेको फाउलमार्फत पाएको पेनाल्टीलाई गोलमा परिणत १४औं मिनेटमा कीर्तिमान बनाउने मौका थियो । तर, त्यो पेनाल्टीलाई १९ वर्षीय आइरिस गोलकिपर गाभिन बुजुनुले असफल पारिदिएका थिए ।

तर, निर्धारित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा गोन्कालो गुइडेजको क्रसमा हेडरमार्फन् गोल गर्दै गर्दै पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डोले अर्को एउटा दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले सन् २००४ जुन १२ मा पोर्चुगलका लागि पहिलो गोल गरेका थिए । घरेलु मैदानमा भएको युरो २००४ को समूह चरणको त्यो खेलमा पोर्चुगल १–२ गोलको नतिजामा पराजित भएको थियो ।

त्यसको १० वर्षपछि सन् २०१४ जुन २६ मा ब्राजिलमा भएको विश्वकपको समूह चरणमा घानाविरुद्ध उनले ५०औं गोल गरेका थिए । त्यस्तै, सयौं गोल रोनाल्डोले सन् २०२० सेप्टेम्बर ८ मा यूईएफए नेसन्स लिगअन्तर्गत स्वीडेनविरुद्धको खेलको ४५औं मिनेटमा गरेका थिए ।

सुपर स्टार रोनाल्डोले आज गरेको गोलसँगै उनलाई विश्व फुटबलको नयाँ उचाईमा पुर्याएको छ । रोनाल्डोले पोर्चुगलबाट पहिलो हाफमा ४४ गोल गरेका छन् । तीमध्ये १ देखि १० मिनेटसम्म १० गोल, ११ देखि २० मिनेटसम्म ३ गोल, २१ देखि ३० मिनेटसम्म १४ गोल, ३१ देखि ४० सम्म १० र ४१ देखि पहिलो हाफको अन्त्यसम्म ७ गोल गरेका छन् ।

दोस्रो हाफमा भने रोनाल्डोको गोलसंख्या अझै लोभ लाग्दो छ । उनले दोस्रो हाफमा मात्र पोर्चुगलका लागि ६६ गोल गरेका छन् ।

रोनाल्डोले ४६ देखि ५५ मिनेटसम्म ९ गोल, ५६ देखि ६५ सम्म १५ गोल, ६६ देखि ७५ सम्म ८ गोल, ७६ देखि ८५ सम्म १९ गोल र ८६ पछि निर्धारित समयको अन्त्यसम्म १५गोल गरेका छन् ।

रोनाल्डोले आफ्ना ११० गोलमध्ये २५ गोल बायाँ खुट्टाले गरेका छन् भने ५९ गोल दायाँ खुट्टाले गरेका छन् । बाँकी २६ गोल भने रोनाल्डले हेडरमार्फत गरेका छन् । पोर्चुगिज, इङ्लिस र इटालियन फुटबलमा राज गरेका रोनाल्डोले १० गोल डाइरेक्ट फ्रि–किकमार्फत गरेका छन् । यस्तै ८५ गोल ओपन प्लेमा र बाँकी १४ गोल पेनाल्टीमार्फत गरेका छन् ।

रोनाल्डोले एन्डोरा, हंगेरी र लक्जमबर्गविरुद्ध सर्वाधिक ६/६ गोल गरेका छन् । उनलाई गोलका लागि सर्वाधिक असिस्ट दिने खेलाडीको श्रेय रिकार्डो क्वारेज्मा र जुवाओ माउटिन्होलाई संयुक्त रूपमा जान्छ । उनीहरू दुवै खेलाडीले रोनाल्डोलाई ८/८ गोलका लागि असिस्ट दिएका छन् । त्यस्तै नानी र बर्नार्डो सिल्भाले ६/६ असिस्ट दिएका छन् ।

पोचुर्गिज महान् खेलाडी रोनाल्डो १०० अन्तर्राष्ट्रिय गोलको आँकडा पार गर्ने दोस्रो खेलाडी हुन् । उनले पोर्चुगलबाट १८० खेलमा ११० गोल गरेका छन् ।

रोनाल्डोले पोर्चुगलबाट ९ ह्याट्रिक समेत गरेका छन् । अलि दाईले भने ८ ह्याट्रिक गरेका थिए । त्यो मध्ये पहिलो ह्याट्रिक उनले नेपालविरुद्ध १९९६ मा गरेका थिए ।

रोनाल्डोले भने सन् २०१३ मा उत्तरी आयरल्यान्डविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए । त्यस्तै आठौं र नवौं ह्याट्रिक लिथुवानियाविरुद्ध २०१९ मा गरेका थिए ।

पहिलो हाफको अन्त्यदेखि नै आयरल्यान्डविरुद्ध ०-१ गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले इन्जुरी समयमा पुन: एक गोल थप्दै नाटकीय जित दिलाएका थिए ।

पोर्चुगलका लागि विजयी गोल गरेका रोनाल्डोले जर्सी खोलेर खुशी मनाउँदा पहेँलो कार्डको सामना गर्नुपरेको थियो ।


प्रतिक्रिया

One thought on “अली दाईको कीर्तिमान तोड्दै रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता!

Leave a Reply to rohan Cancel reply

Your email address will not be published. Required fields are marked *