तीनवटा मुद्दा लिएर एमाले सर्वोच्च जाँदै, दुई सभामुख र निर्वाचन आयोग विपक्षी – Nepal Press

तीनवटा मुद्दा लिएर एमाले सर्वोच्च जाँदै, दुई सभामुख र निर्वाचन आयोग विपक्षी

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको भूमिका खेलेको भन्दै एमाले सर्वोच्च जान लागेको हो ।

मुद्दाका लागि रिट लेखनलगायतको काम सकिएकाले भ्याएसम्म आजै अदालत जाने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कानूनबमोजिम पदमुक्त भएका सांसद र पार्टीले निष्कासन गरेका केन्द्रीय सदस्यको संख्या देखाएर २० प्रतिशतका आधारमा पार्टी विभाजन गरिएकाले अदालत जाने तयारी भएको बताए ।

एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट माधव नेपालसहित १४ जना सांसदलाई निष्कासन गरेको थियो । सो निर्णयको जानकारी संसद सचिवालयलाई र निर्वाचन आयोगलाई भदौ १ गते दिइएको थियो ।

भदौ २ गते माधव नेपाल पक्ष पार्टी विभाजनमा लागि निवेदन लिएर आयोगमा गएको थियो । कानूनबमोजिम पार्टीले निष्कासन गरेर सूचना दिइसकेपछि सभामुखले १४ सांसदका पद रिक्त भएको सूचना टाँस्नु पर्नेमा पार्टीमा विभाजनमा नियतवश लागेको भन्दै एमालेले सभामुखविरुद्ध लाग्ने प्रष्ट बताइसकेको छ ।

एमालेले लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा लैजाने भएको छ । एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर एमाले रोजेकी विमला वलीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।

सभामुखविरुद्ध अदालत, संसद र सडक तीनै ठाउँमा लडाइँ हुने र उनलाई सदन चलाउन नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । सभामुखले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नसकेकाले एमालेले यसलाई गम्भीर रूपमा लिएको उनले बताए ।

कानून बमोजिम १५ दिनभित्र सभामुखले एमालेको कारवाहीलाई टुंगो लगाउनुपर्ने हो । भदौ १५ गते १५ दिन पुगेकाले अब एमालेले सभामुखविरुद्ध अदालतमा मुद्दा लैजाने भएको छ ।

त्यस्तै निर्वाचन आयोगले पनि एमालेबाट निष्कासनमा परिसकेका ९ जना केन्द्रीय सदस्य र १४ जना सांसदलाई सनाखत गराएर दल विभाजन गरेको भन्दै एमाले आयोगविरुद्ध अदालत जान लागेको हो ।

निर्वाचन आयोगलाई एमालेले भदौ १ मै उनीहरू निष्कासनमा परेको सूचना दिइसकेकाले उनीहरूको सनाखत मान्य नहुने पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए । आयोगले आफ्नो निर्णयमा एमालेले गरेका कारवाहीलाई नोटिसमा राखेको छ ।

एमालेले लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा लैजाने भएको छ । एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर एमाले रोजेकी विमला वलीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले सभामुखले कानूनबमोजिम काम नगरेको, निर्वाचन आयोगले कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएको र लुम्बिनीका सभामुखले पनि गैरकानूनी रूपमा एमालेका सांसदलाई स्वतन्त्र र माओवादी बनाइदिएको हुनाले सर्वोच्च अदालतमा जान लागिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर