बंगलादेशी राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड – Nepal Press

बंगलादेशी राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी तथा व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरेका छन् ।

नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै उनले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने जानकारी दिए । ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने ।

नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियत एवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै नेपालले पनि त्यस तर्फ विचार गर्नुपर्ने राजदूतले बताए ।

भेटवार्ताका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेको र त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने बताए । बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उनले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालाबाट विद्युत निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गरे ।

अध्यक्ष अग्रवालले दुईदेशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने जानकारी दिए । अध्यक्ष अग्रवालको उक्त भनाइमा राजदूत चौधरीले समर्थन जनाएका छन् ।

अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले परिसंघले मेक इन नेपाल-स्वदेशी अभियान अघि बढाएको जानकारी गराएका थिए ।

परिसंघका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बंगलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसंघ तयार रहेको बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बंगलादेशलाई आग्रह गरे ।

परिसंघको कार्यालयमा भएको भेटवार्तामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ताको उपस्थिति थियो । यसैगरी बंगलादेशी राजदूतावासको तर्फबाट मिनिस्टर तथा डेपुटी चिफ अफ मिसन इश्रात जहान र प्रथम सचिव अलाम्गिर इस्लाम खान एवं परिसंघ सचिवालयको तर्फबाट महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *