पृथ्वीनारायण शाहलाई मार्गदर्शक मान्दै जन्मियो नयाँ राजनीतिक मोर्चा – Nepal Press

पृथ्वीनारायण शाहलाई मार्गदर्शक मान्दै जन्मियो नयाँ राजनीतिक मोर्चा

काठमाडौं । राजसंस्था र हिन्दू राज्यप्रति झुकाव राख्ने नयाँ राजनीतिक संगठनको जन्म भएको छ । ‘एकीकृत शक्ति नेपाल’ नामाकरण गरिएको उक्त मोर्चाको श्रीकृष्ण जन्माष्टमीको दिन पारेर आइतबार राजधानीमा घोषणा गरियो ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको अध्यक्षतामा गठित मोर्चा गठनमा अभिनेता निखिल उप्रेतिको विशेष भूमिका छ । मोर्चाको उपाध्यक्षमा प्राडा रामप्रसाद उप्रेति रहेका छन् भने महासचिवमा विपी तिमल्सिना छन् । अभिनेता उप्रेति भने कुनै पदमा छैनन् । यद्यपि, संगठन निर्माणमा उनले सक्रिय पहलकदमी लिएका थिए ।

मोर्चालाई केही समयमा राजनीतिक दलका रुपमा दर्ता गरिने उप्रेति बताउँछन् ।

‘अहिले हामी राजनीतिक दलका रुपमा दर्ता नभए पनि यो राजनीतिक अभियान नै हो,’ उनले नेपाल प्रेससँग भने, ‘अहिलेका राजनीतिक दलरुको विकल्पका रुपमा यो मोर्चाले भविष्यमा आफूलाई उभ्याउने छ ।’

घोषणासभामा अभिनेता उप्रेतिले नै मोर्चाको घोषणापत्र पढेर सुनाएका थिए । उक्त घोषणापत्रअनुसार यस पार्टीले नेपालको एकीकरणकर्ता बडामहाराज पृथ्वीनारायण शाहका विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने छ । साथै, यसले नेपालमा हिन्दू राष्ट्र पुन:स्थापना गर्नुपर्ने र प्रदेशहरु खारेज गर्नुपर्ने एजेन्डा पनि बोकेको छ । राजतन्त्र वा गणतन्त्र भन्नेमा मौन रहेको घोषणापत्रले गैरजातिवादी अवधारणाको कार्यान्वयनमा घोषणापत्रले जोड दिएको छ ।

‘अन्य विभिन्न धर्म-संस्कृतिको संरक्षण गर्दै वैदिक सनातन हिन्दु राष्ट्र स्थापना गराउने तथा स्थानीय तहको अधिकार क्षेत्र विस्तार गर्दै प्रादेशिक संरचना विस्थापित गराउने हाम्रो नीति हुनेछ,’ घोषणापत्र वाचन गर्दै उप्रेतिले भने ।

पृथ्वीनारायण शाहको विचारलाई मार्गदर्शक सिद्धान्तका रुपमा अबलम्बन गरिने घोषणापत्रमा उल्लेख छ । मोर्चाले नेपालका एतिहासिक व्यक्तित्वका रुपमा राम शाह, महेन्द्र मल्ल, कालु पाण्डे, बहादुर शाह, राजेन्द्रलक्ष्मी शाह, महेन्द्र वीरविक्रम शाह, विसे नगर्ची, जंगबहादुर राणा, भक्ति थापा, बलभद्र कुँवर, संखधर साख्वा, भृकुटी, अरनिको, भिमसेन थापा, जयपृथ्वीबहादु्र सिंह, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, बालकृष्ण समलगायतलाई सुचीकरण गरेको छ । यस्तै, वीपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई प्रेरक व्यक्तित्वका रुपमा स्वीकार गरिएको छ ।

दस्तावेजमा नेपालको इतिहासमा सवैभन्दा दुर्दान्त घटनाका रुपमा सुगौली सन्धीलाई औंल्याइएको छ । मोर्चाले जंगबहादुर राणालाई सकारात्मक कोणबाट चित्रण गरेको छ ।

‘१९०३ मा जंगबहादुर राणाको उदयपछि १०४ वर्षसम्म नेपालले राजनीतिक स्थिरता महसुस गरे पनि प्रजातान्त्रिक दृष्टिकोणले त्यो निसाःकाल थियो । तर, राष्ट्रियता सवलीकरणमा राणाकाल स्मरणीय बन्यो,’ मोर्चाको दस्तावेजमा भनिएको छ, ‘सुगौली सन्धीबाट गुमेको केही भूभाग फर्काउन सक्नु, नेपालको अन्तर्राष्ट्रिय पहुँच स्थापित गर्नु, देशको सिमा सुनिश्चित गरी नक्शांकन गर्नु, पृथ्वीनारायण शाहको पदचाप अघि बढाउनु, आफ्नै मुलुकमा हातहतियार उत्पादन गर्नु लगायत पक्षहरुले नेपालको राष्ट्रियता संवर्धनमा योगदान पुर्याएका छन् ।

२००७ सालको परिवर्तन युगान्तकारी भए पनि त्यसयता राजनीति गलत दिशामा गएको मोर्चाको ठहर छ । राजा महेन्द्रको शासनकालमा प्रजातान्त्रिक अभ्यासमा बिराम लागेको तर राष्ट्रियता र विकासका दृष्टिकोणले उत्तम रहेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेपालमा भएको माओवादी जनयुद्धलाई लिएर मोर्चाले आलोचनात्मक टिप्पणी गरेको छ ।

‘५२ सालपछि माओवादीले गरेको हिंसात्मक संघर्षले प्रजातन्त्रको रसस्वादन गर्ने अवसरबाट जनतालाई वञ्चित गर्यो,’ घोषणापत्रमा भनिएको छ, ‘माओवादी हिंसाले देशको सामाजिक जीवन, आर्थिक उन्नतिका मार्ग र प्रजातन्त्रको सवलीकरणलाई अवरुद्ध तुल्यायो । माओवादीलाई बिराम लगाउने क्रममा भएका सम्झौता र १२ बुँदेका जगमा प्रकटीकरण भएको संविधानले राष्ट्रियता र अखण्डतामा गम्भिर चुनौति थपेको छ ।’

६३ सालको परिवर्तनपछिको नीति र व्यवहार राष्ट्रिय एकताविरुद्ध लक्ष्यित रहेको घोषणापत्रमा उल्लेख छ । संविधानका अन्तरवस्तुले मुलुक असफल राष्ट्र हुनसक्ने खतरासमेत मोर्चाले औंल्याएको छ ।

वर्तमान संविधान नै अशान्ति र अस्थिरता, अन्योलको मुल स्रोत भएको ठहर गर्दै मोर्चाले स्पष्ट शब्दमा भनेको छ, ‘वर्तमान संविधान र देशलाई एकसाथ सुरक्षित राख्न सकिँदैन ।’

घोषणा सभामा अध्यक्ष त्रिपाठीले पहिचानमा आधारित एकतावद्ध नेपाल निर्माण गर्ने मोर्चाको मूल उद्देश्य रहेको बताएका थिए । अहिलेको संविधानका राष्ट्रविरोधि प्रावधान खारेज गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर