केही सचिव र सहसचिवको सरुवा हुँदै, काठमाडौंको सिडिओका लागि सिंह र रिजालको दौड – Nepal Press

केही सचिव र सहसचिवको सरुवा हुँदै, काठमाडौंको सिडिओका लागि सिंह र रिजालको दौड

काठमाडौं । सरकारले केही सचिव र करिब दुई दर्जन सहसचिवको सरुवा गर्ने तयारी गरेको छ । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवलाई संघमा ल्याइने र संघका सहसचिवलाई प्रदेशमा पठाउने तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको हो ।

सरकार परिवर्तनसँगै ठूलो संख्यामा कर्मचारीको सरुवा हुने गरेको छ ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीका लागि २ सहसचिव कसरतमा लागेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका गोविन्द प्रसाद रिजाल काठमडौंको प्रमुख जिल्ला अधिकारीका लागि कसरतमा लागेका हुन् ।

प्रधानमन्त्री देउवाले जोडबल गरेमा सिंहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउने छन् । गृहमन्त्री बालकृष्ण खाँणको बल पुगेमा काठमाडौंको प्रशासन रिजालको नेतृत्वमा पुग्नेछ ।

सिंह एक वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । यसअघि उनले ११ महिना वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए ।

त्यसअघि उनले एक वर्ष उद्योग विभागको महानिर्देशक र ६ महिना उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा काम गरिसकेका छन् ।

रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए । त्यसअघि उनले करिब २ वर्ष दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *