निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ – Nepal Press

निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

काठमाडौं । नेकपा एमालेभन्दा ठूलो पार्टी बन्ने उद्घोषसहित नेकपा (एस) निर्माण गरेका माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्रमा निकै कमजोर देखिएका छन् । नेपालले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा उनको पक्षमा लाग्ने जनप्रतिनिधि र कार्यकर्ताको संख्या अत्यन्तै न्यून रहेको छ ।

नेकपा एमालेले मंगलबार आयोजना गरेको २ नम्बर क्षेत्रको भेलामा वडा सदस्यदेखि प्रदेशसभा सम्मका अधिकांस जनप्रतिनिधि सहभागी भएपछि नेपालको प्रभाव कमजोर देखिएको हो । नेपाल मतदाता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीसहित पाँचैजना निर्वाचित सदस्यहरू एमालेमै रहने भएका छन् ।

नेपालको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२ पर्छन् भने कागेश्वरी मनहरा तथा शंखरापुर नगरपालिका पर्छन् । वडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठसहित निर्वाचित सबै सदस्यले एमालेमै रहने घोषणा गरेका छन् ।

नेपालको पक्षमा कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा र शंखरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ खुलेका छन् । शंखरापुरका मेयर सुवर्ण श्रेष्ठ र कागेश्वरीकी उपमेयर विन्दु पुडासैनीसहित अधिकांस वडाध्यक्ष एमालेमै रहने भएका छन् ।

नेपालको क्षेत्रबाट एमालेले दुवै प्रदेशसभा सदस्य जितेको थियो । हाल वागमती प्रदेशको सभामुख रहेका सानुकुमार श्रेष्ठ र अर्का प्रदेशसभा सदस्य मणिराम फुयाल पनि एमालेमै रहने भएका छन् ।

जिल्ला कमिटी र नगर तथा वडा कमिटीका अध्यक्षसहित पदाधिकारी र अधिकांस सदस्य पनि एमालेमै रहेको फुयालले बताए । उनले माधव नेपालको पक्षमा बढीमा १० प्रतिशत कार्यकर्ता जान सक्ने आँकलन गरेर उनीहरूलाई रोक्न आफूहरू लागेको बताए ।

कागेश्वरीको मेयर थापाले भने अहिले अधिकांस मान्छे एमालेमै रहने भने पनि चुनावको बेलासम्म माधव नेपाल उम्मेदवार हुँदा ठूला नेताकै पक्षमा लाग्ने दावी गरे ।


प्रतिक्रिया

One thought on “निर्वाचन क्षेत्रमा कमजोर देखिए नेपाल, आफ्नै वडाका जनप्रतिनिधिले दिएनन् साथ

Leave a Reply to Lama Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर